कास्की कांग्रेसको काठमाडौं यात्रा—‘राजनीतिक क्रियाकलाप भनेकै विकास सहजीकरण’

समाधान संवाददाता २०८१ साउन १९ गते १६:३७

काठमाडौं ।
सत्ताको खेलले कांग्रेसको पार्टी कार्यक्रम सुस्तायो भन्ने समाचारहरु आइरहेका बेला नेपाली कांग्रेस कास्कीले संघीय मन्त्रालयहरुमा भेटघाट र परामर्श तीव्र पारको छ । सभापति किशोरदत्त बराल नेतृत्वमा पार्टी पदाधिकारीहरु, गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री, विज्ञहरु, उद्योगी, व्यापारी, काठमाण्डौमा रहेका पार्टी प्रतिनिधिहरु सम्मिलित टोलीले मुलुकको प्रमुख प्रशासनिक मुख्यालय सिंहदरबार परिसरमा रहेका महत्वपूर्ण मन्त्रालयमा पुगेर पोखरा क्षेत्रकै विकास र समुन्नतिको विषयमा ध्यानाकर्षण गराएका छन् । बिहीबार गृह, शिक्षा, स्वास्थ्य, परराष्ट्र, सहरी विकास, संस्कृति तथा पर्यटन, मन्त्रालयमा भेटघाट र परामर्शमा मन्त्रीहरुको भनाईको निचोड भनेकै विकास र समुन्नतिको गति बढाउने नै थियो र उनीहरुको चासो र प्रतिबद्धता उत्साहप्रदक रहेको टोलीमा सम्मिलित कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेलले बताए ।

Advertisement


गण्डकी प्रदेशको राजधानी सहर, पर्यटकीय राजधानी पोखराको विकासले समग्र नेपालको प्रतिनिधित्व गर्ने र पर्यटन विकासमा सहजीकरण गर्न यो भेटघाट र परामर्श महत्वपूर्ण रहेको केन्द्रीय सहमहामन्त्री जीवन परियारको भनाइ थियो । विभिन्न चरणमा भएका भेटघाट र परामर्शमा पोखराको पर्यटन, शहरी विकास र स्वास्थ्य सम्वन्धी सवालहरु टड्कारो रुपमा उठाइएका थिए ।


भेटघाटमा कोरला र वाल्मीकि नगरको उत्तर दक्षिण नाका खोलेर इन्टरसिटी ट्रेड कनेक्टीभिटी बढाउने, पोखरामा महावाणिज्य दुतावास खोल्ने, भारत र चीनका नजिकका सहरहरुमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट हवाई सेवा सुचारु गर्ने र चीनसग भएको हवाई सम्झौता कार्यान्वयनमा ल्याउने, गंगालाल हृदयरोग केन्द्रको प्रादेशिक अस्पताल सेवा सञ्चालन गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जग्गा उपलब्ध गराइसकिएको विषय, औद्योगिक क्षेत्र पूर्वाधार व्यवस्थापन, पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि विवादरहित जग्गा उपलब्ध भएको, अस्पताल र औषधिमा भएको सिन्डिकेट तोड्ने लगायत महँगी नियन्त्रण एवं लगानी सहजीकरण लगायत पोखराको र मुलुककै समग्र विकासमा नवगठित मन्त्री मण्डलका मन्त्रीहरुसँग छलफल र परामर्श गरी विद्यमान परिस्थितिको जानकारी गराउने र पृष्ठपोषण गर्ने कार्य भएको थियो ।

Advertisement


कास्की कांग्रेसका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आन्नन्दराज मुल्मीले सहजीकरण गरेका थिए । यस्तो किसिमको छलफल र परामर्शले सरकारले दिशानिर्देश प्राप्त गर्ने र खादा माला बधाईबाट माथि उठेर एउटा नयाँ परिपाटी स्थापित गर्दै मन्त्रालय र स्वयं सरकारको काम र योजनालाई ट्र्याकिङ गर्न सजिलो हुने भन्दै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यो अभियानको सराहना गरे ।


छलफल र परामर्श टोलीले शुक्रबार अर्थमन्त्री विष्णु पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी पोखराको समग्र विकास निर्माणको स्थिति र सम्भावनाबारे ध्यानाकर्षण गराएको थियो । शनिबार पोखरा फर्कने र लगत्तै एक पत्रकार सम्मेलन मार्फत भेटघाटको उपादयेता र उपलब्धि समेटेर आम पोखरेलीलाई जानकारी गराउने भ्रमणदलका सदस्य एवं कास्की कांग्रेसका सदस्य बाबुराम गिरीले बताए ।

तपाईको प्रतिक्रिया