गण्डकी चिनाउँदै प्रदेश संग्रहालय

समाधान संवाददाता २०८१ साउन २० गते ११:४६

पोखरा ।
गण्डकी अञ्चलका ६, धौलागिरीका ४ र लुम्बिनीको नवलपरासी (नवलपरासी सुस्तापूर्व) गरी ११ जिल्ला रहेको गण्डकी प्रदेशका पृथक विशेषता छन् । मानव विकास सूचकांकमा अघि रहेको यो प्रदेश हिमालदेखि पहाड हुँदै तराईसम्म फैलिएको छ ।

Advertisement


भूगोलसँगसँगै यसका सामाजिक, सांस्कृतिक विविधता र मौलिकतासमेत छन् । गण्डकीका यिनै मौलिकता, सम्पदा र सम्भावनाबारे जानकारी दिने थलो बनेको छ प्रदेश संग्रहालय पोखरा । प्रदेश राजधानी पोखराको मुख्यबजार नयाँबजारको करिब २३ रोपनीमा यो संग्रहालय छ । मुख्य बजारमै भए पनि यहाँ आउने पर्यटनकको सङ्ख्या भने निकै कम छ ।


पुरातत्व विभाग अन्तर्गत क्षेत्रीय संग्रहालयका रुपमा रहेको यो २०७५ मा प्रदेशमा हस्तान्तरण भएको हो । गएको वर्ष १८ हजार एक सय ३५ जनाले संग्रहालय अवलोकन गरेकोमा अघिल्लो वर्ष १५ हजार छ सय १५ जना पर्यटक यहाँ आएका थिए ।


२०७७/०७८ मा ८ सय ९७ पर्यटक आएकोमा २०७८/०८९ मा ९ हजार २ सय ६७ पर्यटक आएका थिए । संग्रहालयकी प्रमुख करुण राई यसको बजारीकरण र प्रवद्र्धनमा योजनाबद्ध प्रयास थालिएको उल्लेख गर्छिन् । उनी भन्छिन्, ‘गुरुयोजना अनुरुपका ८० प्रतिशत काम सकिका छन् । बाँकी काम पनि तदारुकतासाथ हुने छन् ।’ यसलाई प्रदेशकै परिचय दिन सक्ने गरी यसको विकास गर्ने तयारी छ ।


अहिले यो संग्रहालय गण्डकी सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमातहत छ । न्यून प्रवेश शुल्क रहेको संग्रहालयले यसबाट आर्जनभन्दा पनि नेपाली नागरिक र उत्सुक विदेशीलाई जानकारी पु¥याउने लक्ष्य लिएको छ । सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले संग्रहालयको योजनावद्ध विकास लागि सरकार तयार रहेको जनाए । ‘हामीले यसका लागि बजेट पनि राखेका छौँ । भौतिक पूर्वाधारहरु पनि बन्दै छन्,’ थापाले भने ।

Advertisement

नयाँबजारमा रहेको संग्रहालयलाई गण्डकी प्रदेशकै परिचय दिने गरी विकसित गरिँदै छ । गुरुयोजना बमोजिमका काम हुँदै छन् ।


गण्डकी प्रदेशका सबै सूचना एकीकृत रुपमा उपलब्ध गराउने गरी सूचना कक्ष सञ्चालन गर्ने तयारी भएको प्रमुख राईले सुनाइन् । संग्रहालयमा ४ प्रदर्शनी कक्ष छन् । पहिलो कक्षमा गण्डकी प्रदेशका मुख्य जातजातिका डमीसहितको जानकारी राखिएको छ । दोस्रो कक्षलाई मुस्ताङ ग्यालरी नामकरण गरिएको छ । यहाँ पुरातत्व विभाग र जर्मन सरकारले गरेको उत्खनन्बाट प्राप्त सामग्रीहरु राखिएका छन् ।


तेस्रो कक्ष डायरोमामा प्रदेशका केही विशिष्ट पहिचान राखिएको छ । यहाँ भीर मौरी काढ्ने कला (हनी हन्टिङ)को आकर्षक डेमोसमेत गत वर्ष तयार गरिएको छ । चौथो जनजीवन कक्षमा गण्डक क्षेत्रका सभ्यता, संस्कृति, बाजागाजा, पुराना भाडावर्तन आदि राखिएका छन् ।


थ्रिडी मोडेलमा प्रदेशका मुख्य ठाउँ, सम्पदा, भौगोलिक अवस्थाबारे जानकारी दिने डेमो बनिरहेको छ । सूचना कक्ष, प्रशासनिक भवन र आवास पनि तयार भएका छन् । दुई वर्षअघि बाल उद्यान तयार भएपछि अहिले शनिबार र बिदाका दिन बालबालिकाको भीड लाग्ने गरेको छ ।


गुरुयोजना अनुसार यो वर्ष अडियो, भिजुअल कक्षका लागि बजेट विनियोजन गरेको छ । १ करोड माग गरिएकोमा ६० लाख बजेट रहेको प्रमुख राईले जानकारी दिइन् । प्रदेश सरकारले यहाँ ५ करोड जति लगानी गरिसकेको छ । प्रदेशका सात जिल्लाको विस्तृत जानकारीसहितको भिडियो बनिसकेको छ । त्यहाँ अडियो भिजुअल, म्युजियम सप, सभाहल लगायतका संरचना बनाइनेछ ।


गुरुयोजना बमोजिमका दुई भवन बन्न बाँकी छ । एक भवनलाई अभिलेखालयका रुपमा विकास गर्ने योजना छ । कार्यालय प्रमुख राई भन्छिन्, ‘सङ्ग्रहालय अनौपचारिक अध्ययन केन्द्र हो । वर्षैपिच्छे हामी आवश्यक वस्तु संकलन गर्छौं । प्रदेशको परिचय दिने सबैजसो दस्तावेज र वस्तुहरु राख्ने योजना छ ।’ सङ्ग्रहालयमा राखिने वस्तु अनुसन्धान गर्न प्रयोगशालासमेत जरुरी हुने उनले औंल्याइन् ।

तपाईको प्रतिक्रिया