सम्पादकीय—भिखारीमुक्त समाज
बाटबाटै भिख मागेर हिँड्न कानुनले नै निषेध गरेको छ । तर बाटोघाटो माग्नेहरु बग्रेल्ती देखिन्छन् । त्यसमाथि पोखरामा त भारतीय मूलका भिखारी थुप्रै भेटिन्छ । एक त गैरनागरिकको भार भएको छ । अर्काे भिख मागेर दुख दिने नियत पनि थुप्रैको छ । अनि कतिपयले त बालबालिका र अपांगता भएका व्यक्तिहरुलाई भिख माग्न लगाउने र आफूले पैसा कुम्ल्याउने धन्दा नै गरेका हुन्छन् ।
ओस्कारमा अवार्डहरु पनि जितेको हिन्दी फिल्म स्लमडग मिलिनियरमा त्यस्तै कथा छ, जस्तो भारतमा चलिरहेको छ, कि अनाथ बालबालिकालाई जम्मा गर्ने, तिनलाई जबरजस्ती अपांग बनाइदिने र माग्न पठाउने । हुन त सबै भिखारीको पृष्ठभूमि त्यस्तो हुँदैन । जिन्दगीले धोका दिएर सडकमा आउनेहरु पनि हुन्छन् । त्यस्ता असहायक र बेसहारा नागरिकलाई सहारा दिने थुप्रै आश्रयस्थल छन् । जस्तो कि उदारहणीय रुपमा मानवसेवा आश्रमले त्यस्तो काम गरिरहेको छ ।
हरेक नागरिकलाई गास, बास र कपासको न्यूनतम व्यवस्था हुनुपर्छ । सहाराविहीन नागरिकलाई आश्रय दिने राज्यै कुनै आश्रयस्थल त छैन । तर मानव सेवा आश्रम जस्तै गरी मुलुकभर धेरै गैरसरकारी संस्थाहरु क्रियाशील छन् । सडकका सहयोगापेक्षी मानवलाई उद्धार गर्ने र आश्रय दिने मानव सेवा आश्रमलाई गण्डकी प्रदेश सरकारले प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले खर्च पनि दिन्छ । तर त्यतिले पुग्दैन । मनकारी दाताका भरमा आश्रम चलेको छ । आखिर समाजमा सबैथोक राज्यले गरिदिने भन्ने पनि हुँदैन । समाजका व्यक्तिव्यक्तिले अरुलाई आफूले सक्दो सहयोग गर्ने संस्कृतिको विकास गर्नुपर्छ । नेपाली समाजमा आश्रममा ज्येष्ठ नागरिकलाई राख्ने संस्कृति त्यति राम्रो मानेको पाइन्न ।
आफ्नो परिवारका सदस्यलाई हेला नगर्ने संस्कृति सबैतिर छाउन नसक्दा ज्येष्ठ नागरिक आश्रमको शरणमा पनि पुग्न बाध्य छन् । तर सकेसम्म कसैले पनि सडकमा माग्नु नपर्ने र आश्रममा बस्नु नपर्ने गरी पारिवारिक मिलनलाई नै पहिलो प्राथमकिता दिनुपर्छ । मानवसेवा आश्रमले आश्रयमात्रै नदिई पारिवारिक पुनर्मिलनलाई पनि जोड दिएर नेपाली संस्कार अनुसारकै काम गरेको छ । कतिपय व्यक्ति भने आश्रयस्थलमा अनुशासन र मर्यादा तथा संस्कारको जीवन बाँच्न भन्दा सडकमै अलपत्र र बेफिक्री जीवन बाँच्न खोज्ने पनि हुन्छ । त्यस्तैका कारण सडकमा भिख माग्नेहरु पनि बाँकी नै रहने गरेका हुन् । तर पूर्ण रुपमा नै र कडाइका साथ भिख निषेध गर्ने हो भने कोही पनि सडकमा स्वच्छन्द हुँदैन ।
तपाईको प्रतिक्रिया