कास्की कांग्रेसले भेट्यो राष्ट्रपति सहित नौ मन्त्री
पोखरा ।
नेपाली कांग्रेस कास्कीले राष्ट्रपति सहित संघीय सरकारका नौ जना मन्त्रीसँग भेटघाट तथा छलफल गरेको छ । कास्की काँग्रेसले राष्ट्रपतिसहित मन्त्रीहरुसँग भेटघाट र छलफल गरी कास्कीको आवश्यकता बारेमा जानकारी गराएको छ ।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको नेत्तृत्वमा राजधानी गएको टोलीले कास्कीको सन्दर्भमा अन्तर्राष्ट्रिय विमानस्थल सहित पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, विकास र बढ्दो महँगी बारेमा मन्त्रीहरुको ध्यानार्षण गराएको थियो ।
‘मन्त्रीहरुसँगको भेटघाट र छलफल निकै प्रभावकारी रह्यो, कास्कीको आवश्यकता बारे सरकारको ध्यानाकर्षण पनि गरायौं, सभापति बरालले भने, ‘भेटघाट र छलफलले निकट भविष्यमा उपलब्धि प्राप्त गर्नेमा आशावादी छौं ।’
नेपाली कांग्रेसका सहमहामन्त्री जीवनज परियार, केन्द्रीय सदस्य शारदा पौडेल, गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री बिन्दुकुमार थापा, नेता सोभियतबहादुर अधिकारी, आनन्दराज मुल्मी लगायतको टोली भेटघाट र छलफलमा सहभागी भएको थियो । टोलीले अर्थ, गृह, स्वास्थ्य, शिक्षा, पर्यटन, परराष्ट्र, उद्योग, शहरी विकास मन्त्रीसँग भेटघाट र छलफल गरेको थियो ।
टोलीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासँग पनि भेटघाट गरेको सहसचिव नवीन सिग्देलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया