पाेखराकाे लेकसाइडमा सपिङ सेन्टरमा आगो लगाएर बिमा दाबी गर्ने पसल धनी पक्राउ
पोखरा ।
बिमाको लोभमा परी पोखराका एक व्यवसायीले आफ्नो सपिङ सेन्टरमा आफैंले आगो लगाएका छन् । कास्की प्रहरीले आफ्नै सपिङ सेन्टर आगो लगाएको आरोपमा साउन १९ गते ३६ वर्षीय सुजन गहतराजलाई पक्रेको हो । सँगै उनका सहयोगी ४३ वर्षीय पवन नेपाललाई पनि पक्राउ गरी दुवैलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । सुजन पोखरा १७ विरौटा बस्दै आएका थिए भने पवन ड्यामसाइड बस्थे । उनीहरुले साउन १६ गते दिउँसो सवा २ बजे पोखरा ६ लेकसाइड, नारेश्वरचोक स्थित थानेश्वर पहारीको घरमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।
३ वर्षअघि सुजनले श्रीमती पवित्रा अधिकारीको नाममा पहारीको घरमा मुक्तिनाथ सपिङ सेन्टर खोलेका थिए । तर, पछिल्लो समय सपिङ सेन्टरको व्यापार घटेको, घरबेटीसँग सम्बन्ध चिसिएको र ठूलो मात्रमा स्टक थुप्रिएपछि उनले बेच्न चाहेका थिए । सुजनले चाहे बमोजिम कसैले सपिङ सेन्टर किन्ने रुचि देखाएनन् ।
त्यसपछि सुजनलाई साथी पवनले बिमा गर्न सुझाव दिए । सोही बमोजिम ५ महिनाअघि मात्र सुजनले सपिङ सेन्टरको २ करोड १० लाख बराबरको बिमा गरे । इन्सुरेन्स दाबी गर्न इन्सुरेन्सको म्याचुरिटी पिरिएड पुग्नुपर्ने हुन्छ । सोही कुरालाई दृष्टिगतल गरी उनले हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेड पोखरा न्युरोड शाखामा २ करोड १० लाखको बिमा गरी प्रिमियम बुझाएका थिए । साउन १५ गते भने उनीहरुले सपिङ सेन्टरमा आगो लगाउने योजना बनाएका थिए ।
एसपी थापाका अनुसार उनीहरुले पसलमा आगो लगाउने मुसलधारे पानी आएको थियो । सुजन दिनभर पसलमा व्यापार गरेपछि बेलुका घर गएर बाहिर निस्किएका थिए । राति ११ बजेपछि पवन र सुजन पोखरा १७ बिरौटको फेवा झिर हाउस भेटिएका थिए । झिर हाउसमा ५ बोतल बियर खाएपछिसुजनले चलाउने गरेको ग३च ६२६६ नम्बरको गाडीमा उनीहरुसँगै सपिङ सेन्टर पुगेको खुलेको छ ।
रक्सीले मातेका उनीहरु योजना मुताबिक मध्य रातमा सपिङ सेन्टर छिरे । पसलभित्र छिरेपछि उनीहरुले पसलमा पेट्रोल छर्केको हुन सक्ने अनुमान प्रहरीको छ । पसलमा १०÷१५ मिनेटमात्र बसी बाहिर निस्किएका सुजन सटर लगाएर हतार हतार कार स्टाट गरी नजिकैको तालबाराही स्कुलतर्फ लाग्छन् । तर, पवन पसलको बाहिरपट्टि नै थिए । पवनले सलाई बाली एक्कासि आगो सल्काई सुजनले चलाएको गाडीको पछी—पछी ४० मिटर अगाडि गए । लामो समयदेखिको योजना सफल भएको ठानी उनीहरु घर फर्किए । १६ गते रातिको २ बजे कास्की प्रहरीलाई सूचना आउँछ–लेकसाइड नारेश्वरचोक स्थित मुक्तिनाथ सपिङ सेन्टरमा आगो लाग्यो ।’
‘त्यसपछि बैदामका डिएसपी साप सन्तोष निरौलाले घटनास्थल पुगेर निरीक्षण गर्नुभएको थियो,’ एसपी थापाले भने, ‘पोखरा महानगरपालिकाको दमकल, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी र स्थानीय मानिससमेतको संयुक्त प्रयासमा बिहान ३ बजे पूर्ण रुपमा आगो नियन्त्रणमा आयो । बिहान हामीले घटनास्थलमा पुगेर थप निरीक्षण गरेका थियौं ।’ १६ गते बिहान प्रहरीले पसल सञ्चालक सुजनसँग पसलको बारेमा सामान्य सोधखोज गरेको थियो । त्यस बेला सुजनले पसलमा १६ गते नयाँ इन्भर्टर जडान गरेकाले वाइरिङबाट बिजुली सर्ट भएको हुन सक्ने बताएका थिए । सुजनले पसलको बिमासमेत नरहेको प्रहरीलाई प्रारम्भिक बयानमा दिएका थिए ।
तर, घटना भएको दोस्रो दिन साउन १७ गते हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेड पोखरा न्युरोड शाखामा बिमा दाबी गर्न भन्दै सुजनले प्रहरीलाई निवेदन दिएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गर्दै थियो । बिमाबारे झुट बोलेको पत्ता लागेपछि अनुसन्धान अधिकृत डिएसपी सन्तोष निरौलाको टोलीको अनुसन्धान सुजनतर्फ मोडिएको थियो । सुजनले १७ गते नै प्रहरी कार्यालयमा घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदनसमेत दिएका थिए । त्यसपछि प्रहरीले इन्भर्टरमा आगो लाग्ने÷नलाग्नेबारे अनुसन्धान गर्न थाल्यो ।
इन्भर्टर सप्लायर्सले इन्भरटमा कहिल्यै आगो नलाग्ने बरु जडान गर्ने बेला सर्ट हुन सक्ने प्रहरीलाई जानकारी दिए । प्रहरीले घटनाबारे थप बुझ्न विद्युत प्राधिकरणलाई सम्पर्क ग¥यो । त्यस दिन विद्युत सट हुने गरी कुनै कैफियत नरहेको प्राधिकरणबाट पनि जवाफ आयो । बिजुली प्रशारणमा केही कैफियत नभएको जवाफ आएपछि प्रहरीले सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । सुजनले पवनको योजना बमोजिम आफूहरुले नै पसलमा आगो लगाएको स्वीकारेको एसपी मोहन थापाले जानकारी दिए । उनीहरु दुवै जनालाई कास्की प्रहरीले शनिबार नियन्त्रणमा लिएर कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानअघि बढाएको छ ।
उनीहरुलाई आपराधिक उपद्रवमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेका पसल सञ्चालक सुजन ०७२ साउन २५ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जुवा मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । पवन भने यसअघि कुनै पनि कसुरमा प्रहरी हिरासतमा परेका थिएनन् । यद्यपि सुजनलाई बिमा गरेर पैसा उठाउने उपाय भने पवनले सुझाएको अनुसन्धानबाट देखिएको छ । यसअघि पनि पवनले पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्री फार्ममा आगो लगाई बिमा कम्पनीबाट ३१ लाख रुपैयाँ क्षतिपूर्तिबापत पाएका थिए । इन्सुरेन्सले पहिले सजिलै पैसा दिएपछि उनीहरुले सपिङ सेन्टरमा आगो लगाउने र बिमा दाबी गरी रकम लिने योजना बनाएको देखिन्छ ।
सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया