लामाचौर तीज महोत्सवको तयारी
पोखरा ।
पोखराको लामाचौरमा हरेक वर्ष हुने तीज महोत्सव तथा महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको यसपालिको मिति घोषणा भएको छ । नवआदर्श सामुदायिक समाज स्थापनाको २८ औं वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तीज महोत्सव भदौ १९ गते देखि २१ गतेसम्म हुने भएको छ ।
लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी मावि परिसरमा सञ्चालन हुने राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबले प्रतियोगितामा पुरुष तथा महिलातर्फ ५/५ टिमलाई सहभागिताका लागी पत्राचार गरिएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र मणिमुकुन्द भलिबल क्लबलाई पत्राचार गरिएको छ ।
महिलातर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यु डायमन्ड एकेडेमी र एभरेस्ट भलिबल क्लबलाई सहभागिताका लागि आमन्त्रण गरिएको पनि अध्यक्ष भण्डारीले जनाकारी दिए । लिग कम नक आउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिता भदौ १८ गतेदेखि सुरु गर्ने तयारी छ ।
महोत्सवमा राष्ट्रिय भलिबलसहित अन्तर महिला समूह तीजगीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टल, विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा ख्याति प्राप्त कलाकारको प्रस्तुति रहनेछ । सँगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान गर्ने सर्जकलाई सम्मान र र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले बताए ।
आइतबार समाजले कार्यसमिति, सल्लाहकार, पूर्वअध्यक्ष लगायतसँग छलफल गरेको छ । छलफलमा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर तीज महोत्सव ब्रान्ड नै बनिसकेकाले यसलाई निरन्तरता दिन र भव्य बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया