ज्योतिषशास्त्रको एउटा तारा
भारतको वारणसीमा अवस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय सम्बद्ध नेपाली संस्कृत महाविद्यालयले पञ्चाङ्गाकार, ज्योतिषाचार्य प्राध्यापक पद्मनाभ त्रिपाठीको पहिलो वार्षिकपुण्य तिथिको अवसरमा नेपाली, संस्कृत, अंग्रेजी र हिन्दी गरी ४ भाषामा उहाँको स्मृतिग्रन्थ प्रकाशन गर्दै छ । यद्यपि उहाँको महाप्रस्थान गतसाल भदौ १ गते भएको भए पनि तिथिको हिसावले यही साउन २२ गते वार्षिक पुण्यतिथि परेको हुनाले विभिन्न स्थानमा उहाँको स्मृति सभा हुन गइरहेको छ । यही सन्दर्भमा म पनि उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु ।
अघौँ कालिकादेखि भारतको वारणसीसम्मको प्रारम्भिक जीवन
जन्मपश्चात मृत्यु एउटा स्वाभाविक प्रक्रिया हो । मानव केवल भौतिकरुपमा अधिकतम एक शताब्दी यो लोकमा रहन सक्छ । यस संसारमा भौतिकरुपमा सिमित समय रहे पनि उसको कर्मले ऊ अनन्त समयसम्म बाँचिरहको हुन्छ । सत्कर्म गर्ने मानिसको प्रतिबिम्ब पुस्तौंपुस्तासम्म शान्त, सौम्य र स्थिर भइरहेको हुन्छ । ज्योतिषशास्त्रमा अध्ययन, अनुसन्धान, प्राध्यापन एवं विकास र विस्तारमा अतुलनीय योगदान गर्ने पद्मनाभ त्रिपाठी सरल, शान्त र सौम्य जीवन यापन र ज्योतिषशास्त्रको प्रसंगमा यस्तै अनन्तसम्म बाँचिरहने एउटा नाम हो ।
सुन्दर पोखरा नगरीको पूर्वपट्टि अवस्थित अघौँ कालिका झाँझरमारेमा विसं २००५ फागुन ५ गते बुबा ज्योतिषी पण्डित प्राणनाथ त्रिपाठी र आमा मनोधरा त्रिपाठीको कोखमा माहिलो सन्तानको रुपमा जन्म भएको थियो । जन्मदेखि नै शान्त, सुशील र आज्ञाकारी बालक भएकाले यद्यपि उहाँको नाम पद्मनाभ भएपनि ऋषि भनेर बोलाइन्थ्यो । हुने बिरुवाको चिल्लो पात भने झै सानैबाट उहाँ बाबुआमाको आज्ञाकारी छोरा, अध्ययनमा गहिरो रुचि र मिलनसार स्वभाव भएको बालक हुनुहुन्थ्यो ।
बाल्यकालदेखि भारतको वारणसी यात्रासम्मका समकक्षीहरु अहिले पनि सम्झँदै भन्नु हुन्छ ‘उहाँ हामीभन्दा फरक हुनुहुन्थ्यो, हर काम, व्यवहार र अध्ययनलाई फरक तरिकाले सोच्ने गर्नुहुन्थ्र्यो । सायद उहाँको भाग्यमा कहिल्यै नअस्ताउने तारा बन्नु थियो ।’
बुबा ज्योपं प्राणनाथ त्रिपाठी अध्ययनमा गहिरो रुचि राख्ने व्यक्ति हुनुहुन्थ्यो । विशेष गरी ज्योतिष साहित्यमा उहाँ पारङ्गत हुनुहुन्थ्यो । उहाँको सान्निध्यमा प्रारम्भिक शिक्षा हासिल गर्नुभयो ।
गुरु टीकाराम पौडेलको सामीप्यतमा रहेर अघौँ कालिकामा नै कौमदी अध्ययन गर्नु भयो भने पोखराको बिन्दुवासिनीमा रहेको गुरुकुलमा पं रामचन्द्र गुरुजीको सान्निध्यमा केही नेपाली र संस्कृत व्याकारण अध्ययन गर्नुभयो । तत्कालीन समयमा उच्च अध्ययन गर्न वारणसी जाने प्रचलन थियो । उच्च अध्ययनको प्यास मेटाउन मोहनाथ त्रिपाठी, बुद्धिसागर त्रिपाठी लगायत दौतरीसँग २०२२ सालको दसैँको पर्सिपल्ट सत्र वर्षको उमेरमा गाउँ छोड्नु भएको थियो । पहिलो दिनको रात स्याङ्जाको पुतली बजार, दोस्रो दिनको रात रामदी, तेस्रो दिनको रात बुटवल, चोथौ दिनको रात सुनौली र पाँचौँ दिनको दिन रेलगाडी चढी बनारस पुगेको उहाँका दौतरी एवं दाजु (काकाको छोरा) मोहनाथ त्रिपाठी बताउनुहुन्छ ।
वाराणसी पुगेको केही समयसम्म उहाँहरुको जीवन संघर्षपूर्ण रहयो । कहिले धर्मशालामा रात बिताउनु परेको थियो त कहिले होटलमा काम गरेर । सायद त्यो विधाताले लिने परीक्षा थियो । जो परीक्षामा काबिल बन्छ ऊ सफलताको शिखर चुम्न सक्ष्म हुन्छ । जसले यो परीक्षालाई झेल्न सक्दैन ऊ सामान्य मानिसमात्र भएर बाँच्छ जसको मृत्यु पश्चात सम्झने कुनै कर्म नै हुँदैन । वाराणासीको प्रारम्भिक समयको त्यो विषम परिस्थितिबाट नै आफ्नो यात्राको बाटो पहिल्याउनु भएका पद्मनाभ त्रिपाठीले आफूलाई अध्ययनको क्षेत्रमा बलियो खम्बाको रुपमा उभ्याउन सफल हुनु भयो । आफूसँगै गएका साथीहरु तथा आफ्ना समकक्षीहरु भन्दा आफूलाई धेरै माथि पुर्याउनु भयो, पञ्चाङ्गाकार ज्योतिषाचार्य प. पद्मनाभ त्रिपाठीको नामबाट ख्याति कमाउनु भयो, फलत: ज्योतिषको एउटा चम्किलो ताराको रुपमा आज स्थापित हुनु भएको छ ।
पञ्चांकार ज्योतिषाचार्य प. पद्मनाभ त्रिपाठीको नामबाट ख्याति कमाउनु भयो, फलत: ज्योतिषको एउटा चम्किलो ताराको रुपमा आज स्थापित हुनुभएको छ
औपचारिक शिक्षा र प्राध्यापन
इसं १९६८ मा पूर्वमध्यमा, इसं १९७० मा उत्तरमध्यमा, इसं १९७२ मा शास्त्री (सिद्धान्त ज्योतिष) र इ.स. मा आर्चाय (सिद्धान्त ज्योतिष) मा उच्च अंकका साथ भारतको वारणसीको विभिन्न विश्वविद्यालयवाट डिग्री प्राप्त गर्नु भएको थियो । उहाँको विशेषज्ञता पञ्चाङ्ग गणना, ग्रह गणना, उदयास्त गणना, ग्रहण गणना, वेदशाला थियो ।
सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय सम्बद्ध श्री नेपाली संस्कृत महाविद्यालय, मंगलागौरी, वाराणसी भारतमा आचार्य अध्ययन गर्दा गर्दै इसं १९७४ वाट प्राध्यापन पेशामा संलग्न हुनुभएको थियो । सोही संस्थामा ४२ वर्ष लगातार सेवा गरी ३० जुन इसं २०१६ मा निवृत हुनुभएको थियो । लामो समय ज्योतिष विभागाध्यक्ष पदमा रहँदा ज्योतिषको प्रवर्द्धनमा विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।
ज्योतिषका क्षेत्रमा लेखन एवम सम्पादन
(क) विश्वविद्यालय अध्ययनको चरणमा नेपाल पश्चिम ३ नम्बर अध्ययन मण्डलमा आवद्ध भई छात्रोदय त्रैमासिक पत्रिकामा, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय सम्बद्ध सरस्वती सुष्मा लगायत विभिन्न पत्रपत्रिकामा नियमितरुपमा ज्योतिषपरक लेखहरु प्रकाशित
(ख) श्रद्धेय पिता पं. प्राणनाथ त्रिपाठीद्वारा विसं २०११ बाट प्रकाशन प्रारम्भ भएको सुप्रसिद्ध हिमाल पञ्चाङ्ग, पिताजीले अवकाश ग्रहण गरेपश्चात विसं २०३६ बाट गणना तथा प्रकाशन प्रारम्भ ।
(ग) विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगोष्ठीहरूमा कार्यपत्र प्रस्तुति,
(घ) सूर्यसिद्धान्तस्य टिप्पणी,
(ङ) लीलावती, भास्करीय बीजगणितम्, ग्रहलाघवम्, सर्वानन्दकरणम्, ग्रन्थहरूको सोपपत्तिक विश्लेषण,
(च ) वृहद्वाराशरहोराशास्त्र भावबोधिनी टीका र मुहूर्त्तचिन्तामणि भावबोधिनी टीका तथा व्याख्या,
(ज) पञ्चाङ्ग–परिचय सम्पादन ।
पञ्चाङ्ग निर्माणको क्षेत्रमा संलग्नता
(क) सम्पूर्णानन्द संस्कृतविश्वविद्यालय, वाराणसीबाट प्रकाशित हुने महामहोपाध्याय पं. बापुदेव शास्त्रीद्वारा प्रवर्तित दृक्सिद्ध पञ्चाङ्ग निर्माण कार्यमा संलग्न,
(ख) काशी हिन्दू विश्वविद्यालय वाराणसीद्वारा प्रकाशित हुने विश्व पञ्चाङ्ग निर्माण कार्यमा संलग्न,
(ग) नेपाल पञ्चाङ्ग निर्णायक समितिमा वि.सं. २०६२–६३ बाट आमन्त्रित सदस्य,
(घ) विसं २०६८ सालदेखि नेपाल संस्कृत विश्वविद्यालयको पञ्चाङ्ग निर्देशक समितिको सदस्य,
(ङ) विसं २०७८ आषाढबाट नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा सदस्य तथा गणित उपसमिति प्रमुखको दायित्व निर्वहन,
(च) ग्रहगणना तथा ग्रहस्थितिको दृक्कतुल्यता हेतु अनुसन्धानरत, विशेषतः केतकी ग्रहगणितअनुसार ग्रह तथा पञ्चाङ्ग गणनाको परियोजनामा निबद्ध,
ज्योतिष एवम पञ्चाङ्ग निर्माणको हस्तान्त्रण एवं महाप्रस्थान
प्राध्यापनको सन्र्दभमा शिक्षण गरेका विद्यार्थीहरु हुन या नीजि निवासमा पुगेर अध्ययन गरेका हजारौ विद्यार्थीहरु ज्योतिष अध्ययन, अनुसन्धान एवम दैनिक जीवनयापनका लागि ज्योतिषीय र्कायलाई अङ्गालेको पाइन्छ । ज्योतिष र ज्योतिषशास्त्रको प्रदीप्त ज्ञानलाइ बिलिन हुन नदिन पद्मनाभले खेलेको भूमिका अतुलनीय रहेको उहाँ निकटस्तहरु बताउनु हुन्छ ।
आफ्नो महाप्रस्थान पश्चात पनि ज्योतिषको दियो बलिरहोस, बुबाहजुरले प्रकाशनमा ल्याउनु भएको हिमाल पञ्चाङ्गको निरन्तरता कायम गर्न आफ्नो ज्येष्ठ सुपुत्र विश्वनाथलाई यस क्षेत्रमा लाग्न प्रेरित गर्नुभयो । त्यतिमात्र हैन आफ्नो परिवारको सबै सदस्यलाई यस क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्षरुपमा सामेल गराउनु भएको छ । ज्येष्ठ सुपुत्र फलित ज्योतिष सिद्धान्तमा आर्चाय हुनुहुन्छ भने भाषाशास्त्रमा विद्यावारिधि गर्नु भएको छ ।
बुबाले प्राध्यापन गरेको महाविद्यालयमानै संलग्न भई बुबाले गर्दै गरेका कामलाई निरन्तरता दिनु भएको छ भने बुहारी अनिता बराल जो नर्सिङमा स्नातकोत्तर हुनुहुन्छ तापनि बुबाले प्रकाशनमा ल्याएका कृतिहरु निरन्तरताको लागि बजार व्यवस्थापनमा लागिरहनु भएको छ । नातिनी प्रियदर्शनी त्रिपाठी विभिन्न मिडिया मार्फत ज्योतिषसँग सम्बन्धित विषयवस्तुहरु आम मानिस बीचमा पु–यारहनु भएको छ । कनिष्ठ सुपुत्र डा. सन्तोष त्रिपाठी पनि हिमाल पञ्चाङ्ग प्रकाशनसँग प्रत्यक्ष जोडिनु भएको छ । यसरी आफ्नो परिवारलाई बिभिन्न सूत्रमार्फत ज्योतिष एवम पञ्चाङ्ग निर्माण र त्यसको प्रचार प्रसारमा संलग्न गराई ज्योतिषको दियो बालिरही निवृत जीवन काठमाडौँको कोटेश्वरमा बिताइरहनु भएको थियो ।
२०८० भदौ १ गते ३ बजेतिर काठमाडौं कोटेश्वरस्थित आफ्नै निवास अगाडिको बाटो काट्दै गर्दा गाडीको ठक्करबाट ७५ वर्षको उमेरमा उहाँले आफ्नो देह त्याग गर्नुभयो । पञ्चाङ्गाकार, ज्योतिषाचार्य प्रा. पद्मनाभ त्रिपाठीको महाप्रस्थानले ज्योतिष विज्ञानमा अपूरणीय क्षति पुग्न गयो । भौतिकरुपमा यस लोकमा उपस्थित नभए पनि उहाँको व्यक्तित्व र कृतित्व मनुश्य जगतको मन मनमा आकाशपुञ्जको एउटा चम्किलो ताराको रुपमा रहिरहनेमा कुनै दुईमत हुन सक्दैन ।
लेखक पृथ्वीनारायण क्याम्पस, पोखरामा प्राध्यापन गर्छन् ।
तपाईको प्रतिक्रिया