पाेखराका पर्यटन व्यवसायीले भेटे पर्यटन मन्त्री

समाधान संवाददाता २०८१ साउन २२ गते १६:५२

पोखरा ।

Advertisement

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेश र पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा विद्यमान समस्याका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् ।

संघका गण्डकी प्रदेश संयोजक सोमबहादुर थापामगर सहित पोखराका पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले विभिन्न विषयमा मन्त्री पाण्डेलाई स्मरणपत्र प्रस्तुत गर्दै समसामयिक विषयबारे जानकारी गराएका हुन् ।

Advertisement

संयोजक थापाले प्रस्तुत गरेको स्मरणपत्रमा पर्यटनका लागी आवश्यक गुणस्तरीय विकासका लागि पूर्वाधार नभएको भन्दै सडक सञ्जाल कमजोर, विमानस्थल बनेर पनि उडान हुन नसक्नुु दुःखदायी अवस्था भएको उल्लेख गरिएको छ ।

प्राकृतिक संकट व्यवस्थापन अर्को चुनौती बनेको बनेको बताउँदै संघले पूर्वानुमान गर्न नसक्नु र तत्काल रेस्पोन्स गर्न नसक्नुले सरकारी निकाय प्रतिको विश्वास घट्दै गएको भनिएको छ ।

पर्यटन क्षेत्रको बजारीकरण कमजोर बन्दै जानु, पर्यटन बोर्डले आफ्नो कार्य क्षेत्र र उद्देश्य विपरित बजेट विनियोजन गर्नु, आर्थिक अनियमितता जस्ता विषय समस्याका रुपमा देखिएको पत्रमा जनाइएको छ ।

एउटै व्यवसाय धेरै ठाउँमा दर्ता गर्ने व्यवस्थाले व्यवसायी पटक पटक केन्द्र धाउनुपर्ने अवस्थामा सहजीकरण गर्नुपर्ने व्यवसायीहरुको माग छ ।

पदयात्रा पर्यटनमा सम्भावना भएका र पदयात्राको हिसावले ख्याति कमाएका क्षेत्रमा बिना अध्ययन निर्मित सडक व्यवस्थित गर्नुुपर्ने भन्दै संघले पर्यटकीय क्षेत्रमा मौलिक घरका संरचना संरक्षणका नीति नै बनाएर अघि बढ्नुपर्ने सुझाएको छ ।

पर्यटकसँग लिइने प्रवेश शुल्क एकद्वार प्रणालीबाट उठाइ स्थानीय सरोकारवालाको माग सम्बोधन गर्नुपर्ने, व्यवसायीलाई अझ आकर्षित गर्न उत्प्रेरणा जगाउनुपर्ने, व्यवसायी पलायन रोक्नुपर्ने नेपालमा भएका ट्राभल्स, ट्रेकिंग र र्‍याफ्टीङ्ग एजेन्सिजलाई विभिन्न देशमा शाखा खोल्न प्रेरित गर्नुपर्ने उनीहरुको भनाइ छ ।

नेपाल एशोसिएसन अफ र्‍याफ्टीङ्ग एजेन्सिज(नारा)का पूर्व केन्द्रीय अध्यक्ष निम मगरले सरकारले जलयात्राका लागि अनुमतिपत्र दिए पनि ठाउँ ठाउँमा बाँधहरू बनाइँदा आँफूहरूको जलयात्रा पर्यटन प्रभावित बनेको बताए ।

रेष्टुुरेन्ट एण्ड बार एशोसिएसन(रेवान) पोखराका पूर्व अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन व्यवसायी सुकबहादुर गुरुङ लगायतले पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पर्यटन विभागका संयोजक आङ्गेलु शेर्पा र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका केन्द्रीय संयोजक दीपक महतले मन्त्री पाण्डेसँगको भेटघाटलाई संयोजन गरेका थिए ।

तपाईको प्रतिक्रिया