प्राविधिक शिक्षाको महत्व सबैतिर छः तिमिल्सिना
संघीयतापछि पालिकाहरुले विकासका फरक फरक मोडेल अपनाएका छन् । पूर्वाधार विकासलाई मात्रै विकास मान्ने परीपाटी चिर्दै केही स्थानीय तहले अस्पताल चलाएका छन्, केहीले शिक्षालय खोलेका छन् । अहिले संघ सरकारले नै सैद्वान्तिक शिक्षालाई निरुत्साहित गर्दै प्राविधिक र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिएको छ । गण्डकीका पालिकाहरुले समेत प्राविधिक शिक्षाका लािग सामुदायिक विद्यालयमा प्राविधिक विषय थप गरेका छन् । पोखरा महानगरपालिकाले २०७६ मा प्रदेश विज्ञ सरहको सेवा, सुविधा प्रदान गर्ने गरी शिक्षालय सञ्चालनका लागि फोकल पर्सन नियुक्त गरेको थियो । त्यही बेला महानगरको शिक्षालयले स्वीकृति पाए पनि कक्षा सञ्चालन भएन । पछि महानगरले ऐन अनुसार शिक्षालयको निर्देशकमा भौतिकशास्त्री लक्ष्मण तिमिल्सिनालाई नियुक्त ग¥यो । अहिले गण्डकी बहुप्राविधिक शिक्षालय नमुना बनेको छ । यसको सञ्चालन प्रक्रिया र अध्यापनका क्षेत्रहरुबारे शिक्षालयका निर्देशक तिमिल्सिनासँग गरिएको कुराकानीः
यो शिक्षालयमा कुन कुन विषयको पढाइ हुन्छ ?
पोखरा महानगरपालिका र सिटीइभिटीको साझेदार सस्थाको रुपमा २०७६ मा स्थापित यस शिक्षालयले २०७७ बाट कक्षा सञ्चालन थालेको थियो । पोखरा २९ भण्डारढिकमा सञ्चालित शिक्षालयमा स्थापना कालमा छोटो अवधिका तालिमहरु भएका थिए । अहिले हामी शैक्षिक कोर्ष पठनपाठन गराउँछौं ।
शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङका कोर्ष नियमित सञ्चालन छन् भने डिप्लोमा तहमा फार्मेसी र सामान्य चिकित्साका कोर्षसमेत पढाइ हुन्छन् । हामीले अघिल्लो वर्षदेखि औद्योगिक प्रशिक्षार्थी २ वर्षे कार्यक्रमसमेत सुरु गरेका छौं ।
पहिलो ब्याचका विद्यार्थीहरु अहिले के गरिरहेका छन् ?
शिक्षालयमा सुरुको ब्याचमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङको पढाइ भएको थियो । अहिले पहिलो ब्याचका विद्यार्थीलाई पढाइ सकिएपछि ६ महिने पेड इन्टर्नमा पठाइएको छ । यसमा सिभिल तर्फ ८२ प्रतिशत र अटोमोवाइलतर्फ ९४ प्रतिशत विद्यार्थी नियमित रुपमा उत्तीर्ण भए । डिप्लोमा इन अटोमोवाइलतर्फ देशमै हाम्रा विद्यार्थीले उत्कृष्ट अंक ल्याएका छन् ।
औद्योगिक प्रशिक्षार्थी कस्तो कार्यक्रम हो ? यसको उपयोगिता के छ ?
हाम्रो पढाइ प्राविधिक धार भए पनि हाम्रा पाठ्यक्रमले बजार वा उद्योगको कार्यशैलीलाई चिन्न सकेका छैनन् । औद्योगिक प्रशिक्षार्थी तालिम बजार र सीप हाम्रो आवश्यकतालाई पूरा गर्ने दक्ष प्राविधिक उत्पादन गर्ने कार्यक्रम हो । यसमा कुल ३.५ महिना शिक्षालयमा पठनपाठन गरी १९.५ महिना सम्बन्धित विषषको उद्योग वा प्रतिष्ठानमा प्रशिक्षार्थीलाई सीप सिकाइका लागि पठाइन्छ ।
यो अवधिमा हप्तामा एक दिनमात्र शिक्षालयमा पढाइन्छ भने ५ दिन उद्योग वा प्रतिष्ठानमा काम सिकाइन्छ । २४ महिनामा आन्तरिक मूल्यांकन र अन्तिम परीक्षाबाट विद्यार्थीको मूल्यांकन गरी प्रिडिप्लोमा तहको उपाधि दिने दिइन्छ ।
प्राविधिक विषय पढ्न महँगो छ भनिन्छ, यो सत्य हो ?
हो, अन्य सैद्वान्तिक शिक्षाको तुलनामा प्राविधिक शिक्षा खर्चिलो र झन्झटिलो हुन्छ । विद्यार्थीलाई सीप सिक्नु र सैद्वान्तिक पढाइ पनि व्यवस्थापन गर्नु कठिन हुन्छ । हाम्रा स्कुल र विश्वविद्यालयका पाठ्यक्रम अझै समयानुकूल परिमार्जन हुन सकेका छैनन् । डिजिटाइजेसनको समयमा हाम्रो शैली परम्परागत नै छ । त्यसैले अहिले प्राविधिक शिक्षा निजी क्षेत्रको प्रयासबाट मात्र सम्भव बनेको जस्तो देख्न सकिन्छ । शुल्कसमेत अलिक महँगो नै देखिन्छ । सिटीइभिटीका आंगिक शिक्षालय, साझेदार शिक्षालयहरुमा उतिसारो महँगो छैन ।
अझै औद्योगिक प्रशिक्षार्थी तालिम अन्तर्गत राज्यले निशुल्क अध्यायन गराउँदै आएको छ । उद्योगमा जान यातायात खर्च मासिक २ हजार ५ सय शिक्षालयबाट र उद्योगले पनि न्यूनतम ज्यालाको २५ प्रतिशत विद्यार्थीलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएका छन् । यसले सीमान्तकृत र विपन्न विद्यार्थीले समेत अध्ययनको अवसर पाएर पढाइ सकेपश्चात सोझै रोजगारीमा जोडिन वा उद्यमशील बन्ने बाटो दिएको छ ।
सामुदायिक विद्यालयका छात्रालाई निशुल्क प्राविधिक शिक्षा दिने कुरा सत्य हो ?
हो, पोखरा महानगरले शिक्षालयमा सञ्चालित डिप्लोमा तहका इन्जिनियरिङ, प्रि डिप्लोमा बिल्डिङ कन्स्ट्रक्सन र अटोमोवाइल कोर्षमा अध्ययन गर्न चाहने सामुदायिक विद्यालयबाट एसइई दिएका छात्राहरुलाई प्राविधिक शिक्षामा जोड्नका लागि यो कार्यक्रम सुरु गरेको हो ।
यो शिक्षालयमा विद्यार्थीको आकर्षण कस्तो देखिन्छ ?
हाल नेपालमा प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीको संख्या खासै धेरै देखिँदैन । १२ कक्षा पढेर विदेश जाने क्रम बढेकाले पनि यसो हुन गएको हो । तर विदेश जाँदा पनि प्राविधिक सीप हुँदा सहज हुने चेतनाको कमी छ । दोस्रो कुरा प्राविधिक शिक्षा मेहनत ज्यादा गर्नुपर्ने विषय भएकाले पनि विद्यार्थी अभिभावकले सजिलो बाटो रोज्दा अहिले स्वास्थ्य बाहेकका कार्यक्रममा उति रुचि देखिएको छैन । तेस्रो कुरा, हाम्रा पाठ्यक्रम र कोर्सको ढाँचा परिवर्तन नहुनु पनि एक कारण हो । डिप्लोमा तहको अध्ययन २ वर्ष, एड्भान्स डिप्लोमा १ वर्ष र स्नातक ३ वर्षको कोर्ष डिजाइन गर्नु जरुरी छ ।
तपाईको प्रतिक्रिया