पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ मा गत वर्षदेखि किसान बजार सञ्चालनमा आएको छ । वडाले ठूलो लगानी गरेर संरचना बनाए पनि त्यसको औचित्य पुष्टि गर्न नसक्दा नवनिर्मित कृषि बजारका काेल्ड स्टाेरसहितका संरचनाहरू बेवारिस भएका छन् । यो वडामा काँहुखोला, कसेरी, आर्बा लगायत तरकारी पर्याप्त उत्पादन हुने क्षेत्र हुन् । बजार निर्माण सम्पन्न भएको वर्ष दिन नाघे पनि सञ्चालनार्थ पहल नहुँदा न त किसानलाई फाइदा हुन सक्यो न त उपभोक्तालाई ।
बजारमा अहिले एउटामात्र पसल सञ्चालनमा छ । काहुँखोलामा रहेको चौधरी तरकारी फार्मका सञ्चालक ऐश्वर्य चौधरीले पसल खोलेकी छन् । पसल सञ्चालनमा आएको १ महिनामात्रै भएको उनले बताइन् ।
बजारको प्रचार नहुँदा ओझेलमा परेको उनले सुनाइन् । ‘अन्तभन्दा सस्तोमा बेच्छौं तर पनि ग्राहक आउँदैनन् । आएपनि बार्गेनिङ गर्छन्, घाटा खाएर बेच्न मिलेन । बजारले निरन्तरता पाउन सकेन,’ चौधरीले भनिन्, ‘उपभोक्ताले भाउ सुन्नेबित्तिकै नाक खुम्चाउँछन् । तरकारी पनि आधा केजी र पाउ खोज्छन् । बर्खाको तरकारी १ दिनमै कटेन भनेर भोलिपल्ट सबै फ्याँक्नुपर्छ ।’
आफ्नै फार्मबाट तरकारी ल्याउने भएकाले अन्तभन्दा सस्तो पर्ने उनी बताउँछिन् । उनका अनुसार गत हप्ताको भन्दा तरकारी सस्तो भएको छ । चिप्लेभिन्डी, घिरौंला र गोलभेडा ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । सेतो आलु ७०, बोडी र सिमी १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । अरु तरकारीको मूल्य घटे पनि प्याजको भने बढ्दो छ । प्याज किलोको १२० रुपैयाँसम्म पर्छ । कन्ये च्याउको भाउ पाउको ५५ रुपैयाँ छ ।
खुर्सानी फार्ममा उत्पादन नहुँदा सधैं महँगो पर्ने चौधरीले सुनाइन् । उनी भन्छिन्, ‘खुसार्नीका लागि उपयुक्त माटो छैन । खुसार्नी फलाउने प्रयास पनि गरेका थियौं । फल लागेपछि आफैं जरा सुक्दै गएर बोट मरे ।’
माटोको जाँच नगरी उत्पादन गर्दा धेरै घाटा व्यहोर्नुपरेको उनको अनुभव छ । १० रोपनी जग्गामा लगाएको स्वीटकर्नका बिरुवा मर्दा ५५ हजार रुपैयाँ नोक्सान भएको उनले बताइन् । ‘यहाँको वातावरण त्यसका लागि बेठिक रहेछ, सुनेको भरमा खेती गरियो । भारतबाट प्रतिकिलो १० हजारमा किनेर लिएको, १० हजार पनि आम्दानी भएन,’ उनले दुखेसो पोखिन् । उत्पादन भएका तरकारी पनि उपभोक्तासम्म पुर्याउन समस्या भएको चौधरीले बताइन् ।
व्यवसायी भन्छन्ः बर्खामा उत्पादन नै कम हुन्छ । छिट्टै सड्ने, कुहिने हुँदा आधा तरकारी फाल्नुपर्छ
आर्बामा तरकारी खेती गरिरहेका रोशन बरालले कृषिमा सम्भावना भएपनि किसानले फाइदा लिन नसकेको चिन्ता व्यक्त गरे । स्थानीय किसानले तरकारीलाई घरायसी प्रयोजनमा मात्र प्रयोग गर्ने व्यवसायीकरणमा ध्यान नपुगेको उनको भनाइ छ ।
कृषि विषयमै स्नातक गरेका बरालले कृषिमा आत्मनिर्भर बन्ने सपनासहित ४ वर्षदेखि तरकारी खेती गर्दै आएका छन् । उत्पादन भएका तरकारी सजिलै बिक्री हुने गरेको बताउँदै उनले सामूहिक व्यावसायिक तरकारी खेती गर्न सके पोखरालाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने बताए ।
‘जमिनहरु बाँझै छन् । किसानहरु पनि घरकै लागि मात्र उत्पादन गर्छन् । अहिले गाउँमै कृषि एम्बुलेन्स आउँछ, सामूहिक तरकारी खेती गर्न सके किसानलाई पनि फाइदा हुन्थ्यो, उपभोक्तालाई पनि,’ बरालले भने ।
समयमा नै मल, बिउ, सिँचाइ जस्ता कृषिका लागि आवश्यक तत्वको समस्याले किसान सधै मारमा परेको बरालको गुनासो छ । कृषि बिमासमेत प्रभावकारी हुन नसक्दा तरकारी खेतीमा किसानको रुचि घटेको उनले बताए ।
‘बिउ चिन्न नसक्दा समस्या परेको छ । बिउ नराम्रो परेर उमिँ्रदैन, उम्रिए पनि फल नलाग्ने हुन्छ । माटो पनि जाँच नगरि खेती गर्छांै, जसले गर्दा धेरै पटक नोक्सान भएको छ,’ उनले भने, ‘कृषि विमा गरेपनि विमा रकम पाउन सकिन्न । बारीमा बिमा गरेको तरकारीमात्र भए बिमा दाबी गर्न मिल्छ तर एकैठाउँमा २÷३ थरी तरकारी लगाउने भएकाले मिलेन ।’
सरकारले सहुलियत र प्रोत्साहन दिँदा पनि कृषिमा सोचे जस्तो विकास हुन नसकेको बराल भन्छन् । सरकारले सिँचाइको व्यवस्था गरिदिनुपर्ने साथै जमिनको संरचना परिवर्तन गर्न पनि सहयोग गर्नुपर्ने उनको माग छ ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले १० लाख रुपैयाँ लागतमा किसान बजार निर्माण गरिएको वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले जानकारी दिए । निशुल्क भवन उपलब्ध गराएर स्थानीय उत्पादनलाई व्यवस्थापन गर्न तथा किसान र उपभोक्ताबीचको लेयर हटाउन पहल गरिरहेको उनले सुनाए ।
‘किसानका समस्या सम्बोधन गर्ने कोसिस गरिरहेका छौं । हरेक शनिबार बजारमा वडाका सबै किसानका उत्पादन बिक्री गर्छाैं, उपभोक्ताले पनि सस्तो मूल्यमा तरकारी प्राप्त गर्नुभएको छ,’ वडाध्यक्ष बरालले भने, ‘बजारलाई थप व्यवस्थित बनाउने प्रयत्न जारी छ । ९० हजार रुपैयाँमा कोल्डस्टोर पनि निर्माण गरेका छौं ।’
पोखरा ९ शान्तिवनस्थित तरकारी तथा फलफूल बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी अम्बिका सापकोटाले बर्खा लागेपछि हरेक वर्ष तरकारी महँगो हुने विवशता सुनाइन् । तरकारीको मूल्यमा दिनदिनै उतारचढाव आउने, तरकारी पनि राम्रो नपाइने उनले बताइन् ।
बाढी पहिरोले सडक अवरुद्ध भएर बजार सम्म तरकारी आइ नपुग्ने, आएका तरकारी पनि बासी हुने र केही दिनमै कुहिने भएकाले तुलनात्मक रुपमा बर्खामा महँगो पर्ने सापकोटाको भनाइ छ । ‘बर्खामा उत्पादन नै कम हुन्छ । छिट्टै सड्ने, कुहिने हुँदा आधा तरकारी फाल्नुपर्छ । ढुवानी भाडा पनि महँगो हुँदा तरकारी महँगो हुन्छ,’ उनले भनिन् ।
गत हप्ता लौका, घिरौंला प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको अहिले घटेर ६० रुपैयाँ पर्ने उनले बताइन् । साग ८० रुपैयाँ मुठा, मुस्ताङी गाजर १२० र चितवनको ८० सम्म, सिम्ला मिर्च १५०, सेतो आलु ६०, मुस्ताङी आलु ९५ रुपैयाँ पर्छ । हरेक हप्ता तरकारीको मूल्यमा फेरबदल हुन्छ । गत हप्ता गोलभेंडा क्रेटको १५ सय रुपैयाँसम्म पुगेको थियो । अहिले १ हजारमा बिक्री भइरहेको छ ।
प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया