सम्पादकीय—बंगलादेशी विप्लवबाट सिकौं

समाधान संवाददाता २०८१ साउन २४ गते १७:१४

दक्षिण एसियाली मुलुक बंगलादेशमा मोहम्मद युनुस अन्तरिम सरकारका प्रधानमन्त्री बनेका छन् । युनुस बंगलादेशका उद्यमी, बैंकर, अर्थशास्त्रीसमेत हुन् । गरिबी उन्मूलनका लागि विशेष प्रयास गरेकोमा उनलाई सन् २००६ को नोबेल शान्ति पुरस्कार दिइएको थियो । प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिदै देश छोडेकी छन् । बंगलादेशमा १५ वर्ष शासन गरेकी हसिनाले पदबाट राजीनामा दिएर देश छोड्नुपर्ने परिस्थिति भने त्यहाँ चर्केको विद्यार्थी आन्दोलनबाट सिर्जना भएको हो ।

Advertisement

बंगलादेशमा स्वतन्त्रता संघर्षका सन्तानलाई सरकारी सेवामा दिइदै आएको आरक्षण कोटा अन्त्य गर्नुपर्ने माग राखेर विद्यार्थीहरुले आन्दोलन थालेका थिए । त्यो आन्दोलन चर्कदै जाँदा बंगलादेशका संस्थापक नेताकी छोरी रहेकी हसिनाले प्रधानमन्त्री पद छाड्नु परेको हो । जबकी विद्यार्थीले आन्दोलन थाल्दा प्रधानमन्त्री हसिनाको राजीनामा मागेका थिएनन् । पाकिस्तानबाट अलग भएर बंगलादेश बनाउने आन्दोलनमा सहभागीहरुका नाति पुस्ताले पाउन थालेको आरक्षण अन्त्य गर्नुपर्ने उनीहरुको माग थियो । विद्यार्थीको माग स्वभाविक थियो ।


बंगलादेशलाई स्वतन्त्र बनाउने आन्दोलनमा लाग्ने र तिनका सन्तानले आरक्षणमा जागिर खाइसकेका थिए । जबकी नाती पुस्तालाई पनि कुल सरकारी सेवाको ३० प्रतिशत आरक्षण कायम राख्न थालिएपछि त्यसको विरोध भएको हो । आन्दोलनको सुरुआतको कारण यति हो । तर सम्बोधन गर्न सम्भव माग राखेर चलेको प्रदर्शन बढ्दै जाँदा आन्दोलनकारीले प्रधानमन्त्री कार्यालयसमेत कब्जा गरे । देशकै संस्थापक नेताकी छोरीले देश छोडेर भाग्नुपरेको छ ।

आन्दोलनकारीले ठूलो सफलता पाएका छन् । यस्तो परिस्थिति स्वयं हसिनाकै कमजोरीका कारण सिर्जना भएको विश्लेषकहरु बताउँछन् । किनकि उनले लोकतान्त्रिक विधिलाई सम्मान नगरेको नागरिकले अनुभूति गरेका थिए । । एउटा जायज माग राखेर भएको आन्दोलनमा सहभागीलाई आतंकवादी र देशद्रोही जस्ता शब्द उनले प्रयोग गरेकी थिइन् । शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउँदा एकै दिन ९० जनाभन्दा बढीको ज्यान गएको थियो ।

हसिनाले विपक्षीविहीन चुनाव लडेर अनन्तःसम्म शासनको चाहना राखेकी थिइन् । अर्थात् शेख हसिनाको नियत राम्रो थिइन् । प्रजातन्त्रका नाममा जनआकांक्षा विपरीत शासन गर्ने लालसाले उनलाई देशबाटै भाग्न बाध्य बनाएको छ । फ्रिडम फाइटरका सन्तानलाई आरक्षण दिएर भोट बंैक सुरक्षित गर्न चाहन्थिन् उनी । आन्दोलनको बलमा फ्रिडम फाइटरका सन्तानहरुले आरक्षण कोटा नपाउने निश्चित भयो । निरंकुश शासनको चाहना राख्दा शेख हसिना पराजित शासकका रुपमा चिनिएकी छन् ।

Advertisement

नेपालका मुख्य दलका नेतृत्वले पनि गणतन्त्र र अधिकारका लागि पटक पटक आन्दोलन र त्याग गरेका छन् । तर त्यसको जस र फाइदा आफूले मात्र लिनुपर्छ भन्ने सोच्ने र जनआकांक्षालाई लत्याउने हो भने बंगलादेशकै हालत यहाँ पनि हुन सक्छ । आरक्षणको मुद्दा नेपाली समाजमा पनि पेचिलो छ । सीमान्तकृत समुदायका लागि निश्चित समयका लागि आरक्षण हुन सक्छ, सधै आरक्षण राख्नु लोकतन्त्र विरोधी कुरा हो ।

तपाईको प्रतिक्रिया