नेपालमा चुलिँदै सुनको मूल्य ?

नेपाली बजारमा सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड बनाइरहेको छ । डेढ वर्ष अघिसम्म छापावाल सुन १ लाख प्रति तोला रहेकोमा अहिले सुनको मुल्य प्रति तोला करिब १ लाख ५० हजार पुगेको छ । यसरी हेर्दा झन्डै १८ महिनामा सुनको भाउ ५० प्रतिशतले वृद्धि भएको छ । नेपालमा किन सुनको मूल्य यसरी आकासियो त ? यसका पछाडि धरै कारण छन् । अब हामी नेपाली अर्थतन्त्रमा यसले परे प्रभावको बुँदागत रूपमा छलफल गरौं ।
विश्व बजार किन महँगिँदै छ सुन ?
विविध कारणले विश्व बजारमा देखिने आर्थिक अनिश्चितामा आम मानिसले लगानीको भरपर्दो मध्यम सुनलाई नै लिन्छन् । हाल जारी रहेको रुस—युक्रेन युद्धले गर्दा विश्व बजारका ठूला लगानीकर्ता सुनमा आकर्षित हुन पुगे । प्रतिकुल आर्थिक अवस्थामा विश्व बजारमा मानिसहरुको विश्वास अमेरिकी डलर र स्टक मार्केट कम हुन्छ । यसले पनि सुनको मागमा चाप पर्न गई मूल्य अकासिन्छ ।
घट्दो बैंकको ब्याज दर र चुलिँदो मूल्यवृद्धि सुनको बजार भाउ बढ्नुको अर्को मूल कारण मानिन्छ । बैंकको ब्याजदर निकै तल झर्दा विश्व बजारका ठूला लगानीकर्ता सुनमा आकर्षित हुनुलाई स्वाभाविक मानिन्छ । गत वर्षमात्र चीन रसिया र भारतका केन्द्रीय बैंकहरुले करिब ६५० टन सुनको सञ्चित बढाउँदा यसको सोझो असर सुनको मूल्यमा पर्न गयो ।
रुस—युक्रेन युद्धले गर्दा विश्व बजारका ठूला लगानीकर्ता सुनमा आकर्षित भए
नेपाली अर्थतन्त्रमा परेको प्रभाव
बढ्दो सुनको मूल्यले नेपाली अर्थतन्त्रमा सिधा असर पार्दछ ।
१.आर्थिक प्रभावः जब अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि हुन्छ तब नेपालले यसको आयातमा थप विदेशी मुद्रा खर्चिनुपर्छ । यसको सिधा असर विदेशी मुद्रा सञ्चितीमा पर्दछ । हाम्रो जस्तो आयातमुखी अर्थतन्त्रमा यसलाई स्वस्थकर मानिँदैन । आयातको ठूलो हिस्सा सुनले ओगटेको अवस्थामा यसले व्यापार घाटालाइ अझै फराकिलो बनाउँछ ।
२.उपभोक्ताको मागः नेपाली समाजमा आज पनि सुनलाई प्रतिष्ठाको रुपमा लिने कुपरम्पर कायमै छ । यसले गर्दा विविध सांस्कृतिक तथा धार्मिक कार्यहरुमा सुनको माग उच्च हुन्छ । नेपाली समाज आज यस्तो नराम्रोसँग विकृत भई सक्यो कि बरु भोकै बस्ने तर देखाउन भए पनि सुन त लगाउने । यसले गर्दा सुनको माग बढ्ने तर त्यस अनुरुप आपूर्ति नहुँदा आन्तरिक बजारमा मूल्य बढ्न जान्छ । नेपाली रास्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत आयात गर्ने दैनिक २० किलो सुनले नेपाली बजार धान्न सक्दैन र यसले सुन तस्करीलाई बढावा दिन्छ ।
३.काँचो सुनको अभावः नेपाली बजारमा उपभोक्ताले लगानीको रूपमा सुन खरिद गर्न पाउँदैनन् । बजारमा सुनको गहना मात्र उपलब्ध छन् यसको लागि खरिदकर्ताले ज्याला जर्ति आदिमा करिब १० प्रतिशत थप पैसा खर्चिनुपर्छ । यसले गर्दा सुनको भाउ माथि जाँदा पनि खरिदकर्तालाई खासै फाइदा देखिन्न ।
४.विप्रेषण आयः नेपालले प्राप्त गर्ने विप्रेषणको ठूलो हिस्सा विलाशिताको सामग्री खरिदमा गएको आध्यानहरुले देखाउछ । यसमा पनि सुनको हिस्सा अग्रपंक्तिमा आउँछ ।
भारतमुखी अर्थतन्त्र
नेपाली मुद्राको विनिमय दर भारतीय मुद्रासँग स्थिर दरमा कायम छ । हाम्रो जस्तो सानो तथा भारतसँग खुला सीमा भएको देशको लागि खासै अर्को विकल्प पनि छैन । यसैले नेपालले कसरी अर्थतन्त्र सुधार गर्ने भन्दा पनि हामी त यो वा त्यो ढंगले भारतीय अर्थतन्त्रमा भरपर्नु पर्ने अवस्था छ ।
अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्रा बलियो भएमा यसको प्रत्यक्ष फाइदा नेपाललाई पुग्छ । नेपाल सरकारले केन्द्रीय बैंक मार्फत नेपाली लगानीकर्ताहरुलाई छिमेकी राष्ट्रहरुमा जस्तै गोल्ड बोन्डहरु जारी गरेर सुनको मागलाई व्यवस्थित गर्न सके केही हदसम्म भए पनि हाम्रो अर्थतन्त्र सबल र स्थिर हुन्थ्यो कि ?
बराल गण्डकी बोर्डिङ स्कुल, लामाचौर पोखरामा कार्यरत शिक्षक हुन् ।
तपाईको प्रतिक्रिया