सहरी योजना आयोग पोखराका उपाध्यक्ष र २ सदस्यले दिए राजीनामा

पोखरा । सहरी योजना आयोग पोखराका उपाध्यक्षसहित २ जना सदस्यले राजीनामा दिएका छन् । कर्मचारी संयन्त्र र जनप्रतिनिधिको तारो बनिरहने तर काम गर्ने माहोल नभएको भन्दै उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यद्वय डा. होमनाथ गैरे र जयप्रसाद सापकोटाले सहरी योजना आयोगको अध्यक्ष समेत रहेका मेयर धनराज आचार्यलाई राजीनामा बुझाएका हुन् । ५ सदस्यीय आयोगका २ सदस्यहरु सुरेन्द्रबाबु तिवारी र मन्दिरा पराजुलीले भने राजीनामा दिएका छैनन् ।
उपाध्यक्ष प्रेमलाल लामिछानेले नियुक्त हुने बेला बनाइएको कार्ययोजना अनुसार काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको बताए । पूर्व प्रजिअ समेत रहेका लामिछाने गत असार १३ गते उपाध्यक्षमा नियुक्त भएका थिए । प्रशासनिक कामममा लामो अनुभव भए पनि उनीसँग योजना तर्जुमा र कार्यान्वयनको भने त्यति अनुभव थिएन । नियुक्तिपछि उपाध्यक्ष लामिछानेसहितको टोलीले ३३ बुँदे कार्ययोजना बनाएको थियो । त्यस कार्ययोजना अनुसार काम गर्न नसकेपछि राजीनामा दिएर बाहिरिएको लामिछानेले बताए ।
प्रजिअ भएर जिल्ला हाँकेका लामिछाने र अन्य सदस्यलाई जहिल्यै कर्मचारीले मर्यादाक्रम र कामको विषयलाई लिएर तारो बनाएका थिए । जनप्रतिनिधिले पनि आयोगका पदाधिकारीलाई कहिल्यै सहजरुपमा स्वीकार गर्ने माहोल नै बनेन । मेयर आचार्यले पनि पदाधिकारीका समस्या समाधानतिर खासै चासो देखाएनन् ।
उपाध्यक्षसहित ३ जनाको राजीनामा मेयर धनराज आचार्यले स्वीकृत भने गरेका छैनन् । महानगरको दोस्रो पञ्चवर्षीय योजना र मध्यमकालीन खर्च संरचनाको काम बाँकी रहेकाले ती काम सकेर मात्र जान आफूले आग्रह गरेको मेयर आचार्यले बताए । आयोगकै टोलीले पोखरा महानगरको संगठन तथा व्यवस्थापन सर्वेक्षण पनि तयार गरिरहेको छ । महानगरको ऐनका आधारमा आवश्यक ठानेरै आयोग बनाएकाले आफूले उनीहरुको काममा कहिल्यै अवरोध नगरेको मेयर आचार्यको भनाइ छ ।
आयोगका सदस्य जयलाल सापकोटाले आफूहरुले १ वर्षको अवधिमा सक्दो काम गरेको भए पनि परिणाममुखी कामका लागि माहोल नभएकाले नै सल्लाह गरेर बाहिरिएको बताए । उनले भने, ‘दोस्रो पञ्चवर्षीय योजना पनि बनाएर बुझाइसकेका छौं, कार्यपालिकाकाबाट पारित पनि भयो होला, अरु हाम्रो जिम्मामा आएका काम कुनै बाँकी राखेका छैनौं, पद ओगटेर थप परिणाम दिन सकिने हामीले देखेनौं, त्यसैले बाहिरिएका हौं ।’
तपाईको प्रतिक्रिया