मादी २ मा सार्वजनिक सुनुवाई
पोखरा ।
कास्कीको मादी गाउँपालिका २ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाई गरेको छ । सुशासन प्रवद्र्धन अन्तर्गत वडा कार्यालयले प्रवाह गरेका सेवाबारे जनतालाई जानकारी दिने तथा जनताका गुनासा सुन्ने उद्देश्यले बिहीबार सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।
वडा अध्यक्ष भोजबहादुर गुरुङले वडा समिति, टोल विकास संस्था, वडाका सामुदायिक संघ, संस्थाका प्रतिनिधिका साथै वडाबासीको उपस्थितिमा कार्यक्रम भएको जनाए । कार्यक्रममा वडाध्यक्ष गुरुङले वडाले प्रवाह गरेका सेवा, सुविधाका बारेमा उपस्थित प्रतिनिधि तथा जनतालाई जानकारी गराएका थिए ।
कार्यक्रममा मादी गाउँपालिकाका उपप्रमुख कल्पना गुरुङले वडा कार्यालयले गर्ने सार्वजनिक सुनुवाईले गाउँपालिकाकै सुशासन प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् । उनले २ नम्बर वडा जस्तै अन्य वडाले पनि सार्वजनिक सुनुवाई गरेर आफूले गरेका कामको बारेमा सरोकारवालालाई जानकारी दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा वडा सदस्य दिलबहादुर गुरुङले वडा समिति भनेको जनताको सबैभन्दा नजिकको सरकार भएकोले जनताले अनुभुति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । अहिलेसम्मका वडा कार्यालयको सेवा प्रवाह सन्तोषजनक रहेको बताउँदै गुरुङले आगामी दिनमा पनि जनताको जीवनशैलीमा परिवर्तन गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए ।
सार्वजनिक सुनुवाईमा वडा सदस्य पूर्णसुब्बा गुरुङले आफूहरुले सकेसम्मको सेवा वडाबासीलाई दिईएको दावी गरिन् । कार्यक्रम सञ्चालन वडा सचिव वसन्त थापामगरले गरेका थिए ।
मादी गाउँपालिकाबाट १ करोड ३६ लाख र गण्डकी प्रदेश सरकारबाट १५ लाख गरी जम्मा १ करोड ५१ लाख रकमका विभिन्न योजना तथा कार्यक्रममा रकम विनियोजन भएकोमा यस वर्ष मादी २ ले योजना तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्नमा सफल भएको छ ।
तपाईको प्रतिक्रिया