पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान थाल्न माग

समाधान संवाददाता २०८१ साउन २८ गते १०:३६

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उडान गर्दै आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन भएको हो । प्रदर्शनीकारीहरूले विमानस्थल सञ्चालन गर्न, ऋणमुक्त गर्न लगायतका माग गरेका प्लेकार्ड बोकेका थिए ।

Advertisement


सन् २०२३ जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, लगायतका वायु सेवाले आन्तरिक उडान गर्दै आएका छन् । तर, नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यद्यपि चार्टर्ड फ्लाइट भने यदाकदा भएका छन् ।


स्थानीयले नियमित अन्तर्राष्ट्रिय उडान माग गर्दै आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । यसअघि पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका ३ गन्तव्य बनारस, दिल्ली र देहरादुन उडान गर्ने योजना बनाएको थियो । तर, भारतले अनुमति नदिँदा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।


चीनतर्फबाट पनि उडान नहुँदा विमानस्थलको ऋण कसरी तिर्ने भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तत्काल बर्खास्त गर्नसमेत माग गरेका छन् ।


उनीहरुले अहिले मुख्यतः वैदेशिक रोजगारीमा रहनेहरू, धार्मिक, सांस्कृतिक पर्यटकलाई आकर्षण गर्न सक्ने देशहरुसँग कुरा गरेर अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गरेका छन् । तर, उडान भर्ने भनिएका जजिरा, फ्लाइ दुबइ, कतार एयरवेज र बुद्ध एयरले अनुमति पाइसकेका छैनन् ।

Advertisement


स्थानीयले व्यवसायीले भारततर्फ नभए चीनतर्फ पहिलो अन्तर्राष्ट्रिय उडान गराउन माग गरेका छन् । तर, चीनबाट पनि अनुमति आइसकेको छैन । विमानस्थलबाट उडान संख्या घट्नु र अन्तर्राष्ट्रिय उडानसमेत अनिश्चित हुँदा चर्को ऋणको ब्याज र किस्ता नउठ्ने भन्दै आलोचनासमेत हुने गरेको छ । चिनियाँ एक्जिम बैंकबाट २२ अर्ब रुपैयाँ ब्याजमा लिएर यो विमानस्थल निर्माण गरिएको हो ।


हालसम्म पोखराबाट ९ अन्तर्राष्ट्रिय उडान भएका छन् । प्राधिकरणको तथ्यांक अनुसार अघिल्लो वर्ष पुस (अंग्रेजी नयाँ वर्ष) मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सो वर्ष २ वटामात्र अन्तर्राष्ट्रिय उडान भएका थिए । अहिले केही चार्डर्ट उडान भए पनि नियमित उडान अझै सुरू हुन सकेको छैन ।


यो विमानस्थल बनेपछि ‘पोखराको अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थल’ले एक वर्षभित्र ३३ करोड रुपियाँ आम्दानी गरेका छन् । पुरानो विमानस्थलबाट हेलिकप्टर, अल्ट्रालाइट र जोमसोम उडान हुँदै आएको छ ।


अन्तर्राष्ट्रिय उडानबाट करिब ४ लाख रुपियाँमात्र आम्दानी गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनाएको छ । चीनको एक्जिम बैैंकबाट ऋण लिएर बनेको विमानस्थलको आम्दानीको तुलनामा ऋणको किस्ता निकै ठूलो रहेकाले स्थानीयले सरकारसँग विमानस्थललाई फुलफ्लेजमा सञ्चालन गर्न माग गरेका हुन् ।


क्यानले पोखरा विमानस्थलका साथै क्यानको अन्य स्रोत र अन्य विमानस्थलबाट भएको आम्दानीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण र ब्याज तिरिरहेको छ ।

विमानस्थल बन्यो तर अत्यावश्यक तयारीभन्दा उद्घाटनमा हतारो गरिएको कतिपयको टिप्पणीसमेत भएको छ । विमानस्थल सञ्चालनमा आएको करिब २ महिनापछि मात्र फागुन ११ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आईएफआर) लागू भएको थियो ।


विमानस्थल सञ्चालनमा आएको ३ महिनापछि फागुन १८ गतेदेखि रात्रिकालीन उडान गरिएको थियो भने ११ महिनापछि मात्र अध्यागमन कार्यालय स्थापना गरिएको हो । अहिलेसम्म विमानस्थलभित्रै इन्धन डिपो तयार नहुँदा ट्यांकरले पुरानो विमानस्थलबाट इन्धन ओसार्नुपर्छ ।

तपाईको प्रतिक्रिया