मुस्ताङका सडकमा सुरक्षा उपकरण

जोमसोम ।
मुस्ताङका कालोपत्रे सडकमा सुरक्षा उपकरण जडान गरिएको छ । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले मुस्ताङ थासाङ गाउँपालिका—४ कैकुदेखि थासाङ गाउँपालिका—२ खन्तीसम्मको १६ किमी सडकमा सुरक्षा उपकरण जडान गरेको हो ।
राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले बेनी—जोमसोम ७४ किमी सडकको तेस्रो खण्डमा सडक सुरक्षाका लागि विभिन्न प्रकारका रोड सुरक्षा उपकरण जडान गरेको बताएको छ ।
आयोजनाले मुस्ताङको कैकुदेखि खन्तीसम्म आयोजनालाई हस्तान्तरण भइसकेको कालोपत्रे सडकलाई थप व्यवस्थित सडक सुरक्षा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले २८ थान कन्भेक्स ऐना, २ सय थान मेटल डेलिनेटर र २० थान सोलार डेलिनेटर जडान गरेको आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए ।
उनका अनुसार आयोजनाले २८ वटा टर्निङ कन्भेक्स ऐना जडान गर्नुपर्नेमा १८ वटा जडान भइसकेको र १० थान टर्निङ कन्भेक्स ऐना जडान गर्न बाँकी छ । यसैगरी कैकुदेखि खन्ती सडकको आवश्यक स्थानमा मेटल डेलिनेटर र सोलार डेलिनेटर जडान गर्ने कार्य पुरा भइसकेको आयोजना प्रमुख झाको भनाइ छ ।
आयोजना अन्र्तगत मुस्ताङको कालोपत्रे सडक सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन रोड सुरक्षा उपकरण जडान गरिएको हो । सडक सुरक्षा अन्तर्गत मुस्ताङ सडकको कालोपत्रे सडकमा दुर्घटना जोखिम कम गर्न २ सय थान मेटल डेलिनेटर जडान गरिएको हो । मुस्ताङको कैकुदेखि खन्तीसम्मको कालोपत्रे सडक अन्र्तगत प्रत्येक १०/१० मिटरको फेरोमा मेटल डेलिनेटर जडान गरिएको हो ।
हुस्सु लागेको अवस्थामा सवारी चालकले सडक अवस्था थाहा नपाउने र केही नदेख्ने भएकाले रातो, पहेलो र सेतो रङको मेटल डेलिनेटर स्टिकर जडान गरिएको हो । पुलहरुको एप्रोज सडक र सार्क टर्निङहरुमा सोलार डेलिनेटर लाइट जडान गरिएको आयोजनाले उल्लेख गरेको छ ।
कालोपत्रे सडकको सार्क टर्निङ मोडहरुमा सडक सुरक्षाका लागि रोड कन्भेक्स ऐना जडान भएका छन् । सार्क मोडहरुमा आउजाउ गर्ने सवारी साधनले टर्निङ गर्न लागेका सवारी साधनका चालकले वरपरको दृश्य थाहा पाउन कन्भेक्स मिरर उपयोगी हुने आयोजना प्रमुख झाको भनाई छ ।
मुस्ताङको कैकु —खन्ती सडकमा सडक सुरक्षा उपकरण जडान गरिएकाले सवारी दुर्घटनाको जोखिम कम हुने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेले उल्लेख गरे । पाण्डेले पछिल्लो समय मुस्ताङमा पर्यटन तथा सवारी साधन अकल्पनीय रुपमा वृद्धि भइरहेकाले आयोजना मार्फत जडान गरिएको सडक सुरक्षा उपकरण निकै उपयोगी सिद्ध हुने बताए ।
‘बेनी—जोमसोम—कोरला सडकमा पहिलोपल्ट मुस्ताङको कालोपत्रे सडकमा सडक सुरक्षा उपकरण जडान भएको छ, यस्तैले यात्रु र सवारी साधनलाई दुर्घटना जोखिमबाट सुरक्षा दिने निश्चित छ,’ पाण्डेयले भने, ‘अर्कोतर्फ सडक सुरक्षा उपकरणले साँझको समयमा सवारी साधनमा यात्रा गर्दा सडक सौन्दर्यता समेत निकै राम्रो देखिन्छ ।
उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्र्तगत उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको कोरलानाकासम्मको सडकमा पहिलो पटक थासाङ गाउँपालिका सडकमा सडक रोड सुरक्षा उपकरण जडान गरिएको हो । बेनी—जोमसोम ४ खण्डमध्ये कैकु —खन्ती तेुस्रो खण्ड २ वर्षअघि नै निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भएको थियो । बेनी—जोमसोम सडकको बाँकी ३ खण्ड अझै निर्माणाधीन अवस्थामा छन् ।









महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया