पाेखरामा धारिलो हतियार देखाई लुटपाट गर्ने ५ जना पक्राउ

समाधान संवाददाता २०८१ साउन २९ गते ११:५८

पोखरा ।

Advertisement

पाेखरामा धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ का देवन गुरुङ, आजित रुचाल भन्ने हितमान सार्की, तनहुँका अनिश भट्ट, नारायणप्रसाद विक र प्रशान्त मान्मा रहेका छन् ।


आइतबार दिउँसो लेकसाईडमा एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा १ वटा स्कुटर र १ वटा मोटरसाईकलमा आएका अपरिचित ब्यक्तिहरुले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखेर दुई तोला बराबरको सुनको सिक्री र नगद १२ हजार लुटपाट गरेका थिए ।

Advertisement

उनीहरु लेदरको कालो रङको ज्याकेट समेत लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुरुलाई पक्राउ गरेको हो ।

घटनामा प्रयोग भएको ग ८ प ६९२४ नं को डियो रातो रंगको स्कुटर र ग ११ प ९८२७ को मोटरसाइकलसहित पक्राउ गरी खानतलासी गर्दा उनीहरुको साथबाट सुनको सिक्री बिक्री गरी आएको एक लाख तीन हजार पाच सय बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त सुनको सिक्री किन्ने पोखरा महानगरपालिका ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका संचालक बिक र एसपि मान्मा ज्वेलर्सका संचालक प्रशान्त समेतलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया