सम्पादकीय—युवा दिवस अर्थात् औपचारिकता

समाधान संवाददाता २०८१ साउन २९ गते १२:०८

किशोरावस्था र वयस्क अवस्थाबीचको उमेर समूह नै युवा हो । यो जनसंख्याको सबैभन्दा सक्रिय र ऊर्जावान समूहसमेत हो । युवाको परिभाषा उमेरका आधारमा गर्ने चलन विश्वभर नै छ । राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले नेपालमा १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मान्ने गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा युवा जनसंख्या ४२ दशमलव ५६ प्रतिशत अर्थात एक करोड २४ लाख १२ हजार एक सय ७३ छ ।

Advertisement

१० वर्षको अन्तरालमा युवाको जनसंख्या २.२१ प्रतिशतले बढेको छ । जनसांख्यिक लाभका दृष्टिले यो महत्वपूर्ण आँकडा हो । यस्तो उमेर समूहले आफ्नो श्रम र सीप कति मुलुकमा उपयोग गर्न पाएको छ भन्ने विषयले देशको प्रगति र समृद्धि निर्धारण गर्छ । सरकारले युवालाई सीपयुक्त, सिर्जनशील र उद्यमीका रुपमा विकास गर्ने वातावरण बनाउनुपर्छ । विडम्बना नेपालमा त्यस्तो अवस्था छैन ।


सोमबार देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००० देखि विश्वभर युवा दिवस मनाउन थालिएको हो । नेपालले सन् २००४ देखि यो दिवस मनाउन थालेको हो । यो वर्ष दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँचमा अभिवृद्धि भन्ने नारा तोकिएको छ । दिवसले समुदायमा युवाको भूमिका बढाउन तथा समाजका आवश्यकता पूरा गर्नका लागि उनीहरुको योगदानलाई बढावा दिन सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ।

Advertisement

राज्यका नीति तथा व्यवहारले युवाको आवश्यकता सम्बोधन गर्न नसक्दा नेपालमा विदेशिने युवाको लाम बढ्दै गएको छ । नेपालबाट वर्षेनि साढे पाँच लाखभन्दा बढी युवा रोजगारीका लागि विदेसिने गरेका छन् । जबसम्म यो समूहलाई बाहिर पलायन हुनबाट जबसम्म रोक्न सकिँदैन, तबसम्म मुलुकले गति लिन सक्दैन । आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन् । उनीहरूलाई उचित शिक्षा दीक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृिद्धमा सरिक गराउनु अनिवार्य छ ।


२०६५ सालमा सरकारले युवा तथा खेलकुद मन्त्रालय नै स्थापना गरेको थियो । मन्त्रालय स्थापनासँगै राष्ट्रिय युवा नीति तर्जुमा गरी युवा विकास र परिचालनका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आए । २०७२ मा राष्ट्रिय युवा परिषद् स्थापना भएको छ । अहिले परिषद्का शाखाहरु देशका सबै जिल्लामा पुगेका छन् । पालिकादेखि संघ सरकारसम्म युवा लक्षित कार्यक्रम त समावेश भएकै छन् तर युवाको विदेश पलायन रोकिएको छैन ।

रोकिन त परै जाओस्, कमसमेत भएको छैन । विदेसिन बाध्य युवालाई स्वरोजगार, उद्यमी र सरकारी सेवामा लगाउने वातावरण बनाउनु जरुरी छ । सोमबार युवा दिवसमा देशैभर कार्यक्रम त भएका छन् तर ती कार्यक्रमले युवामा उत्साह भर्न सकेका छैनन् । औपचारिकतामा सीमित दिवसबाट माथि उठेर कार्यान्वयनमुखी योजना निर्माण र प्रभावकारी कार्यान्वयन जरुरी छ ।

तपाईको प्रतिक्रिया