दर्के झरीले बढी क्षति

पोखरा ।
मनसुन सुरु भएसँगै असार २७ गते यो वर्ष कास्कीको लुम्लेमा सबैभन्दा बढी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । असार २७ मा लुम्लेमा १७९.९ मिलिलिटर वर्षा मापन भएर यो वर्ष हालसम्मकै उच्च रेकर्ड बनाएको जल तथा मौसम विज्ञान पोखराका वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।
त्यो बेला २४ घन्टामा मापन भएको पानी गण्डकीका अधिकांश स्थानमा यसपालिको मनसुनकै अधिकतम् मापन अंकको भएको उनले सुनाए । लुम्लेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मापन केन्द्रले १५७.२ मिलिलिटर वर्षा रेकर्ड गरेको छ । स्याङ्जामा १७९ मिलिलिटर, गोरखामा १३२, दमौलीमा १२६, खुदी बजारमा ११२.१, खुदीमा १११.४, हुम्डेमा ३४.९ र जोमसोममा ३०.३ मिलिलिटर वर्षा मापन भएको थियो ।
यद्यपि ऐतिहासिक तथ्यांक केलाउँदा पोखराको लुम्लेमा परेको पानीको मात्रा धेरै माथि छ । स्न २००१ अगस्ट १८ तारिखका दिन पोखरामा ३ सय ५७ मिलिलिटर वर्षा रेकर्ड भएको थियो ।
पोखरा विमानस्थलमा सन् २०१७ जुन ९ तारिखमा ३ सय ८३ मिलिलिटर पानी परेको मापन भएको थियो । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार यस वर्ष पनि एक्कासि वर्षा हुने क्रम बढेकाले बाढी, पहिरोको घटना बढिरहेको छ ।
‘मनसुनकै कुरा गर्दा पानी पर्ने दिनहरु घट्ने क्रममै छ । तर, एक्कासि ठूलो पानी पर्ने क्रम बढेको देखिएको छ,’ उनले भनिन्, ‘त्योसँगै खडेरी पनि बढिरहेको छ । एकै पटकै ठूलो वर्षा हुने, वर्षा नहुँदा खडेरीको स्थिति देखिन्छ ।’ लामो समयको खडेरीपश्चात एक्कासि वर्षा हुँदा पहिरो बढ्ने उनको भनाइ छ । नेपालमा यो वर्ष औसतभन्दा धेरै पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसपालि कास्की र बागलुङमा समान १४ जनाले पहिरोबाटै ज्यान गुमाएका छन्
गण्डकीमा ५५ जनाको मृत्यु
मनसुन सुरु भएसँगै बाढी, पहिरोका कारण ज्यान गुमाउनेको संख्या उल्लेखनीय छ । अझ गण्डकी प्रदेशमा पहिरोबाट ज्यान जानेहरुको संख्या बढी छ । असार १२ गतदेखि हालसम्म गण्डकी प्रदेशमा बाढी, पहिरोमा परेर ५५ जनाले ज्यान गुमाएका छन् । अधिकांशको पहिरोमै परी ज्यान गएको हो ।
असार २७ गते राति पोखरा ३२ चैनपुरमा पहिरोले घर पुरिँदा ३ बालबालिकाको ज्यान गयो । राति निदाएका बेला आरती ओझाको घर पहिरोमा पुरिँदा ३ बालबालिको मृत्यु भएको हो ।
त्यसको २ दिनअघि असार २५ मा पोखरा २७ सहेलापाटामा पहिरोले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाको ज्यान गयो । पानी परेका बेला घरभित्रै रहेका उनले पहिरो आएको चालै पाएनन् । असार २७ को राति सवा १० बजेतिर पोखरा १९ पुरुन्चौरस्थित तल्लाकोट ठाँटीमा घर पछाडिबाट पहिरो खस्दा एकै घरभित्रका ६ सहित ७ जना पुरिएर मृत्यु भयो ।
तल्लाकोटमा मोटर बाटोमाथि ४६ वर्षीय कुलबहादुर परियारको ढुंगा र माटोको गारो र टिनको छानो भएको २ कोठे कच्ची घर थियो । लगातारको झरीले अघिल्लो दिन नै सानो पहिरो घर माथिको बारीसम्म आएर थुप्रिएको थियो ।
बागलुङको बडिगाड गाउँपालिका १० आरुपाटा (दर्लिङ) मा गत मंगलबार भीषण वर्षासँगै पहिरो खसेर बबण्डर मच्चायो । आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले १० जनाको ज्यान लियो । एक बालक अझै बेपत्ता छन् ।
बुर्तिबाङ बजार हिँडेकासँगै पहिरोले घर जोखिममा परेपछि सुरक्षित ठानेर आश्रय लिएका छिमेकीहरु समेत रहेनन् । पहिरोमा पुरिएर १२ जना घाइते भए । गम्भीर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । त्यही दिन बडीगाड गाउँपालिका ९ नयाँबस्तीमा पहिरोमा परेर एक बालकको ज्यान गयो ।
उर्लेको खहरे खोलाले बगाएर त्यही वडामा एक जनाको मृत्यु भयो । यसरी एकै दिन पहिरोमा परी बाग्लुङको बडिगाडमा १२ जनाले ज्यान गुमाए । दर्लिङ र नयाँ बस्तीका ५० घर पहिरोले विस्थापित भएका छन् ।
गण्डकी प्रदेशमा ज्यान गुमाउनेमध्ये धेरैजसोको कारण पहिरो नै हो । यद्यपि गण्डकी प्रदेशमा बाढीमा परेर केही बालबालिकाको पनि मृत्यु भएको छ । ज्यान गुमाउनेमा सबैभन्दा धेरै बागलुङ र कास्की छन् । कास्की र बागलुङमा १४÷१४ जनाले पहिरोबाटै ज्यान गुमाए ।
स्याङ्जाका ७, गोरखा र लमजुङका ५/५, तनहुँका ४, पर्वत, म्याग्दी र नवलपुरका २/२ जनाले पहिरोमा पी ज्यान गुमाएका हुन् । गण्डकी प्रदेश प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बाग्लुङ, तनहुँ र नवलपुरमा १/१ जना बेपत्ता भएका छन् । ३९ जना घाइते रहेको उनले बताए ।
पहिरोमै परेर गण्डकीका ५९ घर बस्नै नमिल्ने गरेर पूर्ण रुपमा क्षति भएका छन् । ५४ घरमा आंशिक क्षति पुगेको छ । प्रहरीको तथ्यांक अनुसार २ सय ४४ घर पहिरोको जोखिममा परेका छन् ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया