स्कुल स्कुलमै नाटक

पोखरा ।
शिक्षण सिकाइमा नाटकीय विधि निकै प्रभावकारी हुन्छ । त्यसमाथि पाठ्यक्रमकै विषयवस्तु स्कुलमै मञ्चन हुँदा विद्यार्थीले मनोरञ्जनसँगै शिक्षा पनि पाउँछन् । कास्कीको पोखरा थियटरले अहिले स्कुल स्कुलमा नाटक मञ्चन गरिरहेको छ ।
साहित्यकार हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’लाई पोखरा थियटरका संस्थापक परिवर्तनले नाट्य रुपान्तरणसहित निर्देशन गरेका छन् । २०७६ साउनबाट थियटरले कास्की, नवलपुर, पर्वत र लमजुङमा गरी दुई सयभन्दा बढी सो यसलाई मञ्चन गरिसकेको छ । बुधबारदेखि शुक्रबारसम्म लमजुङका विभिन्न विद्यालयमा एक चिहान मञ्चन गरिँदै छ ।
निर्देशक परिवर्तन भन्छन्, ‘लमजुङपछि तनहुँको दुलेगौंडामा भदौ २७ देखि २९ गतेसम्म देखाउँदै छौँ । विद्यार्थी, शिक्षक र नाटकप्रेमीको प्रतिक्रियाले उत्साहित छौँ ।’ नाटकमा प्रमिला तुलाचन, जनक पराजुली, रोशनी रामदाम‚ धनकाजी श्रेष्ठ, रमेशबाबु तिमिल्सिना, परिवर्तन, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, एलिसा भोग, दिप्सना विश्वकर्मा, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, अजय जिसी‚ रोहित पौडेल, रुबीना मगर, प्रतीक घिमिरे लगायतको अभिनय छ ।
नेपाली शिक्षक कृष्ण उदासी नाट्य विधि शिक्षण सिकाईका लागि निकै प्रभावकारी हुने धारणा राख्छन् । स्थापित नाटककार/निर्देशकसमेत रहेका उदासी स्कुल स्कुलमा नाटक मञ्चनका अनेक सकारात्मक पक्ष भएको औंल्याउँछन् ।
‘नाटक मनोरञ्जनमात्र होइन, समाजलाई प्रभावकारी रुपले चित्रण गर्ने माध्यम पनि हो भन्ने यसले नयाँ पुस्तालाई सिकाउँछ,’ उनी भन्छन्, ‘सँगसँगै विद्यार्थीले पाठ्यक्रमकै सामग्री रंगमञ्चमा हेर्न पाउँदा सिकाइ दीर्घकालीन हुन्छ भने नाट्य क्षेत्रले नयाँ कलाकार पाउने र आर्थिक रुपमा सबल हुने बाटो पनि भेट्टाउँछ ।’
उदासीकै भनाइ पोखरा थियटरमा पनि लागु भएको छ । तर, नाटक मञ्चनको उद्देश्य भने व्यापारिकभन्दा शैक्षिक र संस्कृतिक संरक्षण हुनुपर्नेमा उनको जोड छ। २०७४ मा नाटक घर निर्माण गरी सञ्चालन गरिरहेको समूहले विद्यार्थी, शिक्षकसहित अरु वाङ्मयप्रेमीसम्म नाटक लैजान यो उपाय अवलम्बन गरेको निर्देशक परिवर्तनले सुनाए । पोखरा थियटरले अहिलेसम्म ५ पटक विद्यालय नाटक महोत्सव आयोजना गरिसकेको छ ।
एक चिहानमा नाटकीय तत्व प्रबल भएकाले त्यसलाई मञ्चनका लागि छानिएको हो । नाट्य रुपान्तरणकर्ता परिवर्तन अहिलेसम्म यो नाटक पोखरा थियटरले ४० हजारभन्दा बढी दर्शकलाई देखाइसकेको दाबी गर्छन् । डेढ घन्टाको एक चिहान २००७ सालको आन्दोलन सफल भएपछि पनि समाज जकडिएर रहेको विसङ्गतिमा आधारित छ । परिवर्तन भन्छन्, ‘कथावस्तु नमर्ने गरी नाट्य रुपान्तरण गरेका छौँ । मुख्य पात्र/चरित्र, समाज र मूल सन्देश कमजोर नहोस् भन्ने विज्ञ, दर्शकहरुको प्रतिक्रिया बमोजिम परिमार्जनसमेत गरिरहेका छौँ ।’
थियटरको अभिनय कक्षाबाट करिब एक सय कलाकार बनेका छन् । तीमध्ये केही निरन्तर अभिनयमा पनि छन् । पछिल्लो समय यो क्षेत्रका स्कुलहरुले अभिनय कक्षा राख्न थालेका छन् भने विशेष बुकिङ नै गरी विद्यार्थीलाई नाटक हेर्न ल्याउन थालेका छन् । ‘एक चिहान’ कक्षा १२ को अनिवार्य नेपालीमा राखिएको छ ।
तपाईको प्रतिक्रिया