चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’

गलकोट ।
सुन्तला र आलुको मूल्य दोब्बर बनाउने उद्देश्यले स्थापना गरिएका यहाँका ३ चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानले गुनासो गरेका छन् । ३ वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टनसम्मका ३ वटा चिस्यान केन्द्र निर्माण भएका थिए ।
ती चिस्यान केन्द्रले किसानलाई फाइदाभन्दा बढी घाटा पु¥याएपछि बन्द हुने अवस्थामा पुगेका हुन् । बागलुङ नगरपालिका ८ सिगाना र काठेखोला गाउँपालिका ६ बिहुँमा सुन्तलाका लागि र काठेखोला गाउँपालिका ३ धम्जामा आलु भण्डारणका लागि निर्माण गरिएका चिस्यान केन्द्र अहिले बन्द हुने अवस्थामा पुगेका छन् । प्राविधिक ज्ञान बिना सञ्चालनमा ल्याइएका चिस्यान केन्द्रबाट किसानलाई राहतभन्दा बढी नोक्सानी भएको सुन्तला किसान रामबहादुर खड्काले गुनासो गरे ।
सुन्तला र आलुलाई चिस्यान केन्द्रमा राखेर महँगो मूल्यमा बजार पठाउने तयारी गरेका किसानलाई अहिले तीन चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ । ३ वर्षअघि गण्डकी प्रदेशको २१ लाख र गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडको १० लाख लागत गरी ३१ लाखमा बागलुङ ८ सिगानामा निर्माण गरिएका चिस्यान केन्द्र अहिले सञ्चालनमा आउन सकेका छैनन् ।
सुन्तलालाई बेमौसममा महँगो मूल्यमा बजार पठाउने उद्देश्यले निर्माण गरिएको थियो । सहकारीमा आबद्ध किसानले हालसम्म २ लाख विद्युत् महसुलमात्रै तिरेका गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहेका किसान खड्काले सुनाए । पहिलो वर्ष राखिएका सुन्तलामा एक महिनामा ढुसी पलाएपछि राख्न छाडिएको थियो ।
चिस्यान केन्द्र सञ्चालनमा नल्याउँदा पनि मासिक ३ हजार विद्युत् महसुल तिनुपर्ने अवस्था रहेको बताउँदै खड्काले महसुल तिर्न नसकेपछि किसानले विद्युत् कटौती गर्न बाध्य भएका जानकारी दिए । ‘किसानलाई प्राविधिक ज्ञान भएन, राज्यले गरेको लगानीमा सहकारीमार्फत किसानले लगानी गरेका थिए ।
प्राविधिक ज्ञान बिना सञ्चालनमा ल्याइएका चिस्यान केन्द्र बन्द हुँदै, किसानलाई उल्टै नोक्सान
अहिले लगानी खेर जाने अवस्था आएको छ, विद्युत् महसुल तिर्दै केन्द्र सञ्चालन गरिराख्न आर्थिक अभाव भएपछि विद्युत्को मिटर निकालियो’, अध्यक्ष खड्काले भने, ‘किसानलाई नाफा होला भनेर स्थापान गरेको केन्द्रबाट नोक्सानीमात्र भयो । अहिले किसानले सुन्तला राख्नै मान्दैनन्, हामीलाई प्राविधिक रूपमा तापक्रम मिलाउन सिकाइएको छैन । यसरी बिना योजना र ज्ञान चिस्यान केन्द्र राख्ने काम सरकारले बन्द गर्नुपर्छ ।’
चिस्यान केन्द्रमा ३ महिना सुन्तला राखेर बजारमा पठाउँदा फाइदा हुने भन्दै केन्द्रमा लगानी गरेका किसान अहिले निरास बनेका छन् । २० टन क्षमताको केन्द्रमा राखिएका सुन्तलामा ढुसी पलाएको भन्दै किसानलाई नोक्सानी हुने देखिएपछि २० वर्षयता केन्द्र बन्द छ । केन्द्रको हालै विद्युत् काटिएको छ ।
काठेखोला गाउँपालिका ६ बिहुँमा निर्माण गरिएको ३० टन क्षमताको सुन्तला चिस्यान केन्द्र अहिले बन्द छ । पहिलो वर्ष सुन्तला राखे पनि राखिएका सुन्तलामा ढुसी देखिएको र विद्युत महसुल तिर्न नसक्दा गत वर्षदेखि केन्द्रमा किसानले सुन्तला नराखेका बिहुँकोट साना किसान सहकारीका अध्यक्ष भुवानीशंकर कँडेलले जानकारी दिए । उनले चिस्यान केन्द्र निर्माणमा ७ लाखको जग्गा खरिद गरी तारबार गरेको बताउँदै ५० लाखबढी लगानी डुब्ने अवस्थामा पुगेको जानकारी बताए ।
‘पहिलो वर्ष सुन्तला राखियो, किसान उत्साहित थिए । विद्युत्को महसुल मात्रै ३० हजारभन्दा बढी उठ्यो, सुन्तलामा ढुसी लाग्न थालेपछि गत वर्षदेखि सुन्तला राख्न छोडेका छौँ । अहिले सहकारीले मासिक ३ हजार विद्युत् महसुल तिर्दै आएको छ’, कँडेलले भने, ‘किसानले जोखिम लिन नसक्ने भएपछि सुन्तला राख्नै मुस्किल भयो, अहिले यहाँका स्थानीयलाई विद्युत्को रकम तिर्नेगरी जिम्मा दिन थालिएको छ, यसरी योजनाबिना सञ्चालित केन्द्रले किसानलाई ऋणमा डुबाउने काम भएको छ ।’
अध्यक्ष कँडेलले नाफाभन्दा किसानलाई नोक्सान दिने चिस्यान केन्द्र आवश्यक नभएको बताउँदै राज्यको साथै किसानको लगानी र मेहनत खेर गएको उल्लेख गरे । चिस्यान केन्द्र बागलुङमा मात्रै नभई अन्य स्थानमा पनि सफल नभएको अध्ययन अवलोकनका क्रममा पाएको जनाए ।
काठेखोला गाउँपालिका ३ धम्जामा गण्डकी प्रदेश सरकाले ३ वर्षअघि स्थापना गरेको आलु चिस्यान केन्द्रले आलुको बीउलाई सहज भए पनि विद्युत्को महसुल तिर्न किसानलाई सास्ती भइरहेको स्थानीय गोपाल श्रीसले जनाए । १ वर्ष विद्युत् महसुल काठेखोला गाउँपालिकाले तिरे पनि दुई वर्षदेखि सहकारीले महसुल तिर्दै आएका छन् ।
आलु राख्दा मासिक ४० हजारसम्म विद्युत्को रकम तिर्नुपर्ने भन्दै किसानले केन्द्रमा आलु दाबी गरे । पछिल्लो समय किसाने चिस्यान केन्द्रमा आलुको बीउमात्रै भण्डारण गर्न थालेका छन् । खाने आलु बिग्रिएपछि बीउका लागि भण्डारण गरिएको बताउँदै परिमाण कम भएकाले विद्युत् महसुल तिर्न समस्या भएको विकले सुनाए ।
जिल्लामा रहेका ३ वटै चिस्यान केन्द्रमा आलु र सुन्तला भण्डारण गर्दा सुरक्षित नभएको, विद्युत्को रकम बढी भएको लगायत अवस्था आएको किसानले गुनासो गरेका छन् । रासस









महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया