बालिका चीन लैजान विवाहको नाटक

सञ्जय रानाभाट २०८१ साउन ३२ गते १०:२३

सञ्जय रानाभाट, पोखरा ।
चीनमा चल्तीको सामाजिक सञ्जाल हो वी च्याट । यसैमार्फत चिनियाँ नागरिक जिमिङ चेन र पोखराका २ युवतीको चिनाजानी भएको थियो । केही महिनाअघि चेन पर्यटक भिसा लिएर नेपाल भित्रिए । काठमाडौं अवतरणपछि सीधै पोखरा आए । अनि चिनाजानका ती २ युवती सरु विक र भगवती अधिकारीसँग भेटघाट गरे ।

Advertisement


चेनले आफूलाई विवाह गर्न नेपाली युवती खोजी दिन सरु र भगवतीसँग आग्रहमात्रै गरेनन्, त्यसबापत २/२ लाख रुपैयाँ दिने प्रलोभन देखाए । अनि, सरु र भगवतीले खोज्न थाले चिनियाँ युवालाई नेपाली केटी । घर चीन, धनसम्पति भएको, देख्दै खाइलाग्दो, सुन पैसा जति पनि भएको चिनियाँ युवालाई केटी चाहिएको भन्दै भगवती र सरुले चिनेजानेका आफन्तहरुलाई सुनाउन थाले ।


खोज्दै जाँदा उनीहरु माछापुच्छ्रे गाउँपालिकाको एउटा परिवारमा पुगे । त्यो परिवारकी बालिकाको ती चिनियाँसँग बिहे गराइदिन उनीहरुले प्रलोभन देखाए । उनीहरुले भने, ‘तिमी दुख पाउने केटी हाैं, हामीहरुले चिनियाँ नागरिकलाई चिनेका छाैं, तिमी ऊसँग विवाह गर, सुख पाउँछौं, तिम्रो भविष्य बन्छ ।’ छोरीलाई विवाह गरेपछि चीन लैजाने, पैसा भएको, धेरै सुन लाइदिने महँगो फोन किनिदिन सक्ने भन्दै भगवती र सरुले ती बालिकाकी आमालाई फकाए ।


विद्यालय छोडेर बसेकी ती १४ वर्षीया बालिकासँग चिनियाँ नागरिक चेनसँग भेटघाट र कुराकानी पनि गराए । ती चिनियाँले केटी मन पर्‍यो भने । अनि, साउन १३ गते पोखरा विन्ध्यवासिनी मन्दिरमा चिनियाँसँग बालिकाको विवाह भयो । चिनियाँले बालिकालाई सुनका गरगहनाले सजादिए । केही पैसा पनि हातमा राखिदिए । विवाहमा भगवती र सरुसहित बालिकाकी आमासमेत सहभागी भए । त्यसदिन ती बालिका र जिमिङ चेनको विवाहमा ४/५ जना आफन्तसमेत सहभागी भए । विवाह भोजसमेत खाए ।

विवाह गरेर होटल पुर्‍याएर अनौठो हर्कत गर्न थालेपछि बालिका भागेकी थिइन्

Advertisement


मन्दिरबाट छुटेपछि जिमिङ चेनले बालिकालाई बेलुका होटल पुर्‍याए । झमक्क साँझ परिसकेको थियो, चेनले अनौठो कुरा गर्न थाले । ती बालिकालाई उनको हर्कत मन परेन । अनावश्यक टर्चर दिन थाले । चीन गएपछि तिमीलाई पैसा दिन्छु भनेर अनौठो व्यवहार देखाएपछि बालिका त्यस रात भागिन् । काठमाडौंतिर केही दिन बसिन् । त्यही चिनियाँले पछ्याउला र भेटाउला कि भनेर डराउँदै केही दिन काठमाडौंमै बसेपछि मात्रै परिवारको सम्पर्कमा आइन् । अनि पोखरा आएर साउन २९ गते प्रहरी कार्यालय पुगिन् । चिनियाँविरद्ध उजुरी गरिन् ।


१४ वर्षीय बालिकालाई विवाह गरेर बन्धक बनाउन खोजेको आरोपमा प्रहरीले ती चिनियाँसहित सरु र भगवतीलाई पनि पक्रेको छ । साउन २९ गते चिनियाँ नागरिकसहित २ नेपाली महिला पक्राउ परेका हुन् । प्रहरीले लमजुङ घर भई पोखरा महानगरपालिका १६ बस्ने २२ वर्षीया सरु विक, पोखरा २२ बस्ने ३४ वर्षीया भगवती अधिकारी र ३१ वर्षीय चिनियाँ नागरिक जिमिङ चेनलाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धान गर्दै जाँदा चिनियाँ नागरिक जिमिङ चेनले नेपाली बालिकालाई प्रलोभनमा पारेर बेचविखन गर्न लागेको खुलेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार उनको विगतको ट्र्याक रेकर्डसमेत प्रहरीले खोजिरहेको छ । ‘घटनाको प्रकृति हेर्दा त्यो मानव बेचबिखन हो । अर्को जोसँग विवाह गरे । त्यो बाल विवाह पनि भयो । तर, मुख्य त मानव बेचबिखन गर्ने उद्देश्यका साथ नै ती चिनियाँले विवाह गरेको देखिन्छ,’ एसपी थापाले भने ।


पक्राउ परेका २ नेपाली महिलासँग मिलेर ती चिनियाँले विगतमा पनि यसरी नै नेपाली बालिका र महिलाहरु चीन पुर्‍याएको हुन सक्ने प्रहरीको आशंका छ । चीन पुर्‍याएर नेपाली चेलीहरुलाई बेच्न खोजेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।


विक र अधिकारीले आर्थिक लाभ लिई ती बालिकासँग विवाह गराइदिएको प्रहरीसँग स्वीकारेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले विभिन्न प्रलोभन दिई चिनियाँ नागरिकबाट पैसा लिएर विवाह गराएको शर्माले जानकारी दिए ।

बन्दी बनाइएकी बालिका होटलबाट भागेर अभिभावकको सम्पर्कमा आएपछि बालिका स्वयंले उजुरी दिएको उनले जनाए । पक्राउ परेका ३ जनालाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा प्रहरीले जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया