राष्ट्रिय परिचयपत्र लिन झिसमिसेमै लाइनमा

पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा राष्ट्रिय परिचयपत्रका लागि मात्रै ४ डेस्क छन् । हरेक डेस्कले ४० वटा कुपन दिन्छन् र फोटो खिचाउँछन् । तर बिहानै प्रशासन पुग्दा पनि पालो आउन भने घन्टौं लाग्छ । दिनहुँ घुइँचो यति ठूलो हुन्छ कि कुपन पाउनै मुस्किल छ । कास्की बाहिरकाले त झन् फोटो खिच्न पाउने अवस्था छैन ।
सेवाग्राहीको चाप बढेपछि इलाका प्रशासन कार्यालय लेखनाथ, पोखरा महानगरका ३ वडा वडा नम्बर १, १३ र १७ मा पनि राष्ट्रिय परिचयपत्र बनाउने डेस्क राखिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कास्कीका नयाँ ८ वटा डेस्क थपिएको जानकारी दिए । ‘डेस्क थपिए पनि भीड कम भएको छैन । जिल्लाका नसकी बाहिरी जिल्लाकाको फोटो खिच्ने अवस्था छैन,’ उनले भने ।
धेरैथरी सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्यजस्तै भइसकेको छ । त्यसैले नै अचेल जिल्ला प्रशासन कार्यालय कास्की छिर्नेबित्तिकै लामो लाइन देखिन्छ । जस्तै झरी परोस् वा टन्टालापुरे घाम लागोस्, घुइँचो उत्तिकै हुन्छ । सार्वजनिक बिदाबाहेक दिन बिहान झिसमिसेबाट नागरिकहरू लाइन बस्न सुरु गर्छन् ।
कास्कीजस्तै देशैभरका जिल्ला प्रशासन र इलाका प्रशासनमा अहिले राष्ट्रिय परिचयपत्र बनाउनेको लाइन छ । पोखरा महानगरपालिका वडा नम्बर २३ की ७० वर्षीया देउमाया नेपाली मंगलबारसहित प्रशासन आएको पाँच दिन भइसक्यो । ‘दिनदिनै आएको पाँच दिन भो, आज भने टोकन दिएका छन् । पालो आउँछ होला,’ उनले भनिन् ।
राष्ट्रिय परिचयपत्रका लागि प्रशासन पुग्नेमा धेरैजसो वृद्धवृद्धा र सामाजिक सुरक्षा भक्ता पाउनेहरु छन् । लाममा भेटिएकी खरिका पराजुलीले बिहान दूध लिएर आउने गाडीमा आएर लाइनमा बसेको सुनाइन् । आफू एकल महिला भएको खुलाउँदै उनले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउन आउँदा निकै सास्ती झेल्नुपरेको बताइन् ।
कास्कीमा गत वर्ष ३३ हजार ४ सय ६५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका थिए । अहिलेसम्म कास्कीमा ४३ हजार राष्ट्रिय परिचयपत्र आएकोमा करिब ६ हजार वितरण भएका छन् । परिचयपत्र लिने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने, फेरि बायोमेट्रिक दिनुपर्ने प्रावधानले तयार प्रमाणपत्र लिनसमेत कठिन भएको सेवाग्राहीको गुनासो छ ।
फोटो खिचीसक्न २ वर्ष लाग्ने
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले परिचयपत्रका लागि तस्बिर खिचिसक्न अझै २ वर्ष लाग्ने जनाएको छ । विभागका व्यवस्थापन शाखाका निर्देशक मुकेशकुमार केशरीले मंगलबारसम्म १ करोड ५३ लाख नेपालीको विवरण संकलन भइसकेको जानकारी दिए ।
परिचयपत्र बनाउन योग्य अब २० देखि २२ लाख नागरिक रहेको उनले जनाए । निर्देशक केशरीले भने, ‘राष्ट्रिय परिचयपत्र त अब नियमित प्रक्रिया नै बन्छ । परिचयपत्र लिन उमेर पुगेका नागरिकमध्ये ९० प्रतिशत जतिको विवरण संकलन भएको छ । बाँकीको विवरण संकलन गर्न २ वर्ष लाग्ने हाम्रो अनुमान छ ।’
अहिलेसम्म ४५ लाख परिचयपत्र छापिइसकेका छन् । तीमध्ये १० लाखभन्दा बढी वितरण गरिसकेको विभागले जनाएको छ । देशका ७४ जिल्लाका जिल्ला प्रशासन, इलाका प्रशासन र स्थानीय तहबाट विवरण संकलन भइरहेको छ । विभागका निर्देशक केशरीले डोल्पा, मुगु र हुम्लामा भौगोलिक विकटताले जिल्ला प्रशासनबाट मात्रै काम भइरहेको जानकारी दिए ।
जनतालाई दिने सेवा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट दिन यसको अवधारणा ल्याइएको हो । सरकारले पहिलो चरणमा देशका २८ जिल्लामा सामाजिक सुरक्षा, पेन्सन र स्वास्थ्य बिमाबाट सुविधा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरिसकेको छ । दोस्रो चरणमा आगामी माघ १ गतेबाट ३८ जिल्लामा र तेस्रो चरणमा ०८२ साउनदेखि बाँकी ११ जिल्लामा परिचयपत्र लागू गर्ने तयारी छ ।
तपाईको प्रतिक्रिया