दिलसराः संघर्षशील महिलाको कथा

पोखरा ।
सबै समुदायले विगतदेखि नै आफ्ना कला, भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज र रहनसहनलाई संरक्षण र उजागर गर्न विभिन्न तवरबाट प्रयास गर्दै आएका छन् । यसै क्रममा मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भदौ ३ गतेदेखि पोखरामा औपचारिक रुपमा प्रदर्शन हुँदै छ ।
चलचित्रले मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै समुदायभित्र भएका विकृति, विसंगतिहरु केलाएर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिने निर्माण पक्षको दाबी छ । चलचित्र मुख्यतः मगर समुदायको संस्कृतिमा आधारित भए पनि कथावस्तुमा भने देशमा महिलाले संघर्ष गर्नुपर्ने बाध्यात्मक सामाजिक परिवेश र सफलताको ऐनाको रुपमा चित्रण गर्ने प्रयत्न गरिएको निर्माता तथा जुना थापामगरले बताइन् ।
“देशको अधिकांश हिस्सा हामी आदिवासी जनजाति समुदायले ओगटेका छौँ, बाहुल्य भएको समुदायमध्येको मगर समुदाय हो । हामीले मान्दै आएका सुन्दर सांस्कृतिक पक्षहरु छन्, जसले हामीलाई पहिचान दिएका छौं’, थापामगरले भनिन्, ‘यी हाम्रा सांस्कृतिक पहिचानहरू समय परिवेश अनुसार भोलिका पुस्ताले कसरी अनुशरण गर्छन्, यो निकै चुनौतीको विषय छ ।’
यसलाई जीवित राख्न दस्तावेजका रुपमा ‘दिलसरा’ निर्माण गरिएको उनी बताउँछिन् । त्यसो थापामगर निकै लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्ध रही मगर समुदायका गतिविधिलाई सञ्चार माध्यममार्फत सर्वसाधारणसम्म पुर्याउँदै आएकी छन् । ‘छोटा कथा र स्क्रिप्ट लेखन पहिलेदेखि गर्दै आएको भएता पनि चलचित्रकै लागि भनेर मेरो यो पहिलो लेखन हो, कैयन पटक लेखेको स्क्रिप्ट च्यातेर पुनःलेखन गरियो,’ उनले थपिन् ।
चलचित्र निर्देशक अशोक आलेमगरले ‘दिलसरा’मार्फत अन्धविश्वासी मूल्य, मान्यताले व्यक्ति, परिवार र समाजमा पारेको असर र यसबाट कसरी बच्न सकिन्छ भन्ने पक्षलाई जोडतोडले प्रस्तुत गरिएको बताएका छन् । चलचित्रमा समाजमा महिलाको संघर्ष र सफलतालाई चित्रण गरिएको उनले सुनाए ।
‘मैले यस अगाडि पनि केही मगर चलचित्रमा अभिनय गरेको छु, कुनै चलचित्र निर्देशन पनि गरेको छु, मलाई लाग्छ दिलसरा चलचित्रले मेरो आगामी यात्रामा थप सहयोग पुग्नेछ,’ उनी आशावादी सुनिए । निर्मलपोखरी र आसपासका पर्यटकीय स्थलमा छायांकन गरिएको चलचित्रले समाजको यथार्थ परिवेशमात्रै उजागर गरेको छैन, यहाँको पर्यटन प्रवर्धनमा पनि सघाउने अर्का चलचित्र निर्माता हर्क आलेमगरको विश्वास छ ।
साढे २ घन्टाको चलचित्रले सो अवधिभर दर्शकलाई होल्ड गर्ने दाबी गरिएको छ । चलचित्रमा मुख्य भूमिकामा कल्याण रानामगरलाई देख्न सकिन्छ । विभिन्न म्युजिक भिडियो र ‘भरोसा युवा’ नामक टेलिसिरियलमा दमदार अभिनय प्रस्तुत गरिसकेका रानामगर चलचित्रको पर्दामा भने पहिलो पटक देखिँदै छन् ।
‘मेनेको फिल्म्स् एन्ड मिडिया हाउस’ को ब्यानरमा निर्मित चलचित्रमा रानामगरसँगै सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगरसहित स्थानीय कलाकारले अभिनय गरेका छन् ।
प्रभावशाली मगर महिला २०८१ योजना
‘दिलसरा’ निर्माणपश्चात् यसको प्रवर्धनका लागि निर्माण टिमले गज्जबको कन्सेप्ट लिएको छ । त्यो हो – प्रभावशाली मगर महिलाको खोजी । चलचित्रले दिन खोजेको सन्देश र व्यवहारिक रुपमा सफल मगर समुदायका महिलाको पहिचान र प्रोत्साहनले आगामी दिनमा समुदायलाई सकारात्मक बाटोमा अगाडि बढ्न सघाउने अपेक्षा गरिएको छ ।
‘दिलसरा’ नारीप्रधान चलचित्र भएकोले ‘दिलसरा’ पात्रको प्रतिनिधित्व गर्ने महिला जो आफ्नो क्षेत्रमा संघर्षरत छन् र समाज र राष्ट्रलाई अग्रदिशातर्फ डोर्याउन अभिप्रेरित गर्न सक्छन् भन्ने देखाउन खोजिएको छ । त्यस्ता जुझारु महिला खोजी गरी समाज र राष्ट्रमा नै चिनाउने चलचित्र टिमको उद्देश्य रहेको चलचित्रका कार्यकारी निर्माता प्रेम थापामगरले बताए ।
चलचित्र जुन जिल्लामा प्रदर्शन हुन्छ सोही स्थानबाट शिक्षा, राजनीति, समाजसेवी, उद्योग व्यवसाय, स्वास्थ्य, साहित्य, खेलकुद, सञ्चार, भाषा कला तथा संस्कृति, कृषि, पर्यटन, सूचना प्रविधि, गीतसंगीत, कानुन तथा प्रशासन, सुरक्षा लगायत क्षेत्रमा रही समुदाय तथा मुलुकलाई टेवा पु¥याएका प्रभावशाली मगर महिलामध्येबाट खोजी गरिने खोजी अभियानका संयोजक तथा चलचित्रका कथा लेखक जुना थापामगरले बताइन् ।
‘प्रभावशाली मगर महिला–२०८१’ मा सहभागिता जनाउन चाहने महिलाले आफूले गरेका विभिन्न कामको विवरणसहित फारम भर्न सक्छन् । कस्कीबाट १९ जना यसमा सहभागी भएका छन् । ‘प्रभावशाली मगर महिला २०८१’ को अन्तिम परिणाम २०८२ साल वैशाखमा फाइनल गरिनेछ । छनोट प्रक्रिया लोकप्रियता र जज राउन्डको आधारमा हुनेछ । उत्कृष्ट महिलाका लागि उचित पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया