
पोखरा ।
लामाचौरमा एउटा उद्योग छ, ग्रीन भ्याली रिसाइकल्स । यसको काम फोहोर संकलन र प्रशोधन हो । पोखरा महानगर र सहकारी विभाग अन्तर्गत दर्ता यो संस्था ग्रीन भ्याली बहुद्देश्यीय सहकारीका सदस्यले खोलेका हुन् । रिसाइकल्सले दैनिक १ हजार किलो फोहोर संकलन गथ्र्याे । आम्दानी पनि राम्रो थियो । फोहोरको परिणाम बढ्दै जाँदा आम्दानी पनि बढ्ने कम्पनीको अनुमान थियो । तर सोचेजस्तो भएन । पोखरा महानगरले फोहोर दिन नचाहेपछि कम्पनी अलपत्र पर्ने अवस्था छ ।
महानगरलाई भने फोहोर व्यवस्थापन चुनौतीपूर्ण छ । महानगरले कवाडी तथा फोहोर व्यवस्थापन कम्पनीलाई अनुमति दिए उपभोक्ताबाट निशुल्क दिगो रुपमा फोहोर व्यवस्थापन गर्न सकिने सञ्चालक गोविन्द आचार्यले बताए । पोखरामा फोहोर व्यवस्थापनका चुनौती अत्यन्त गम्भीर रहेको बताउँदै उनले ग्रीन भ्याली जस्ता कम्पनीको आवश्यकता औंल्याए ।
फोहोरले पर्यटन राजधानीको सुन्दरता गिज्याउने गरेको छ । ‘हाम्रो वडाको फोहोर ल्यान्डफिल साइट जाँदैन । नकुहिने फोहोर हामी संकलन गर्छाैं, कुहिने फोहोर आफैंले खेतबारीमा प्रयोग गर्छन् । वडालाई फोहोरमुक्त बनाउने अभियान छ हाम्रो,’ उनले भने, ‘कागज/प्लास्टिक प्रतिकेजी ५ रुपैयाँ, टिन फलाम प्रतिकेजी ४० रुपैयाँ, कपडा ३ रुपैयाँ र तामा/पित्तल प्रतिकेजी ५/६ सय रुपैयाँमा संकलन गरिरहेका छौं ।’
हालसम्म ३ लाख केजी फोहोर स्रोतबाटै संकलन तथा प्रशोधन गरिएको आचार्यले जानकारी दिए । आर्थिक वर्ष २०७८/०७९ मा फोहोर बिक्री गरी २५ लाख ६३ हजार रुपैयाँ आम्दानी भएको थियो । १६ लाख १४ हजार रुपैयाँको फोहोर खरिद गरिएको थियो । जसमा नाफा ९ लाख ४९ हजार थियो ।

गत वर्ष आम्दानी बढेर कम्पनीले ११ लाख ९५ हजार रुपैयाँ नाफा कमायो । जसमा ३६ लाख ५२ हजार ४ सय २४ रुपैयाँ आम्दानी भएको थियो भने फोहोर खरिद २४ लाख ५७ हजार रुपैयाँको गरिएको थियो ।स्थानीय तहमा कवाडी फोहोरका लागि कर अत्यन्तै उच्च रहेको आचार्यको गुनासो छ । फोहोर व्यवस्थापनमा आर्थिक चुनौती झेल्नुपरेको उनले सुनाए । स्थानीय सरकारबाट वार्षिक २/४ लाख रुपैयाँ बजेट प्राप्त हुने उनले उनको भनाइ छ ।
‘संकलन खर्च र कवाडी कर ज्यादा हुँदा नाफा गर्न सकिएको छैन । १ किलोमा ६ रुपैँया कर लाग्छ । अहिले फोहोर सामग्रीबाट कृषि औजार निर्माण केन्द्र सञ्चालन गरेका छौं । फोहोरमैलालाई साइकलमा जोड दिएका छौं । महानगरले न कहिल्यै जस दियो न त सहयोग नै । फोहोर व्यवस्थापन सम्बन्धमा सहभागिताबाट समेत बञ्चित गरेको छ,’ आचार्यले भने ।
महानगरले फोहोर व्यवस्थापनको समस्या प्रभावकारी योजना बनाई सुल्झाउनुपर्ने उनको माग छ । ल्यान्डफिल साइट निमार्ण, नियमित फोहोर संकलन तालिका, कम कर दर, फोहोर वर्गीकरणको अभ्यास र फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई प्रवद्र्धन र सहयोग गरेमा फोहोर व्यवस्थापन राम्रो हुने ठम्याइ छ ।
‘पोखरामा दैनिक २ सय टन फोहोर उत्पादन हुन्छ, जसमा ७० प्रतिशत जैविक र ३० प्रतिशत अजैविक छ । महानगरका ठेकेदारले नगन्य मात्रामा फोहोर पुन प्रशोधन गरेको छ । नियमित फोहोर संकलन पनि हुँदैन,’ उनी भन्छन्, ‘उपभोक्ताले कुहिने फोहोरलाई मल बनाउने, नकुहिने फोहोरलाई पुन प्रयोग गरेमा खर्च कम हुने साथै पर्यावरण संरक्षणमा टेवा पुग्नेछ ।’
महानगरले न फोहोर उठाउन दिएको न प्रशोधित फोहोर ल्यान्डफिल साइटमा फाल्न दिएको उनले गुनासो गरे । ठेकेदारलाई निशुल्क ल्यान्डफिल साइट उपलब्ध गराएको तर आफूले जग्गाको मासिक ९० हजार भाडा तिरेर फोहोर संकलन गरिरहेको आचार्यको भनाइ छ ।

फोहोर उठाएबापत सेवाग्राहीबाट लिएको शुल्कको लगभग २० प्रतिशत १ करोड ९५ लाख रुपैयाँ महानगरलाई कम्पनीले बुझाएका छन् । २०७९ फागुनमा साढे ३ वर्षका लागि सम्झौता भएको थियो । मलमूत्र फोहोर सम्झौता गत वर्ष असारमा भएको थियो । सम्झौता अनुसार कम्पनीले २ वर्षमा २ करोड रुपैयाँ महानगरलाई बुझाउनेछन् । हस्पिटलजन्य फोहोरबाट वार्षिक १२ लाख रुपैयाँ बुझाउने सम्झौता गरिएको छ ।
सित्तैमा फोहोर उठाउने प्रतिवद्धता गरेका कम्पनीलाई नदिई महानगरले ६ वर्षबाट बिना टेन्डर निजी कम्पनीलाई जिम्मा दिएको छ
पोखरामा २०७८ को जनगणना अनुसार १ ला ४० हजार ४ सय ५९ घरधुरी छन् । उनीहरुले फोहोर व्यवस्थापनको लागि कम्तीमा मासिक २ सय रुपैँया तिर्छन् । यसबाट लगभग ३ करोड रुपैयाँ हुन आउँछ । यो रकम फोहोर व्यवस्थापनका लागि पोखरावासीले तिर्नुपर्ने मासिक रकम हो । फोहोर व्यवस्थापनका लागि शुल्क उठाए पनि उचित व्यवस्थापन भने हुन सकेको छैन । महानगरले १४ नम्बर वडामा फोहोर विर्सजन गर्दै आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि करिब २ किमीको ल्यान्डफिल साइट उडान सुरु गर्नुअभि पोखरा ३२ आहालमा स्थानान्तरण गरिएको थियो ।
पोखरा ३३ मा आधुनिक फोहोरमैला प्रशोधन केन्द्र बनाउने तथा अस्थायी ल्यान्डफिल साइट सुधारका लागि प्रयास गर्ने मेयरको घोषणा कार्यान्वयन हुन सकेको छैन । आर्थिक वर्ष २०८०/०८१ मा महानगरले फोहोर व्यस्थापनका १ करोड १७ लाख बजेट छुट्टाएको थियो । लामेआहालमा फोहोर व्यवस्थापन गर्न १८ महिनाका लागि सम्झौता भएको छ । जसको अहिले म्याद सकिएको छ तर नयाँ ल्यान्डफिल साइट निर्माण भएको छैन । महानगरका सरसफाइ शाखाका कर्मचारी हर्क गायकले जग्गाको संरक्षण पनि हुने फोहोर व्यवस्थापन हुने भएकाले लामेआहालमा ल्यान्डफिल साइट बनाइएको बताए ।
कम्पनीहरूले फोहोरको मात्रा हेरी आपसी सहमतिमा शुल्क निर्धारण गर्ने उनको भनाइ छ । नियामक निकाय नहुँदा निजी कम्पनीले फोहोर संकलनको शुल्क कति लिन्छन्, तिर्नेलाई मात्र थाहा हुने विषय बनेको देखिन्छ । चाँडै आधुनिक ल्यान्डफिल साइट टुंगो नलागेमा अहिले प्रयोगमा भइरहेको ल्यान्डफिल साइट ४/५ रोपनी जग्गामात्र भएकाले फोहोर व्यवस्थापनमा ठूलो समस्या आउन सक्छ । ‘संघ, संस्था, सरकारी कार्यालयको शुल्क मोलमोलाइ पनि हुन्छ । मोलमोलाइ खास गरी ठूला व्यवसायीसँग हुन्छ, जसले ठूलो परिमाणमा फोहोर उत्पादन गर्छन्,’ गायकले भने, ‘होटल, अस्पताल, उद्योग, शिक्षण संस्था, निजी संघ, संस्था तथा व्यापारिक प्रतिष्ठानहरूबाट उठाउने शुल्क कम्पनीपिच्छे फरक देखिन्छ ।’
सार्वजनिक निजी साझेदारी अवधारणामा फोहोर व्यवस्थापन गर्न महानगरले अहिले ६ निजी कम्पनीलाई जिम्मा दिएको छ । प्रगति संसार नेपाल, पोखरा फोहोरमैला व्यवस्थापन, नेपाल पब्लिक हेल्थ एन्ड एनभारोमेन्ट फर डेभलोपमेन्ट, भद्रकाली वेस्ट म्यानेजमेन्ट, वातावरणीय सुन्दर नेपाल र वेस्ट म्यानेजमेन्ट रिसाइक्लिङ प्रालिले फोहोरको जिम्मा पाएका छन् ।

महानगरभित्र फोहोर संकलन गर्ने संस्थाले डेढ लाख ग्राहकबाट २ सय रुपैयाँको दरले मासिक ३ करोड रुपैयाँ हाराहारी शुल्क उठाएको देखिन्छ । महानगरले स्रोत, साधन दिएर फोहोर उठाएबापत ती कम्पनीलाई उल्टै पैसा दिँदै आएको छ । २०६१ देखि पोखरामा फोहोर व्यवस्थापनका लागि ठेक्का दिइएको हो । फोहोर व्यवस्थापनको बोलपत्र आह्वान भएको छैन । बरु बर्सेनि ठेक्काको म्याद थपिँदै आएको छ ।
ल्यान्डफिल साइट र सहरी सरसफाइका लागि ३८ जनालाई महानगरले तलब दिएर राखेको छ । ५० निजी स्रोतबाट गरी ८० भन्दा बढी कर्मचारी यसमा कार्यरत छन् । महानगरले फोहोर व्यवस्थापनकै लागि बर्सेनि ७ करोडभन्दा बढी खर्च गर्छ । महानगर फोहोर र कवाडीबाट दैनिक लाखौं आम्दानी गर्न चुकेको छ । फोहोर व्यवस्थापनमा कमाइ हुने भए पनि जोखिमयुक्त भएको वातावरण सुन्दर नेपालका सञ्चालक विष्णुकुमार पुनले बताए । मुख्य बजार क्षेत्रमा बिहान र साँझ २ पटक फोहोर संकलन गरिने उनको भनाइ । सुन्दर नेपालले वडा नम्बर ३, ४, ८ र ९ मा फोहोर संकलन गर्छ ।
फोहोर संकलन जोखिमयुक्त भएको दाबी गर्दै उनी फोहोर मैलालाई कुहिने र नकुहिने गरी वर्गीकरण गरी ठाउँ ठाउँमा डस्टबिन राख्नुपर्ने उनको माग छ । ‘साँझमा फोहोर उठाउँछौ । राति बाटोमा ल्याएर फोहोर फाल्छन् । पैसा उठाउन जाँदा व्यवसायीले पसल बन्द गर्छन् । सडकमै फोहोर थुपार्दा पानी परेर फोहोर बगाएर सडकभरि फिजार्छ,’ उनी भन्छन्, ‘सरकारबाट मारमा परेका छौं, उपभोक्ताबाट पनि मारमा परेका छौं ।’
महानगरलाई १३ प्रतिशत कर र ठेक्काबापतको कर तिर्ने गरेको उनले जानकारी दिए । ‘फोहोरमा पैसा त छ, तर कामको मूल्यांकन छैन । सरकारलाई हामी करबापत करोडौं तिर्छौं, तर अझै अवैध झैं ठान्छन्,’ उनले भने ‘फोहोर प्रशोधित पनि हुँदैन हाम्रो काम फोहोर संकलन गर्नेमात्र हो, महानगरले त्यो फोहोर के गर्छ थाह छैन । सम्बन्धित निकाय पर्ख र हेरको अवस्थामा छन् ।’
…

व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरै, तनहुँ
फोहर फाल्ने ठाउँको अभावमा अहिले नगरपालिकाले कार्यालय परिसरभित्रै फोहर व्यवस्थापन गरिरहेका छौं । व्यास–३ भतेरीमा फोहर विसर्जन गरिरहेका थियौं । असार मसान्तबाट म्याद सकिएर स्थानीयले अवरोध गरेपछि नगरपालिकाले नकुहिने फोहर उठाउन सकेको थिएन । कुहिने फोहर व्यास–१० दुम्सीमा मल उत्पादनमा प्रयोग गर्ने गरिएको छ ।
नगरपालिकाले फोहरलाई सानो आकारमा राख्ने कम्प्रेशन मेसिन खरिद गर्ने र सरसफाइका पाँच गाडीमा जिपिएस जडान गर्ने प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरिसकेको छ ।
कुहिने नकुहिने फोहर संकलनलाई स्रोतबाटै वर्गीकरण गरिएकामा नकुहिने पुनः प्रयोगमा आउने सामग्री व्यवस्थापन गर्ने जग्गा खरिद प्रक्रिया चलिरहेकाले सोको टुंगो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म नगरपालिका कार्यालय प्रांगणभित्रै फोहर व्यवस्थापन गरेका छौं ।
नगरपालिकामा फोहरमैला व्यवस्थापन सधैंको समस्या बन्ने गरेको छ । फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले सधैं समस्या भोग्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर संकलन हुन्छ ।

स्कुलबाटै फोहोर व्यवस्थापन सिकाउनुपर्छ
कृषि, जैविक विविधता तथा वातावरणी विज्ञ, डा अनिल सुवेदी
फोहोर र वातावरणी प्रदुषणको विषय दिनप्रतिदिन जटिल बन्दै गएको छ । फोहोरले वातावरणमा गहिरो असर पारेको छ । यसको प्रभाव मानव र जिवजन्तुको जीवनमा प्रत्यक्ष परेको छ । फोहोरबाट उत्सर्जन हुने दूषित हावा र रासायनिक प्रदूषणले मानव स्वास्थ्यलाई अत्यधिक मात्रामा खतरामा पारेको छ ।
घरबाट निस्किने फोहोरलाई घरमै व्यवस्थापन गर्न सकेमा फोहोरमा कमि आउँछ । कुहिने फोहोरलाई मल बनाउन प्रयोग गर्न सकिन्छ । गमला, कौसी खेति गरेर फोहोरको मात्रा घटाउन सकिन्छ । नकुहिने फोहोर पुनः प्रयोग गर्न सकिन्छ ।
विदेशमा फोहोरबाट विद्युत उत्पादन गरिएका छन् तर पोखराको सन्दर्भमा त्यो सम्भव छैन । ७०/८० प्रतिशत फोहोर अजैविक हुन्छन् । यसबाट ग्यास उत्पन्न हुँदैन ।
नागरिकमा फोहोर सम्बन्धि सचेतना अभिवृद्धि गर्न आवश्यक छ । जथाभावी फोहोर गर्न हुँदैन भन्ने सबैलाई थाह हुन जरुरी छ । विद्यालयमा फोहोर व्यवस्थापन अभियान सञ्चालन गर्नुपर्छ । प्लाष्टिकका सामग्री प्रयोग गर्न पूर्ण प्रतिवन्ध लगाउनुपर्छ ।
प्लास्टिक आफैँमा नकुहिने फोहोर भएको हुनाले यसको असर माटोको उर्वरा शक्तिमा पर्ने त रहन्छ नै, त्योभन्दा पनि गम्भीर प्रभाव सम्बन्धित जमिनको इकोसिस्टम समाप्त हुन पुग्छ । कम्तीमा नागरिकको तहबाट सचेतनासहितको आवाज उठ्न सक्यो भने नियन्त्रणको अभियानका निश्चित रूपमा योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।
फोहोर बाल्दा वातावरण प्रदुषित हुनुका साथै स्वास्थ्यमा घातक असर गर्छ । प्लास्टिक बाल्दा डायोक्सिन, कार्बोफोरस ग्यास निस्किन्छ । कार्बन मोनोअक्साइड, पार्टिकुलेट्स भनिने कणयुक्त हानिकारक ग्यास निस्कन्छ ।

विदेशका यसरी भइरहेको छ फोहोर व्यवस्थापन
स्वीडेनमा ९९ प्रतिशत फोहोर पुनः प्रयोग
स्वीडेनले फोहोर व्यवस्थापन र रिसाइकल गर्ने सन्दर्भमा एक बेन्चमार्क सेट गरेको छ । स्वीडेनमा लगभग ९९ प्रतिशत फोहोर पुनः प्रयोग गरिन्छ र १ प्रतिशत मात्र ल्यान्डफिलहरूमा फाल्ने गरेका छन् । एक स्वीडिस वातावरण संरक्षण संस्थाका अनुसार स्वीडेनले प्रत्येक वर्ष लाखौँ टन फोहोर अन्य देशबाट आयात समेत गर्छ यसमा सबैभन्दा ठूलो हिस्सा नर्वे र बेलायतको रहेको छ ।
स्वीडेनले हरेक वर्ष उत्पादन गर्ने ४.४ मिलियन टन घरेलु फोहोरमध्ये २२ लाखलाई वेस्ट–टू–एनर्जी नामक प्रक्रियाबाट ऊर्जामा परिणत गरिन्छ । फोहोरका प्रकृति हेरेर ऊर्जा, पुन प्रयोग र ल्यान्डफिलमा पुर्याइन्छ ।
फोहोर व्यवस्थापनमा जर्मनी विश्वकै उत्कृष्ट
युरोपको हब मानिने जर्मनीको फोहोर व्यवस्थापन पनि विश्वकै उत्कृष्टमध्ये एक हो । जर्मनीमा पनि त्यहाँका नागरिकले घरबाटै फोहोर छुट्याउछन् । जर्मनीमा प्लास्टिक तथा सिसाका बोतलमा केही युरोसमेत पाइने व्यवस्था छ । यसरी संकलन गरिएका प्लास्टिक तथा सिसाका बोतलहरू पुन प्रयोग गरिन्छ । जर्मनी विश्वमै सबैभन्दा धेरै यस्ता सामाग्रीहरूको पुन प्रयोग गर्ने देशसमेत हो ।
त्यस्तै त्यहाँ कुहिने र नकुहिने फोहोर छुट्याएर राखिएका फोहोर त्यहाँको फोहोर व्यवस्थापन गर्ने संस्थाले लैजान्छ र जसलाई मेसिनद्वारा पुनः प्रयोग सामाग्री तथा सडक संरचना बनाउन प्रयोग गरिने सामाग्रीहरू समेत बनाइन्छ ।
टर्कीमा विद्युत उत्पादन
टर्कीमा फोहोर व्यवस्थापन पनि निकै उत्कृष्ट रूपमा गरिएको छ । अधिकांश प्लास्टिक र सिसाको सामानहरू पुन प्रयोग गरिन्छ । युरोपमा सिसा र प्लास्टिकको बोत्तल पुन प्रयोग गर्नको लागि युरोपियन युनियनले बोत्तल र सिसा जम्मा गर्दा निश्चित युरोसमेत दिने गरेको छ ।
यसले गर्दा यस्ता सिसा र प्लास्टिकको बोतलहरू पुन प्रयोगमा जान्छ । यस्ता फोहोरको मात्रा हेरेर १ सय मेगावाटसम्म विद्युत उत्पादन गर्ने गरेको छ । टर्कीले डम्पिङ साइटमा फाल्ने फोहोरको मात्रा २ प्रतिशत हुने गरेको छ जुन निकै कम हो ।


प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया