सम्पादकीय—पर्यटक भेषका अपराधी

नेपालको समृद्धिको आधार भनेको पर्यटन हो भनिन्छ । जतिसक्दो धेरै पर्यटक भिœयाउने प्रयत्न सरकारले गर्दै आएको पनि छ । घोषणा गरेको लक्ष्य अनुसार पर्यटक भने आएका छैनन्, कताकति वर्षबाहेक । धेरै पर्यटक ल्याउनेमा ध्यान भइरहँदा सोच्नुपर्ने कुराचाहिँ गुणस्तरीय पर्यटकको विषय हो । पर्यटकका रुपमा आएका कतिपय पाहुनाले गैरकानुनी हर्कत गरेका छन् । हालै पोखरामा एक १४ वर्षीया बालिकालाई बिहे गरेर चीन लैजान लागेका चिनियाँ पर्यटक पक्राउ पगरे ।
जिमिङ चेन नाम गरेका ती पर्यटकको उद्देश्य नेपाली किशोरीको मानव बेचबिखन गर्ने देखिएको प्रहरी बताउँछ । यस्तै हर्कत अरु चिनियाँ पर्यटकले यसअघि मुलुकका अरु भागमा गरेका थिए । ललाइफकाइ चीन लैजाने र त्यहाँ देहव्यापार लगायत अवैध काममा लदाउने मक्सद चिनियाँहरुले राखेको उदाहरण छन् । त्यसका लागि उनीहरुले बिहेको नाटक गर्छन् । सोझासादा नेपाली किशोरी र महिलालाई धनसम्पत्तिको लोभ देखाउने, सुखको आशा देखाउने तर चीन लगेर बिक्री नै गरिदिने गरेका छन् ।
त्यसो त चिनियाँ पर्यटकले एटिएम फोरेर पैसा चोरेका थिए, काठमाडौंमा । सुन तस्करी लगायत काण्डमा पनि चिनियाँको संलग्नता डरलाग्दो छ । पर्यटकका रुपमा आएका चिनियाँमा मात्रै होइन धेरै देशका नागरिकमा त्यस्तै गैरकानुनी उद्देश्य रहेको देखिन्छ । पश्चिमा देशका पर्यटक पनि बालयौन शोषण र दुरुपयोगमा कैयौंको संख्यामा अहिले पनि नेपाली कारागारमा छन् ।
चाल्र्स शोभराज जस्ता कुख्यात अपराधी पनि महिलाहरुको यौनशोषण र हत्यासम्ममा संलग्न थिए नेपालमै । उनी पनि पर्यटककै रुपमा आएका व्यक्ति थिए । तसर्थ पर्यटक धेरै भित्रयाउने नाममा जोकसैलाई तुरुन्तातुरुन्तै प्रवेशाज्ञा दिने नीतिबारे पनि सोच्नुपर्छ । त्यस्तो फितलो आगमन सुविधा दिँदा अपराधीहरु पनि सजिलै भित्रन सक्दा रहेछन् भन्ने मनन गर्न जरुरी छ ।
झन् गाउँगाउँमा होमस्टे सुविधा विस्तार गरिएको बेला, पर्यटकका अनेक रुप हुन्छन् है भन्ने सचेतना गाउँगाउँ पुर्याउन जरुरी छ । पर्यटकका भेषमा साँच्चीकै पर्यटकमात्रै आउँदैनन्, अपराधी पनि आउँछन् भन्ने सन्देश फैलाउनुपर्ने खाँचो छ । होइन भने गाउँका सोझासादा नेपालीलाई जोकसैले पनि सजिलै फँसाउन सक्छ, जसरी कास्कीको माछापुच्छ्रेकी बालिका चिनियाँसँग बिहे गर्ने भनेर फसिन् ।
तपाईको प्रतिक्रिया