पोखराका १७ मासु पसलमा महानगरको अनुगमन, २३५ किलो माछामासु नष्ट, साढे २ लाख जरिवाना
पोखरा । पोखरा महानगरपालिकाले आइतबारदेखि बजार अनुगमन सुरु गरेको छ । बजारमा मूल्यबृद्धि, मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुजन्य तथा खाद्यय सामग्री बिक्री वितरण भइरहेको जनगुनासो आएपछि अनुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुनासो आएपछि पहिलो चरणमा माछा र मासुमा अनुगमन सुरु गरिएको हो ।
महानगरका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्व टोलीले पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासु पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कुहिएर खाना योग्य नभएको २ सय १९ केजी माछा र खसीको मासु १५ केजी गरी २ सय ३४ केजी जफत र उनीहरुलाई जरिवाना गरिएको छ । जफत गरिएको माछा र मासु भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पिटमा डिस्पोज गरिएको पोखरा महानगर बजार अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए । अनुगमनका क्रममा कुहिएको माछा फेला परेपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित गराई जरिवाना गरिएको छ ।
१७ वटा मध्ये १० वटा माछा पसललाई ५० हजारदेखि १५ हजारसम्म गरिवाना गरिएको छ । जरिवानाबाट २ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन समेत भएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।
अनुगमनका क्रममा पोखरा महानगरपालिका वडा नम्वर ९ बसपार्कमा संचालन रहेको लालचन फिस सप्लायर्सबाट १ सय केजी, पोखरा ९ बसपार्कमा रहेको माछाको होसल गर्ने राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरी दुवैलाई ५०/५० हजार जरिवाना गरिएको छ ।
त्यस्तै पोखरा ८ सिर्जनाचोकमा रहेको सद्धाम फ्रेस हाउसबाट खान योग्य नभएको ८ केजी माछा र खसीको मासु, जस्मिन फ्रेस हाउसबाट ७ केजी खसिको मासु जफत गरिएको छ । ती दुवै पसललाई ३०/३० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै अनुगमन टोलीले पोखरा ८ श्री कम्प्लेक्समा सञ्चालनमा रहेको न्यु रमेश फिस हाउसबाट १३ किलो ३ सय ग्राम सडेको माछा भेटिएको र उक्त माछा जफत गरी २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
त्यस्तै न्यु सुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्र लगायत ५ वटा पसललाई १५ हजारका दरले जरिवाना गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । अनुगमनमा पसल नवीकरण नभएको, सरफाइ नभएको, सिसा, जाली नलगाई बाहिर बेच्ने गरेको, डि फ्रिज नभएको, माछा पसल सञ्चालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको, पसल दुर्गन्धित देखिएकाले जरिवाना गरिएको र आइन्दा यस्तो भेटिएमा पसल बन्द गराउने चेतावनी सहित छाडिएको छ ।
माछा तथा मासु बिक्री गर्ने अन्य ७ वटा पसललाई मूल्यसूची राख्न, पसल सरसफाई गर्न, पसल दर्ता गरी मापदण्ड अनुसार संचालन गर्न सुझाव दिँदै पुन दोश्रो पटक पनि अटेर कारबाही गर्ने सर्तमा छोडिएको छ ।
पोखरा महानगरपालिकामा गुुनासो र नेपालीहरुका चाडपर्वहरु पनि सुरुवात भएकाले बजार अनुगमन सुरुवात गरिएको महानगरका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन् । विगतमा भएका अनुगमनले बजारमा केही सुधार देखिएको भएपनि सोचे जस्तो नदेखिएको बताउदै अव नियमित अनुगमन गरिने उनले बताइन् ।
उपप्रमुख गुुरुङले अनुगमनका क्रममा दिइएको सुुझावलाई कार्यान्वयन नगर्ने र फेरी गलत भेटिएमा जरिवाना सहित अन्य कानुनी कारबाही गरीने बताइन् । उनले उपभोक्ताहरु स्वयम सचेत बन्नुपर्ने र महानगरले सचेतनामुलक कार्यक्रम गर्ने बताइन् ।
चाडपर्वमा मात्रै अनुगमन गर्ने भन्ने आरोप लाग्ने गरेकाले यस वर्ष अगाडिनै अनुगमन थालिएको उपप्रमुख गुरुङको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्यालले माछा पसल दर्दनाक देखिएको, उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने देखिएको र उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कारबाही गरिएको बताए । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(घ) को कसुरमा दफा ३९ बमोजिम कारबाही गरिएको छ ।
अनुगमनमा महानगरका उपप्रमुख एवं अनुगमन समिति संयोजक मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष रुद्रनाथ बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्याल, महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया,भेटेनरी हस्पिटल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डे, पोखरा महानगरपालिका बजार अनुगमन समितिका सदस्यसचिव अनिल कार्की, पशु चिकित्सक डा अनन्त कोइराला, महानगर पशुुसेवा शाखा प्रमुख आशिष विक, पशुु शाखा अधिकृत नवराज अधिकारी, कास्की जिल्ला उपभोक्ता हकहित संरक्षण समितिका अध्यक्ष राजेन्द्र लिगल, उपभोक्ता हकहित संरक्षण समितिका सचिव कमल पौडेल, खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरिक्षक सविना सुनार, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा, सहकारी शाखा कर्मचारी राजु सुवेदी, पत्रकारहरु रिखिराम जिसी, विनु मगर, विजय नेपाल, एकराज गिरीको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया