सम्पादकीय—विदेश उडान चाँडै थाल

समाधान संवाददाता २०८१ भदौ ५ गते ११:५८

नेपाल सरकारले सन् २०२३ जनवरी १ (पुस १७)देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक हिसाबले सञ्चालन गर्‍यो । व्यवसायिक हिसाबले विमानस्थल सञ्चालन भएको डेड वर्ष पुरा भएको छ । आन्तरिक उडानमा सिमित विमानस्थलबाट केही अन्तर्राष्ट्रिय चार्टर उडान भएको छ । नेपालले छिमिकी देशसँग समन्वय गर्न नसक्दा पोखराबाट नियमित तथा व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

Advertisement


त्यतिमात्र नभएर नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनका लागि अगाडि बढाइएको कार्ययोजना पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अड्किदा समेत समस्या भएको थियो । त्यस्तो समस्यालाई हल गर्दै संघीय सरकारले राष्ट्रिय गौरवको आयोजना मध्ये पोखरा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।


गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । जसमा पोखरा विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत छ । सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउन लागेको छ । गौतम बुद्ध र पोखरा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीतिअनुरुप हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्य योजना बनाइएको छ ।


गत साउन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दुई विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्ने बारेको उच्च स्तरीय छलफलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नु पर्छ । निर्माण भएको लामो समयसम्म अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको छ । काठमाडौँ विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।


नेपालको बुद्ध एयर, बंगलादेशको वायु सेवा कम्पनी एयर अष्ट्रा, जजिरा, थाई स्माइल, कतार, फ्लाई दुबई लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीहरूले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न चासो देखाएका छन् । नेपाल सरकारले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि कुटनीतिक रुपमा पहल नगर्दा सबै प्रक्रिया रोकिएको थियो ।

Advertisement


विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि नेपाल सरकारबाट हवाई कम्पनीहरूले अनुमति पाउनु पर्छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न नेपालले कूटनीतिक पहल थाल्नु पर्छ । पोखराबाट भारत र चीनको शहरसँग हवाई सम्पर्क कायम गर्नको लागि रुट अनुमति लिनु पर्छ । पोखरा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको अवस्थामा सरकारले भारत र चीनबाट हवाई सम्पर्क कायम गर्न रुट अनुमति लिने सवालमा नेपालको तर्फबाट कुटनीतिक पहल थाल्न ढिलाई गर्नु हुन्न ।


विमान व्यवसायिक हिसाबले सञ्चालन भएको लामो समय अवधिसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा राज्यका निकायमा दबाबमा छन् । त्यसैले नेपालले हवाई कम्पनीलाई अनुमति दिनुका साथै कुटनीतिक पहल गरेर पोखराबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउनु पर्छ ।

तपाईको प्रतिक्रिया