
जोमसोम ।
मुस्ताङको घरपझोङ ४ जोमसोमका पर्यटन व्यवसायी आन्दोलित भएका छन् । गाउँपालिकाले व्यवसायीसँग संकलन गर्ने वार्षिक राजस्व वैज्ञानिक नभएको, व्यवसायीसँग व्यवसाय दर्ता तथा नवीकरण गर्ने नाममा दोहोरो कर संकलन गरेको दाबी गर्दै उनीहरु आन्दोलित बनेका हुन् ।
संघीयता कार्यानवयन भएको ७ वर्ष पुग्दासमेत घरपझोङ गाउँपलिकाकाले व्यवसायीहलाई व्यवसाय दर्ता प्रमाणपत्र बिनै वार्षिक राजस्व संकलन गर्दै आएको छ । राज्यको कर उठाउँदा सम्बन्धित तहले व्यवसायको अभिलेखिकरण तथा व्यवसाय दर्ता प्रमाणपत्र उपलब्ध गराउनुपर्ने प्रावधान छ । तर, विगतका वर्षमा घरपझोङ गाउँपालिकाले व्यवसाय दर्ता बिनै व्यवसायीसँग कर संकलन गर्दै आएको थियो ।
घरपझोङले गत वर्षको असार मसान्तमा पालिकाभित्र सञ्चालनमा रहेका व्यवसायबाट व्यवसाय कर संंकलन गरेको थियो । उक्त कर पनि व्यवसायीको ठाँड सेक्ने गरी गाउँपालिकाले लिएको भन्दै जोमसोमका पर्यटन व्यवसायी आन्दोलित भएका हुन् । पर्यटन व्यवसायीले चर्को राजस्व संकलन गर्दागर्दै थप व्यवसाय दर्ताका नामका अर्को कर असुल्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
व्यवसायीले वार्षिक कर शुल्कलाई घटाएर वैज्ञानिक बनाइनुपर्ने र व्यवसाय दर्ता तथा नवीकरण शुल्क लिन नहुने माग राख्दै घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीलाई गाउँपालिकामै पुगेर लिखित निवेदन दिएका छन् । यसअघि जोमसोमका पर्यटन व्यवसायी व्यवसाय दर्ता तथा नवीकरणको बिषयमा बुझ्न जोमसोममा रहेको वडा कार्यालयमा डेलिगेसन गएका थिए ।
जोमसोममा ६ महिनामात्रै राम्ररी व्यवसाय चल्ने जिकिर गर्दै व्यवसायीले कर नलिन माग गरेका छन्
गाउँपालिका र वडाले संकलन गर्ने राजस्वले व्यवसायी मर्कामा परेको भन्दै उनीहरुले वडाध्यक्ष यामप्रसाद थकालीको ध्यानार्कषण गराएका थिए । वडाध्यक्ष थकालीले व्यवसाय दर्ता तथा नवीकरण गर्ने निर्णय भएको भए पनि पैसा उठाउने निर्णय आफूलाई थाहा नभएको व्यवसायीसमक्ष बताएका थिए ।
‘व्यवसाय दर्ता तथा नवीकरण गर्ने निर्णय भएको थाहा थियो, त्यसवापत राजस्व संकलन गर्ने भन्ने मलाई थाहा भएन,’ वडाध्यक्ष थकालीले भने, ‘एक पटक मलाई नसोधी व्यवसाय दर्ताका लागि किन पैसा तिर्नुभयो, यसबारे थप बुझन परे गाउँपालिका कार्यालयमै जानुहोस्, गाउँपालिकाले नै यो समस्या सुल्झाउला ।’
यता, चर्को राजस्व शुल्क र व्यवसाय दर्ता तथा नवीकरण शुल्क लिने प्रावधान खारेज गर्नुपर्ने माग राखेका पर्यटन व्यवसायीले गाउँपालिकासँग जवाफ माग गरेका थिए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमलाल शर्माले व्यवसाय दर्ता तथा नवीकरण शुल्क उठाउने निर्णय गाउँ कार्यपालिकाकै बैठकबाट भएको जानकारी दिए ।
‘कार्यपालिका बैठकमा व्यवसाय दर्ता तथा नवीकरणको बिषयमा निर्णय भएको थियो । पहिलो वर्ष दर्ता शुल्क २ सय र अतिरिक्त शुल्क ५ सय गरी ७ सय रुपैयाँ उठाउने निर्णय भएको हो,’ उनले भने, ‘दोस्रो वर्षपछि केवल नवीकरण शुल्कवापत २ सयमात्रै उठाउने कार्यपालिकाको निर्णय भएको छ । यो निर्णय गाउँसभा बैठकमै पनि जानकारी गराइएकाले सबै जनप्रतिनिधिलाई थाहा हुने नै भयो ।’
उपाध्यक्ष जमुन थकालीले पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्माकै भनाइ दोहोर्याउँदै उक्त निर्णय कार्यपालिका बैठकले गरेको बताइन् । थकालीले यस विषयमा आफू एक्लैले निर्णय गर्ने नसक्ने भएकाले चाँडै कार्यपालिकाको बैठक बसेर निर्णय लिइने सुनाइन् ।
पर्यटन व्यवसायीले कठिन भूगोलमा ६ महिनामात्रै राम्ररी व्यवसाय गर्न पाउने र ६ महिना ठप्प हुने भएकाले गाउँपालिकाको वार्षिक कर प्रणाली वैज्ञानिक तुल्याउन आवश्यक रहेको व्यसायी कुन्चाङ गुरुङले उल्लेख गरिन् । स्थानीय तहले लिने व्यवसाय कर चर्को भएको भन्दै जोमसोमका ६० जना पर्यटन व्यवसायी वडा कार्यालय र गाउँपालिका कार्यालयमा डेलिगेसन गएका थिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया