पोखरामा भदौ ८ गते शनिबार तायामाचा नृत्य प्रतियोगिता हुँदै

पोखरा ।
पोखरामा भोलि ( शनिबार) हुने ताया मचा नृत्य प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको अवसरमा गरिने नियमित कार्यक्रम तयामचा यसवर्ष नयाँबजार सांस्कृतिक समितिको आयोजनामा हुन लागेको हो ।
प्रतियोगितामा २८ वटा टोलीको सहभागिता रहने र ती सबै टोलीहरुलाई नाच प्रस्तुतिको समय निर्धारण गरेर बोलाइसकिएको समितिका अध्यक्ष योगेन्द्रमान बाटाजुले जानकारी दिए । प्रतियोगीता गण्डकी प्रदेश सङ्ग्रहालय रोड, शिव गणेश मार्गमा भोलि भदौ ८ गते शनिबार विहान ८ बजेबाट सुरु हुने छ ।
यसअघि गत साउन २५ गते सहभागी हुने टोलीहरुको प्रस्तुतिको समय गोलाप्रथाबाट निर्धारण गरिएको थियो। नेवा खलः कास्कीको आह्वान तथा नयाँबजार सास्कृतिक समितिको आयोजनामा हुने प्रतियोगिताको लागि पोखरा महानगरपालिका वडा नं. ९ को कार्यलयले सहयोग गरेको छ ।
प्रतियोगिताको विजेतालाई ३ लाख १ रुपैयाँ, द्वितीय हुनेलाई २ लाख १ रुपैयाँ, तृतीय हुनेलाई १ लाख १ रुपैयाँ र सान्त्वना हुनेलाई १) हजार १ रुपैयाँ प्रदान गरिने छ । त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताको मुख्य प्रायोजक सानुमान राजमान भाडा उद्योग नेपाल छ । सहसंयोजक एविस इन्जिनियरिङ कन्सल्टेन्सी रहेको संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए ।
करिब २५० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वको अवसरमा तायाः मचा नृत्य प्रतियोगिता गर्न लागिएको हो । परापूर्व कालदेखि प्रचलनमा रहेको तायाः मचा संस्कृतिको संरक्षण गर्नु, परम्परागत, मौलिक संस्कृतिको माध्यमबाट पर्यटनलाई आकर्षण गर्नुको साथै नयाँ पुस्ताहरुलाई यसको महत्व बुझाई यसको निरन्तरताको बोध गराउनु प्रतियोगिताको मूल उद्देश्य रहेको प्रचार प्रसार सयोंजक अनिशा श्रेष्ठले बताएकी छन् ।
तपाईको प्रतिक्रिया