हाजिरीजवाफ प्रतियोगितामा शीतलादेवी मावि प्रथम

पोखरा ।
शीतलादेवी माविले शुक्रबार आयोजना गरेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा आयोजक विद्यालय नै प्रथम भएको छ । प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलका विद्यार्थीको टोली दोस्रो भयो । कालिका नमुना मावि तेस्रो हुँदा बालबन्दिर मावि चौथो भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो भएका टोलीले क्रमशः ९ हजार, साढे ७ हजार, ६ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरको शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्णप्रसाद भण्डारीले नयाँ पाठ्यक्रम र विशिष्टीकरण तालिका बमोजिम शैक्षिक उपलब्धि हाँसिल गर्नसमेत प्रतियोगिताले सहयोग पुर्याएको उनले बताए । कार्यक्रमले शैक्षिक उपलब्धि बढाउन मद्दत पुग्ने विश्वास भण्डारीले व्यक्त गरे ।
विद्यालयका प्रअ बाबुराम अधिकारीले विद्यार्थीको सर्वाङ्गीण पक्षको विकासमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने विचार राखे । उनले मानसिक क्षमता विकासमा योगदान गर्दै त्यसलाई शैक्षिक उपलब्धिमा जोड्न सकिने भएकाले प्रतियोगिता आयोजना गरेको पनि सुनाए ।
प्रतियोगिता विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक अर्जुन भण्डारीको संयोजकत्वमा भएको थियो । प्रतियोगिताको क्विज मास्टर विद्यालयको विज्ञान संकाय प्रमुख दुर्गाप्रसाद सुवेदी थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक बोधराज गौतमले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया