हिमालय आँखा अस्पतालमा भदौ ११ र १२ गते ओपिडी टिकट निशुल्क

पोखरा । हिमालय आँखा अस्पतालले भदौ ११ र १२ गते बिरामीका लागि बहिरंग (ओपिडी) सेवाका लागि निशुल्क टिकट प्रदान गर्ने भएको छ । हिमालय आँखा अस्पतालको सहयोगी संस्था नेदरल्यान्डको आइ केयर फाउन्डेसनको ४० औं वार्षिकोत्सवको अवसर पारेर अस्पतालले टिकट निशुल्क गरेको हो ।
आइ केयर फाउन्डेसनको सहयोगमा नेपाल नेत्रज्योति संघले हिमालय आँखा सञ्चालनमा ल्याएको हो । तत्कालीन अवस्थामा गण्डकी, धवलागिरी र कर्णालीलाई लक्ष्य गरी पोखरामा हिमालय आँखा अस्पताल स्थापना भएको हो ।
आँखा उपचारमा अब्बल दरिएको हिमालय आँखा अस्पतालले पछिल्लो समयमा शैक्षिक कार्यक्रम समेत सञ्चालन गरेको छ । सिटिइभिटीसँगको सहकार्यमा ३ वर्षे डिप्लोमा इन अप्थाल्मिक साइन्स, पोखरा विश्वविद्यालयसँगको सहकार्यमा ४ वर्षे ब्याचलर अफ अप्टोमेट्रीको पढाइ हिमालय आँखा अध्ययन प्रतिष्ठानले गर्दै आएको छ । केही वर्षअघि नेपालमै पहिलोपटक २ वर्षे मास्टर्स अफ अप्टोमेट्रीको पढाइ हुँदै आएको अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठ बताउँछिन् । निकै सस्तो शुल्कमा पोखरामा पढाइ हुँदै आएको र पछिल्ला दिनमा विद्यार्थीहरुको रुचि पनि असाध्यै यसमा देखिएको उनले बताइन् ।
यसरी खुल्यो अस्पताल
नेदरल्यान्डबाट नेपाल घुम्न आएको अनिता सिमोन्स र लिन्ड्रेट पार्लेभ्लिटको जोडी जुम्ला पुग्यो । जुम्लाको गाउँमा पुग्दा त्यहाँका नागरिकमा आँखाको समस्या देखेपछि जोडी अवाक भयो । अब केही गर्नुपर्छ भनेर स्वदेश फर्केको जोडीले च्यारिटीबाट सुरुको वर्ष १० लाख डलर संकलन गर्यो । अनि सुरु भयो आइ केयर फाउन्डेसन नेदरल्यान्ड । त्यही फाउन्डेसनले नेपाल नेत्रज्योति संघसँग मिलेर पोखरामा हिमालय आँखा अस्पताल खोल्यो । त्यही अस्पताल अहिले गण्डकी र कर्णाली प्रदेशको ज्योति बनेको छ ।
नेपाल लगायत विश्वका १६ मुलुकमा आँखाको क्षेत्रमा सहयोग गर्दै आएको आई केयर फाउन्डेसन नेदरल्यान्डले ४० औं वार्षिकोत्सव मनाउँदै छ । फाउन्डेसनका संस्थापक लिन्ड्रेट पार्लेभ्लिटले हिमालय आँखा अस्पतालले गरेको प्रगति देखेर खुसी व्यक्त गर्ने गरेका छन् ।
अस्पतालले सुरुका ५ वर्ष कमाएको सबै रकम फाउन्डेसनले अस्पतालको कोषमा राखिदिएको छ । त्यसपछिका १० वर्ष १० प्रतिशत कटाएर कोषमा राखिदिएको डा. श्रेष्ठले बताइन् । त्यसपछि भने फाउन्डेसनले नेपाल नेत्रज्योति संघलाई उक्त अस्पताल पूरै हस्तान्तरण गरेको हो । चस्मा लगाउन नपर्ने गरी गरिने रेटिना सम्बन्धी अप्रेसन सुविधा तिलगंगा आँखा अस्पतालमा मात्रै छ । त्यसबाहेक सबै खालका उपकरण पोखरामै छन् ।
अस्पतालको आफ्नै प्रयास र दातृ संस्थाहरुको सहयोगले आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल रहेको दाबी नेपाल नेत्रज्योति संघ कास्की अध्यक्ष सुरेन्द्र थापामगर बताउँछन् ।
तपाईको प्रतिक्रिया