मुस्ताङमा स्याउ असोजअघि टिप्न नमिल्ने

सुन्दरकुमार थकाली २०८१ भदौ १० गते ११:१२

जोमसोम ।
असोजअगावै मुस्ताङको स्याउ टिप्न नपाइने भएको छ । जिल्ला समन्वय समिति मुस्ताङद्वारा आयोजित स्याउ टिप्ने मिति तय गर्ने बैठकमा यस्तो निर्णय लिइएको हो ।


जिल्ला समन्वय समिति प्रमुख माया गुरुङको अध्यक्षतामा जिल्लास्थित ५ वटै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, सम्बन्धित कार्यालयका प्रमुख एवंं प्रतिनिधि र मुस्ताङ जिल्लाका अगुवा स्याउ किसानको संयुक्त बैठकले मुस्ताङमा उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) जातका गाला र किङ रोट रेड डेलिसियस प्रजातिका स्याउबाहेक अन्य स्याउ असोजअघि टिप्न नपाइने निर्णय गरिएको हो ।


जिल्ला समन्वय समितिको अगुवाईमा भएको बैठकले गाला प्रजातिको स्याउ भदौ १० गतेदेखि, किङ रोट रेडडेलिसियस प्रजातिको स्याउ भदौ १५ गतेदेखि मात्रै टिप्न पाइने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ मुस्ताङका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टले जानकारी दिए ।

Advertisement


रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस, फुजी लगायतका स्याउ गुलियोपना तथा गुणस्तरलाई ध्यानमा राखेर असोज लागेपछि मात्रै टिप्न पाइने भएको हो । मुस्ताङमा केही वर्षयता स्याउको स्वाद तथा गुणस्तर कायम गर्नका लागि स्याउ टिप्नका लागि मिति तय गर्ने गरिन्छ ।


असोजअगावै स्याउ टिपेर बजार पु¥याउँदा मुस्ताङको स्याउको पहिचान गुम्ने भएकाले उपभोक्ताको माग अनुसार असोज सुरु भएपछि मात्रै स्याउ टिप्ने प्रावधान बनाइएको परियोजना कार्यान्वयन इकाइ मुस्ताङका प्रमुख भट्टले उल्लेख गरे । मुस्ताङमा स्थानीय जातका स्याउ र हाइब्रिड स्याउमध्ये गाला र किङरोट बाहेक अन्य स्याउमा गुणस्तर कायम हुन र स्याउ फलमा रस भरिने समय लाग्ने कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले उल्लेख गरे ।

Advertisement


मुस्ताङको स्याउको अन्यभन्दा फरक भएकाले यस ब्रान्डलाई जोगाउन यस प्रकारको निर्णय भएको केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ । मुस्ताङका बगैचामा फलेका स्याउ खरिद गर्न जिल्ला भित्र र बाहिरका स्याउ व्यापारी आउने क्रम सुरु भएको छ । जिल्लाका स्याउ कृषकले उत्पादन गरेका स्याउ बगैचा अवलोकन गरेर व्यापारीले ठेक्का लिन्छन् ।


यसरी स्याउ बगैचा ठेक्का हुँदा कृषक र व्यापारीको सहमतिले बगैचामा फलेका स्याउको मूल्य यकिन गरिन्छ । व्यापारीले कृषकलाई पेश्की दिन्छन् र स्याउ टिपेर बजार लैजान्छन् । केही वर्षअघि मुस्ताङको स्याउ बगैचामा पूर्ण रुपमा विकसित नहुँदै बजार पु¥याउने गर्दा त्यस समय मुस्ताङको स्याउमा उपभोक्ताले गुनासो र प्रश्न गर्ने गरेका थिए ।


स्याउ उपभोक्ताको हितलाई ध्यानमा राख्दै मुस्ताङको रसिलो र स्वादिलो स्याउको स्वाद उपभोक्तामाझ पु¥याउन असोजअगावै स्याउ टिप्न नहुने सहमति बनेको हो । मुस्ताङको स्याउको पोखरा र काठमाडौंमा उच्च माग छ ।
तीज भदौ महिनामा पर्ने र त्यसअघि फलफूलको माग बढी हुने भएकाले कतिपय व्यापारीले लुकीछिपी मुस्ताङको स्याउ रस नभरिदै बजार पु¥याउने गर्थे । असोजअगावै स्याउ टिप्न नपाइने निर्णयलाई प्रभावकारी कार्यान्वयन गरिन् जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले उल्लेख गरिन् । ‘हामीले स्याउ कृषक र उपभोक्ताको हितमा यस्तो निर्णय गरेका हौं,’ उनी भन्छिन्, ‘यसले मुस्ताङको स्याउमा उपभोक्ताको छुट्टै क्रेज बढ्छ र स्याउ उत्पादन तथा बिक्रीलाई समेत सघाउ पुग्छ ।’
यतिखेर मुस्ताङका बगैचामा लटरम्म स्याउ छन् । बगैचाका राताम्मे स्याउले मुस्ताङका स्याउ बगैचाको सौन्दर्यले पर्यटकलाई समेत मोहित तुल्याएको छ । यस वर्ष अनुकूल मौसम भएकाले जिल्लामा स्याउ उत्पादन राम्रो हुने प्रक्षेपण गरिएको छ । गत वर्ष जलवायु परिवर्तनका कारण स्याउमा पोलिनेसन कम हुँदा उत्पादनमा ह्रास आएको थियो ।


यस वर्ष स्याउ उत्पादन लयमा फर्किन अपेक्षा गरिएको छ । बगैचामा स्याउ उत्पादन राम्रो देखिएपछि स्थानीय स्याउ किसान निकै उत्साहित भएका छन् । टुकुचेका स्याउ किसान निरज तुलाचनले यस वर्ष स्याउ उत्पादन राम्रो भएको सुनाए । शितोष्ण हावापानीमा उत्पादन हुने मुस्ताङको स्याउ जिल्लाको महत्वपूर्ण नगदेबाली हो । पछिल्लो समय स्याउ खेतीतर्फ मुस्ताङका किसानको आर्कषण बढ्दो छ ।


निजी जग्गा र सार्वजनिक खाली जग्गा र कालिगण्डकी तटिय खेर गएका बाँझो जग्गामा स्याउ खेती विस्तार हुने क्रम बढेको हो । मुस्ताङमा परार साल ६ हजार ५ सय ९६ मेट्रिक टन स्याउ फलेको थियो । पोहोर भने रोग, कीराको संक्रमण तथा पोलिनेसन नहुँदा ४ हजार ९ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । गत वर्ष घटेको २४ दशमलव ५८ प्रतिशत स्याउ उत्पादन यसपालि लयमा फर्किने किसानको अपेक्षा छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया