महालेखापरीक्षक कार्यालय काठमाडौंकाे टोली मुस्ताङमा

समाधान संवाददाता २०८१ भदौ १० गते ११:१९

जोमसोम ।
महालेखापरीक्षक कार्यालय काठमाडौंबाट अन्तिम लेखा परीक्षणका लागि डोर टोली मुस्ताङ आईपुगेको छ । कार्यालयका निर्देशक ताराध्वज सुनुवारसहित ४ सदस्ययीय टोली मुस्ताङ आएको हो ।

Advertisement


जिल्ला स्थित सरकारी कार्यालय एवं सार्वजनिक निकायको आर्थिक वर्ष २०८०÷०८१ को वित्तीय लेखा परीक्षणका लागि मलेप कार्यालयको डोर टोली मुस्ताङ आईपुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
मुस्ताङमा अवस्थित सरकारी तथा सार्वजनिक निकायको लेखा परीक्षणलाई सहज, सरल, आर्थिक अनुशासन र पारदर्शी तुल्याउन तथा मलेप लेखा परीक्षणले गर्ने कार्यसम्पादन लगायतका बिषयमा जानकारी गराउने उद्देश्यले आइतबार जिल्ला प्रशासन कार्यालय मुस्ताङकमा साक्षात्कार एवं पूर्वतयारीका बिषयमा बैठक बस्यो । बैठकमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं आर्थिक शाखा प्रमुख, नागरिक समाज, पत्रकार र सरोकारवाला निकाय उपस्थित थिए ।
मलेप डोर टोलीले गर्ने लेखा परीक्षणका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङ र कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले बैठकको सहजीकरण ग¥यो । बैठकमा कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका कार्यालय प्रमुख जब्बरबहादुर भण्डारीले चालु आर्थिक वर्ष २०८०÷०८१ मा मुस्ताङमा संघीय तथा प्रादेशिक कार्यालयबाट भएको विनियोजन खर्चको विवरणसम्बन्धी प्रस्तुतीकरण गरे ।


कार्यालय प्रमुख भण्डारीले मुस्ताङमा संघ तथा प्रदेशबाट विनियोजन भएको कुल ४ अर्ब २ करोड ६६ लाख बजेटमध्ये ३ अर्ब ३४ करोड ७२ लाख खर्च भएको बताए । मुस्ताङका संघीय कार्यालयमध्ये ४ वटा र प्रदेश कार्यालयतर्फ ९ वटा कार्यालयमा लेखा हेर्ने अधिकृत पदपूर्ति हुन नसकेको कोष नियन्त्रक भण्डारीले उल्लेख गरे । मेलप डोर समन्वयात्मक बैठकमा मलेप निर्देशक ताराध्वज सुनुवारले आर्थिक वर्ष समाप्तिको ३५ दिनभित्र स्थानीय तह, सरकारी कार्यालय र सार्वजनिक निकायले आन्तरिक लेखा परीक्षण सम्पन्न गर्नुपर्ने बताए । मलेपले हिमाली जिल्लामा हिमपात र अत्यधिक चिसो हुने भएकाले त्यसलाई मध्यनजर गर्दे आर्थिक वर्ष सकिएको ३५ दिनभित्र मलेपलाई डोर टोली खटाएर अन्तिम लेखा परीक्षण गर्ने गरेको बताए ।

Advertisement


अहिले मुस्ताङसहित ४२ जिल्लामा मलेपको अन्तिम लेखापरीक्षण गर्ने कार्य सुरु भईसकेको मलेपका निर्देशक सुनुवारको भनाइ छ । संविधानको भाग २२ मा मलेपको व्यवस्था भएको र यसलाई सबै सरकारी तथा सार्वजनिक निकायको लेखापरीक्षण गर्ने जिम्मेवारी रहेको मलेप निर्देशक सुनुवारले खुलाए ।


निर्देशक सुनुवारले आर्थिक कार्यविधिले दिएको अधिकार सम्बन्धित कार्यालयले ऐनको दफा अनुसार आर्थिक विवरण तयार गर्ने र त्यसलाई मलेपको डोरले लेखापरीक्षण गर्ने जनाए । अन्तिम लेखा परीक्षणमा आन्तरिक लेखा परीक्षणभित्र समावेश भएका निकासा, खर्च, राजस्व र धरौटी जुनसुकै बेला हेर्ने व्यवस्था भए पनि मलेप डोरले ती सबै निर्धारित समयमा सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर आफूहरु आएको उनले उल्लेख गरे ।

Advertisement


मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मलेपको डोर टोली लेखापरीक्षकका लागि आउँदै गरेको सूचना सबै कार्यालयलाई सूचना दिइएको र त्यसलाई व्यवस्थित, प्रभावकारी र आवश्यक सहजीकरण गर्न जिल्ला स्थित कार्यालयहरुलाई निर्देशन दिएका छन् । बैठकमा नागरिक समाजका अगुवा चन्द्रबहादुुर थकाली र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका प्रमुख सुन्दरकुमार थकालीले वित्तीय लेखापरीक्षणको प्रभावकारिता, त्यहाँ देखिने बेथिति र समसामयिक बिषयमा मलेप टोलीसमक्ष जिज्ञासा राखेका थिए । मुस्ताङमा मलेप टोली असोजको पहिलो सातासम्म बसेर काम गर्ने छ ।

तपाईको प्रतिक्रिया