मकै, कोदोको सट्टा किबी
म्याग्दी ।
कबी खेतीमा नभएको भए बेनी नगरपालिका ३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यति बेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेका हुन्थे । विस. २०७५ मा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किबी खेतीसम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो ।
‘२ वर्ष मलेसिया र १ वर्ष बहराईनमा काम गरेर आएपछि आफन्तमार्फत बेलायत जाने भिसा पनि लागेको थियो,’ उनी भन्छन्, ‘बेलायतको राहदानी त्यागेर सुरु गरेको किबी खेतीले सफलता मिल्न थालेको छ । घरपरिवारसँगै बसेर रोजगार र आत्मनिर्भर हुन पाएकोमा सुखी र सन्तुष्ट छु ।’
सचिन्द्रा कृषि तथा पशुपंक्षी फार्म खोलेर मकै र कोदोको विकल्पमा करिब १७ रोपनी पाखोबारीमा लगाएको २ सय ५० बोट किबीले आम्दानी दिन थालेको छ । गत वर्ष प्रतिकिलो २ सय ५० का दरले १० क्विन्टल किबी बेचेका पुन यसपालि राम्रो फल लागेकाले उत्पादन र आमदानी बढ्ने आशामा छन् ।
किबी खेतीसँगै फर्निचर उद्योग पनि सञ्चालन गरेका पुनले आफू र श्रीमतीबाहेक तीन जनालाई रोजगारी दिएका छन् । बाख्रापालन पनि सहायक पेशा बनेको छ । कृषि ज्ञान केन्द्र, बेनी नगरपालिकाको कृषि शाखा र वडा कार्यालय मार्फत प्राबिधिक तालिम, निशूल्क र अनुदानमा किबीका बिरुवाका साथै सिंचाइका लागि ड्रम सहयोग गरेका छन् ।
बेनी नगरपालिका ३ का वडा अध्यक्ष पदम पुनका अनुसार भकिम्लीका २० जनाले व्यवसायिक किबी खेती गरेका छन् । ‘हावापानी र भूगोल अनुकूल भएकाले भकिम्लीको माथिल्लो क्षेत्रमा किबी र तल्लो भेगमा सुन्तला खेती प्रर्वद्धनमा जोड दिएका छौं,’ पुनले भने, ‘किबी र सुन्तला खेती गर्ने धेरैजसो विदेशबाट फर्किएका युवा छन् । व्यवसायिक कृषिमा आवद्ध गराएर युवालाई विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरेका छौं ।’
लछु पुनले १० वर्षअघि भकिम्लीमा किबी खेती थालेका थिए । अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले उच्च पहाडी भूगोलमा अवस्थित भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यवसायिक किवी खेती विस्तार गरेका छन् ।
लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि १ हजार ५ सयदेखि २ हजार मिटरको उचाइमा किबी खेती गर्न सकिने बेनी नगरपालिकाको कृषि अधिकृत आकृति ढुंगानाले जानकारी दिइन् । पाचन प्रक्रियालाई सहयोग गर्ने किबीबाट जाम र वाइन बनाउन सकिन्छ । अमिलो र गुलीयो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किबी चिनमा विकास भएको फलफूल हो । न्युजील्यान्डले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा १ सय छ । निजी नर्सरीबाट ३ सयसम्ममा बिक्री हुन्छ ।
प्रति ८ पोथी बिरुवा बराबर १ भाले किबीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किबी १ रोपनीमा १५ सम्म किबीका बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किबी खेतीको मुख्य चुनौति हो । किबीलाई बजारीकरण र सुरक्षित भण्डारण गरेर बेमौसममा बजारमा लैजानका लागि चिस्यानगृह स्थापनाका लागि पहल गरेको वडाध्यक्ष पुनले जनाए ।









‘नेपाली कांग्रेससँग अब विशेष महाधिवेशनमा जानुबाहेक विकल्प छैन’
रविको ६० लाख धरौटी आदेश सदर
सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया