बल्लतल्ल सोलार बल्यो, इन्टरनेट र सञ्चार छैन

समाधान संवाददाता २०८१ भदौ १३ गते १०:२५

जोमसोम ।
मुस्ताङको सबैजसो गाउँमा सडकसँगै सञ्चारको पहुँच पुगिसकेको छ । यहाँको एउटा बस्तीमा भने अझै पनि सञ्चार सुविधा पुगेको छैन । मुस्ताङ र डोल्पाको सीमावर्ती क्षेत्र वारागुङ मुक्तिक्षेत्र ५ साङ्ता गाउँ अझै गुमनाम छ ।

Advertisement


जोमसोमदेखि उत्तर÷पञ्चिम करिब ४० किलोमिटरमा पर्ने साङ्गा गाउँ समुन्द्री सतहको ४ हजार ५ सय मिटरमा छ र मुस्ताङ र डोल्पाको सीमा क्षेत्रको भिरालो सतहका अवस्थित साङ्ताबासीले सञ्चार सुविधा उपलब्ध नहुँदा निकै कठिनाइ झेल्नुपरेको छ ।
वारागुङ मुक्तिक्षेत्र ५ का वडा सदस्य एवं साङ्ता गाउँका बासिन्दा छिरिङ पाल्साङ गुरुङले मुस्ताङका सबै गाउँमा सञ्चारको पहुँच पुगे पनि आफ्नो गाउँमा अझै सुविधाविहीन भएको जनाए ।

‘हाम्रो गाउँमा सञ्चार सुविधाबाट बञ्चित रह्यो, अब त मुस्ताङको सबै ठाउँमा सञ्चारको पहुँच पुगिसक्यो,’ वड सदस्य गुरुङले थपे, ‘अब हाम्रो गाउँका लागि पनि सञ्चार सुविधाको व्यवस्था गरिदिए हुन्थ्यो ।’ गुरुङले गाउँमा मोबाइल फोनको टावर जडानका लागि पटक पटक सम्वन्धित निकायलाई आग्रह गरे पनि काम नभएको गुनासो गरे ।


यहाँ बासिन्दा मोबाइल, इमेल, इन्टरनेट जस्ता सुविधाबाट वञ्चित छन् । उपल्लो डोल्पाका नागरिक र विदेशी पर्यटक साङ्ता गाउँको बाटो हुँदै आवतजावत गर्नुपर्ने हुन्छ । उपल्लो डोल्पाका नागरिक मुस्ताङ आउँदा र फर्किदा खाना खाने र बस्ने ठाउँ साङ्ता भए पनि टेलिफोन र मोबाइल फोनको सुविधा नहुँदा सामान्य रुपमा चलाइएको होटलले पाहुनासँग सम्पर्क गर्न सक्दैनन् ।

मुस्ताङ र डोल्पाको सीमावर्ती क्षेत्र साङ्ता गाउँमा हालै सौर्य ऊर्जाबाट बत्ती बालिएको छ, मोबाइल टावर नहुँदा सञ्चारविहीन छ

Advertisement


साङ्ता गाउँका नागरिकले पर्यटन व्यवसायबाट फाइदा लिन सकेका छैनन् । नागरिकलाई टेलिफोन सुविधा नहुँदा बिरामी पर्दा स्वास्थ्य उपचारमा समस्या हुने गरेको वडा सदस्य छिरिङ पाल्साङ गुरुङले उल्लेख गरे र ‘हाम्रो गाउँमा सडक भए पनि हिउँदमा हिउँका कारण गाडी चल्दैन, बर्खा याममा पनि गाउँमा सवारी साधन चल्ने अवस्था हुँदैन,’ गुरुङले भने, ‘गाउँमा फोन टिप्दैन। जरुरी फोन गर्नु प¥यो भने, ३ घण्टा पैदल हिडेर लेंकमा पुग्नुपर्छ ।’


वडा सदस्य गुरुङले गाउँमा स्वास्थ्य चौकी नभएको र एक जना स्थानीय स्वास्थ्य स्वंयसेविकाको भरमा बस्नुपरेको सुनाए । वर्षौदेखि विद्युत र सञ्चार समस्या झेल्दै आएको मुस्ताङको साङ्ता गाउँमा गाउँपालिकाको पहलमा एक साताअघि मात्रै सौर्य ऊर्जाको पहुँच पुगेको सुरेन्द्र गुरुङले जानकारी दिए ।

‘साङ्ता गाउँको मुख्य समस्या विद्युत र सञ्चार थियो, हाम्र पहलमा त्यहाँ सौर्य ऊर्जा बिजुली पुर्‍याएका छौं, यो पनि त्यहाँका लागि ठूलो उपलब्धि हो,’ वडाध्यक्ष गुरुङले भने, ‘अब मोबाइल फोनको टावरमात्रै पुर्‍याउन सके न्यूनतम मुख्य समस्या समाधान हुने थियो, हामी निरन्तर त्यहाँको फोन टावर विस्तार गर्ने पहलमा जुटिरहेका छौं ।’


वडाध्यक्ष गुरुङले विद्युत पहुँचपछि टेलिभिजनबाट समाचार थाहा पाउने अवस्था बनेको जनाए । मुस्ताङ डोल्पा सीमावर्ती गाउँमा मानव वस्ती रहेको पत्ता लागेपछि त्यहाँका नागरिकलाई सरकारी अभिलेखमा समावेश गरिएको थियो ।


यो वस्ती शताब्दीअघि हालको बस्तीभन्दा पारी भिरालो सतहमा थियो । त्यहाँ पानीको मुहान सुकेपछि खानेपानी र सिचाइ अभाव भयो । अभावका कारण साङ्ता गाउँ अहिलेको ठाउँमा स्थानान्तरण भएको हो । अभाव र अशिक्षामा जेलिएको साङ्ता गाउँमा १३ घरधुरी छन् । सामान्य खेतीपाती र पशुपालन व्यवसायबाट उनीहरुको जीविका हुने गरेको छ ।


पुरानो शैलीले ढुंंगा र माटोबाट निर्मित गुजुमुज्ज घरहरुले त्यहाँका गरिबी र अशिक्षालाई समेत चित्रित गर्छन् । गाउँका बालबालिकालाई दाताले अन्यत्रै लगेर निःशुल्क पढाइदिने भएकाले त्यस गाउँमा अहिले २ जनामात्रै नाबालक छन् । गाउँका बालबालिकालाई दाताले पोखरा, जोमसोम र लुप्रा गाउँको स्कुलमा पढाइदिएकाले त्यहाँको आधारभुत विद्यालय पनि बन्द छ ।


साङ्तामा संघीय सरकार अन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले सडक विस्तार गरेको भए पनि सडक थप स्तरोन्नति नहुँदा सवारी साधन चल्न मुस्किल छ । दैनिक आवतजावत र मालसामान ढुवानी गर्न पनि समस्या पर्ने गर्छ । हिउँद याममा हिमपात पर्ने भएकाले त्यहाँको सडक मंसिरदेखि फागुन, चैतसम्म पूर्ण रुपमा बन्द हुन्छ ।

तपाईको प्रतिक्रिया