पछिल्लो समय मुस्ताङमा स्याउ खेतीतर्फ स्थानीय कृषकको आर्कषण बढ्दो छ । स्याउ खेतीतर्फ स्थानीयको आर्कषण वृद्धि भइरहँदा यहाँको स्याउ खेतीबाट सुनौलो भविष्य देखेका मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बाका अब्बल कृषक कर्मा गुरुङ अहिले स्याउ खेतीमा समर्पित छन् । सुरुवाती चरणमा १० आनामा स्याउ खेती गरेका कर्मशील कर्मले पछिल्लो समय निजी र लिज गरी करिब ६ सय रोपनीमा स्याउ खेती विस्तार गरिसकेका छन् । स्याउ खेती गरेर बर्सेनि मनग्ये आम्दानी गर्न सफल गुरुङसँग समाधानकर्मी सुन्दरकुमार थकालीले गरेको कुराकानीः
स्याउ खेतीतर्फ तपाई किन आकर्षित हुनुभयो ?
मुस्ताङमा सडक सञ्जालको सहजतासँगै कृषि र पर्यटनको प्रचुर सम्भावना छ । म पर्यटन व्यवसायमा पनि लाग्न सक्थें । मेरो पूर्वजहरुले पनि यही कृषि पेशा अपनाउनु भएको थियो । त्यसको बाछिटा मलाई पनि प¥यो । म कर्ममा विश्वास गर्ने मान्छे हुँ । त्यसैले यहाँको स्याउ खेतीमा राम्रो भविष्य देखेर नै ठूला लगानी गरेको छु । स्याउ खेतीबाट जति कमाउँछु। सबै यसैमा लगानी गर्दै आएका् छु ।
आफ्नो जग्गा र अरुको जग्गा लिजमा लिदै स्याउ खेतीलाई बृहत बनाएर लैजाने योजनाका साथ अघि बढिरहेको छु । विगतमा मुस्ताङमा स्याउ खेती गर्दा निकै समस्या हुन्थ्यो । उत्पादन गरेको स्याउ बिक्री हुँदैनथ्यो । तर, अहिले सडकका कारण त्यो समस्या छैन । स्याउ खेतीबाटै राम्रो भविष्य देखेर यसतर्फ होमिएको हुँ ।
तपाईले व्यवसायिक रुपमा स्याउ खेती गर्न सुरु गरेको कति वर्ष पुग्यो ?
मेरो परिवार नै कृषि पेशामा आश्रित हो । यद्यपि मेरो बुबा/आमा कृषि पेशाका साथसाथै आमची हुनुहुन्छ । उहाँ प्राकृतिक चिकित्सा क्षेत्रमा दक्षता राख्नु हुन्छ । बुबाहरुको पालामा गरिएको स्याउ खेती व्यवसायमूलक हुन सकेको थिएन । यसको कारण मुख्य सडक नै हो । त्यस बेला उत्पादन हुने कृषि उपज कौडीको भाउमा पनि बिक्री हुदैनथ्यो । तैपनि हामी सामान्य रुपमा स्याउ लगायतका खेतीपाती गर्ने गथ्यौं । मैले चिम्ले अचार्ड कृषि फार्मको रुपमा कम्पनी दर्ता गरेर स्याउ खेती सुरु गरेको ८ वर्ष पुग्यो । अहिले करिब ६ सय रोपनी क्षेत्रफलमा स्थानीय जातका र उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड ) स्याउ खेती विस्तार गरेको छु ।
कर्मजी, अहिले कति स्याउ उत्पादन गर्नुहुन्छ ? भविष्यमा कति स्याउ फलाउने लक्ष्य छ ?
हेर्नुस्, स्याउ खेती गरेर उत्पादन बढी प्राप्त गर्न सर्वप्रथम त स्याउ बगैंचा व्यवस्थापन मुख्य हुन्छ । जसरी दूधे बालकलाई जसरी आमाले हेरचाह गर्छिन्, त्यसरी नै स्याउ खेतीको व्यवस्थापनमा उत्तिकै ध्यान पुर्याउनु पर्छ । जसरी मैलै स्याउको भविष्य देखेर होमिएँ, त्यसरी नै स्याउको रेखदेखमा समय दिने गरेको छु ।
सुरुवाती चरणमा १० आनामा स्याउ खेती गरेका कर्मशील कर्मले पछिल्लो समय निजी र लिज गरी करिब ६ सय रोपनीमा खेती विस्तार गरिसकेका छन् ।
स्याउ बर्गैचा व्यवस्थापन लगायतका सम्पूर्ण काम हेर्न ठूलै संख्यामा जनशक्ति पनि व्यवस्थापन गरेको छु । गत वर्ष मैले स्थानीय र उच्च घनत्वको गरी ३ सय मेट्रिक टन स्याउ उत्पादन गरेको थिएँ । यो वर्ष औसत ५ सय मेट्रिक टनभन्दा बढी नै उत्पादन हुने छनक देखेको छु । हेर्दै जाऊ, मुस्ताङमा स्याउ खेतीको बृहत मेगा प्रोजेक्ट रुपमा विस्तार गर्ने मेरो लक्ष्य हो । अहिले नै भविष्यमा यति मेट्रिक टन स्याउ फलाउने लक्ष्य छ भन्न सक्तिनँ । तर, स्याउ खेतीलाई ग्रान्ड प्रोजेक्ट रुपमा लैजाने मेरा लक्ष्य छ ।
जनशक्ति व्यवस्थापन कसरी गरिएको छ ?
ठुल्मुले तवरले जुनसुकै व्यवसाय गर्दा लक्ष्य हासिल गर्न सकिँदैन भन्नेमा म सचेत छु । यसैले स्याउ खेतीलाई बृहत बनाउने मेरो अभिलाषा हो । यसैका कारण अहिले मैले गरेको स्याउ खेती पनि मुस्ताङमा सबैभन्दा ठूलो भोलुमको हो । म यत्तिमा मात्रै सीमित रहदिनँ । स्याउ खेती गर्न २ दर्जन कर्मचारीलाई स्थायी रोजगारी दिइएको छ । आवश्यकता परेका बेला छिमेकी जिल्ला म्याग्दीबाट कामदार झिकाउँछु । स्याउ बगैचा व्यवस्थापन र स्याउ हार्भेस्ट गर्ने समयमा झन्डै एक सय जनशक्तिलाई अल्पकालीन रोजगारी प्रदान गरेको छु ।
तपाईको आफ्नै जग्गा कतिमा स्याउ खेती गर्नु भएको छ ?
मेरो आफ्नै ढुम्बा पारी चिम्लेमा १ सय ४६ रोपनी र जोमसोम माथिको डाँडामा सय रोपनी क्षेत्रफलमा स्याउ लगाएको छु । आफ्नो छोडेर अरु पनि करिब २ सय रोपनीमा स्याउ खेती गरेको छु ।
स्याउ खेती गर्नका लागि मल नभई हुँदैन, त्यसको व्यवस्था कसरी भएको छ ?
अवश्य पनि, स्याउ खेती गरेरमात्रै हुँदैन । त्यसका लागि आवश्यक पर्ने सामग्री जुटाउनुपर्ने हुन्छ । स्याउ खेतीका लागि मल उत्पादन गर्न एक दर्जन बढी जर्सी गाई पालेको छु । झन्डै ४ सय त च्यांग्रा नै छन् । पशुचौपायाको मल प्रयोग गर्छु । यसका अलावा विभिन्न सरकारी अनुदानबाट प्राप्त हुने जैविक मल पनि लिने गरेको छु ।
यो वर्ष स्याउमा पोलिनेसन राम्रो भएकाले लटरम्म स्याउ फलेको छ । लाग्छ यो वर्ष ६ करोडको स्याउ बिक्री गर्छु ।
स्याउ खेतीलाई यसरी विस्तार गर्न लगानी कहाँबाट जुट्यो ?
भगवानले त आँट्, म पु¥याउँछु भन्छन् रे । त्यसैले होला मैले आफ्नौ पुख्यौली सम्पत्ति र बैंकको ५ करोड ऋण लिएर स्याउको व्यवसायिक खेती सुरु गरेको हुँ । अहिले त बैंकको ऋण पनि चुक्ता गरी भ्याएँ । अर्को वर्ष स्याउ खेती गर्न थप सय रोपनी जग्गा किनेको छु । अब त्यसमा पनि स्याउ खेती नै विस्तार गर्छु ।
पछिल्लो समय स्थानीय जातको स्याउ खेतीभन्दा उच्च घनत्वको (हाइब्रिड) स्याउ खेतीतर्फ किसानको आर्कषण बढ्दो छ । यसको कारण के हुन सक्छ ?
स्थानीय जातको स्याउ बोटले फल दिन १२/१५ वर्ष लाग्छ । हाइब्रिड स्याउ भनेको आधुनिक खेती प्रणाली हो । यो स्याउले किसानलाई छिटो र छरितो रुपमा लगाएको अर्को वर्षमै उत्पादन दिने भएकाले किसानको आकर्षण वृद्धि भएको हो । मैले नै मुस्ताङमा उच्च घनत्वको (हाइब्रिड) स्याउ खेती भित्र्याएको हुँ । मैले २/३ वर्ष परीक्षणका रुपमा यो खेती गरेपछि यसको प्रतिफल राम्रो भएकाले यसप्रति मुस्ताङका किसानको आर्कषण बढेको हो ।
स्याउ खेतीका लागि पालिएका पशुचौपायाबाट अतिरिक्त फाइदा पनि होला नि ?
अवश्य, पालेपछि फाइदा हुन्छ नि । जर्सी गाई पालनबाट म महिनाको २ लाखको दूध बिक्री गर्छु । च्यांग्राबाट पनि राम्रै फाइदा छ । च्याङ्ग्रा किनेर थप्दिनँ, पाठापाठी थपिँदै जान्छन् । मासुका लागि योग्य भएपछि बिक्री गर्ने गरेको छु ।
स्याउका बिरुवा खरिद, विषादी र स्याउलाई आवश्यक पर्ने उपकरणको जोहो कसरी हुने गरेको छ ?
स्याउ खेतीको विस्तार, उत्पादन र क्षेत्र विस्तारमा सरकारी सहायता मिल्ने गरेको छ । संघीय सरकारबाट हामीलाई बिरुवा, विषादी, उपकरण आदिमा पर्याप्त सहयोग मिलेको छ । सरकारले कृषि क्षेत्रलाई व्यवसायिक बनाउनका लागि हामी जस्ता किसानलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ । जुन सहयोग मैले प्राप्त गरिरहेको छु ।
कति रकमको स्याउ उत्पादन भइरहेको छ ?
गतवर्ष जलवायु परिवर्तनका कारण मौसम अनुकुल नहुँदा अपेक्षा गरे अनुसार स्याउ फलेन । गत वर्ष ३ करोडको स्याउ बिक्री गरेको थिएँ । यो वर्ष स्याउमा पोलिनेसन राम्रो भएकाले लटरम्म स्याउ फलेको छ । लाग्छ यो वर्ष ६ करोडको स्याउ बिक्री गर्छु ।
म कर्ममा विश्वास गर्ने मान्छे हुँ । त्यसैले यहाँको स्याउ खेतीमा राम्रो भविष्य देखेर नै ठूला लगानी गरेको छु ।
स्याउबाट मनग्ये कमाई हुँदो रहेछ त होइन ?
कमाइ त सुन्दा रामै देखिन्छ । खर्च पनि त्यस्तै छ नि । लगानी गरेको ब्याजको हिसाब किताब र कामदारको ज्याला खर्च सबै जोड्दा ५० प्रतिशत बच्यो भने त्यो राम्रो हो ।
तपाईको योजना अरु खेती पनि छ कि ? स्याउमात्र हो ?
मेरो मुख्य सपना स्याउ खेतीलाई निरन्तरता दिनु हो । मेरो काठमान्डौको बौद्धमा अर्को हस्तकला व्यवसाय पनि छ । त्यहाँको सामान विदेशतिर पनि जान्छ । यसका अलावा मुस्ताङमा एग्रो पर्यटन प्रर्वद्धनका लागि पनि पूर्वाधार निर्माण गर्ने योजना छ । जहाँ मुस्ताङको मौलिकताजीवन्त राख्ने प्रयत्न हुनेछ । पछिल्लो समय मुस्ताङमा सडकका कारण यहाँको मौलिकता मासिन थालेको छ । यसलाई जोगाउने प्रयास मेरो हुनेछ ।
युवालाई मुस्ताङमै राख्न के गर्नुपर्ला ?
नेपाल कृषिप्रधान देश हो । तर, देशका युवा वैदेशिक पलायन हुने ट्रेन चलेको छ । दृढ इच्छा शक्ति भएमा नेपालमै केही गर्न सकिन्छ भन्ने मेरो सन्देश हो । विदेशमा गरिने मेहनत र श्रम नेपालमा गर्न सक्ने राम्रो आम्दानी गर्न सकिन्छ । विदेश जाने अहिले फेसन भईसक्यो । म पनि पटक पटक विदेश चहार्दै आइरहेको व्यक्ति हुँ ।
मुस्ताङ जिल्लाको कृषि र पर्यटनको ब्रान्डका रुपमा स्थापित भइरहेको छ । यहाँको विकास गर्न कृषिलक्षित कार्यक्रम र जग्गा लिजको प्रावधानका लागि मुस्ताङमा जग्गा नापी हुन आवश्यक छ । मेरो अनुरोध यहाँको जग्गा नापी गरेर जग्गा बर्गीकरण गरी जग्गा लिजमा लिन पाउने व्यवस्था भएमा वैदेशिक युवा पलायनलाई न्यूनीकरण गर्न सकिन्थ्यो ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया