तापक्रम बढ्दा बोटविरुवाको प्रजनन क्षमतामा ह्रास

प्रमिला कुँवर २०८१ भदौ १३ गते १९:१७

पोखरा ।

Advertisement

रुख, बिरुवा नहुने हो भने पृथ्वीमा मान्छे बाँच्न मुस्किल होइन सम्भवै हुँदैन । तर त्यही मान्छेका कारण बोटबिरुवाको अस्तित्वचाहिँ खतरामा छ । बोटबिरुवाको जीवन खतरामा पार्नु मान्छे आफ्नै अस्तित्व खतरामा पार्नु हो । विश्व तापमान वृद्धिले जलवायु परिवर्तनको असर मानिसले व्यहोरिरहेको छ । त्यस्तै असर बोटबिरुवाहरुमा पनि परिरहेको विज्ञहरू बताउँछन् । उनीहरुकै भनाइमा उच्च तापक्रम र अत्यधिक वर्षाका कारण बोटबिरुवामा प्रजनन प्रक्रिया ढिलो हुन थालेको छ । धेरै चिसोले पनि बोटबिरुवा फक्रन र फुल्न कम भइरहेको छ ।

मौसम चक्रमा आएको परिर्वतनकै कारण कतिपय बोटविरुवा हराएका पनि छन् । तापक्रम बढ्दा र मौसममा आउने परिर्वतनले उनीहरुको प्रजनन् क्षमतामा ह्रास आइरहेको छ । जसकारण उनीहरूको संख्यात्मक वृद्धि हुन सकेको छैन । जलवायु परिवर्तनका कारण फूल नलाग्ने, फले पनि परिपक्व नहुने, समयमा नपाक्ने, नफल्ने, बोट बिरुवाको वृद्धि नहुने, जस्ता समस्या देखिएका छन् ।

Advertisement


जलवायु परिवर्तनले बोटविरुवामा पारेको असरः
जलवायु परिवर्तनले बोटविरुवालाई असर पारेको विभिन्न अध्ययनले देखाएको छ । जलवायु परिवर्तनले विरुवाहरूको वृद्धि, उत्पादन, र उपलब्धतालाई प्रभावित गर्ने वन निर्देशनालय गण्डकीका उपसचिव करुणा कार्कीले बताइन् ।अनियमित वर्षा, लामो खडेरी, र प्रतिकूल मौसमी अवस्थाका कारण बोट विरुवाको उत्पादनशीलता, माटोको गुणस्तर, र पोषण तत्वहरूको उपलब्धता घट्ने उनको भनाइ छ ।


वन डढेलो, भू—क्षयका कारणले बोट विरुवा कमजोर हुने, कीरा, फट्याङ्ग्रा, र रोगको सम्भावना बढ्ने, काठको गुणस्तर कमी ल्याउने समस्या देखिएको उपसचिव कार्की बताउँछिन् ।

पोखरा ९ न्युरोडमा पोखरा महानगरपालिकाले गरेको वृक्षरोपण।


बोट विरुवाको महत्वःपारिस्थितिकीय महत्व
माटोको संरक्षण, विशेष गरी पहाडी क्षेत्रमा बोटविरुवाहरूले भूक्षय नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने कार्कीले बताइन् । ‘बोटविरुवाहरू विभिन्न कीटपतंग, चराचुरुंगी, र जनावरहरूको आश्रयस्थल हुन् । यसले जैविक विविधता संरक्षण गर्छ,’ उनले भनिन्, विरुवाहरूले कार्बन डाइअक्साइड अवशोषण गरेर जलवायु परिवर्तनको प्रभावलाई कम गर्न मद्दत गर्छन् ।’


विभिन्न बोटविरुवा (जस्तै, तुलसी, चिउरी) स्थानीय जनजीवनमा गहिरो सांस्कृतिक प्रभाव राख्ने कार्कीको धारणा छ । बोटविरुवा काठ, दाउरा, घाँस, घरेलु उपचार वा आयुर्वेदीक औषधी, धार्मिक, सांस्कृतिक, र परम्परागत अनुष्ठानमा समेत प्रयोग गरिन्छ ।

वन निर्देशनालय गण्डकी,
उपसचिव करुणा कार्की


बोटविरुवामा परेको असर कम गर्ने तथा यसको संरक्षणका उपायहरुः
स्थानीय प्रतिरोधी प्रजातिको प्रवर्द्धनव स्थानीय वातावरणमा अनुकूल भएका र प्रतिरोधी क्षमता भएका बोट विरुवाहरूको प्रयोगलाई प्राथमिकता दिई उनीहरूको संरक्षण र प्रवद्र्धनमा जोड दिने ।


वन व्यवस्थापनमा दिगो र पारिस्थितिकीय दृष्टिकोण अपनाउने :
बोट विरुवाहरूको विविधता कायम राख्न पानीको संकलन, भण्डारण, र पुनः प्रयोगका उपायहरू वृक्षरोपण गर्ने ।


जलवायु परिवर्तनसँग जुझ्न स्थानीय समुदायको ज्ञान र उनीहरूको सक्रिय सहभागिता जलवायु परिवर्तनका असरलाई कम गरेर बोट विरुवाहरूको दीर्घकालीन संरक्षण र सम्बद्र्धन गर्ने ।

प्रतिकूल मौसमी अवस्थाका कारण बोटबिरुवाको उत्पादनशीलता, माटोको गुणस्तर, र पोषण तत्वहरूको उपलब्धता घटिरहेको छ


अध्ययन र अनुसन्धानप्रविधि र नवप्रवर्तनको प्रयोग
जलवायु परिवर्तन अनुकूलनका लागि नीतिगत समर्थन र विभिन्न संरक्षण कार्यक्रमहरूको कार्यान्वयन बजेट सुनिश्चित गर्ने, जैवीक विविधताको उच्च मूल्य भएका क्षेत्रहरूलाई संरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने, समुदायको सहभागिता र जनचेतना अभिवृद्धि गर्ने ।

पोखरा १३, माछापोखरी


पोखरा महानगरपालिकाको ग्रीन सिटी परियोजना अलपत्रः
पोखरा महानगरपालिकाले हरेक वर्ष वातावरण दिवसका दिन तामझाम सहित वृक्षरोपण गर्छ । तर वृक्षरोपण न त पूर्वतयारी गरि हुन्छ, न त्यसको संरक्षण । रोपिएका विरुवा आधा भन्दा कम मात्र उम्रन्छन् । महानगरसँग कति विरुवा रोपियो भन्ने डाटा छ, कति हुर्किए वा संरक्षित छन् केहि तथ्यांक छैन । महानगरको रुखविरुवा रोप्ने अभियान सुन्दा जति आर्कषक छ, कार्यान्वयन उति नै अव्यहारिक छ ।


गत वर्ष महानगरले वन विज्ञान अध्ययन संस्थान पोखरासँग सहकार्य गरेर पोखरालाई ग्रीन सिटी बनाउने योजना ल्याएको थियो । अध्ययन संस्थानले सम्भावित वृक्षरोपण क्षेत्र अध्ययन गरेर प्रतिवेदन महानगरलाई बुझाइसकेको छ तर ५ महिना बित्दा पनि कार्यान्वयन भने हुन सकेको छैन ।


प्रतिवेदन अनुसार महानगर क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ किमी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका विरुवा लगाउन सकिनेछ ।योजना राम्रो भएपनि कार्यान्वयन गर्न महानगर असफल भएको छ । सडकका किनारमा रोपिएका लाखौँ रकमका रूख बिरुवाको संरक्षणमा महानगरले लापरवाही गरेको छ ।


२ लाख बढि वृक्षरोपण गर्ने योजना बनाएको महानगरले जम्मा १७ सय जति विरुवा रोपिएको छ । विरौटा देखि छोरेपाटन सम्मको सडकमा ७ सय, कोमागाने पार्कमा डेढ सय र केहि व्यक्तिगततर्फबाट विरुवा रोपिएको महानगरका वन तथा वातावरण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए ।


महानगरको ग्रीन सिटी परियोजना अन्तर्गत ५ वटा क्षेत्र छुट्टाइएको छ । विद्यालय, घर, टोल, वडा र सडक । अब छिट्टै विद्यालयलाई फलफुलका विरुवा उपलब्ध गराइने भट्टराईले बताए । ‘विद्यालयका फलफुलका विरुवा लगाउँदा फल खाजासँग मिसाएर खान मिल्ने तथा विद्यार्थीलाई विरुवा चिन्न सहज हुन्छ,’ उनले भने ।


स्थानीय तहमा वृक्षरोपण गरेर, संरक्षण र उपयोगको जिम्मा स्थानीयलाई दिने गरि योजना भइरहेको उनको भनाइ छ । स्थानीय तहका प्रतिनिधिसँग छलफल भएपनि वृक्षरोपण गर्न तथा त्यसको संरक्षणको जिम्मेवारी लिन भने कोही नआएको उनको गुनासो छ ।


उनी भन्छन्, ‘जनशक्ति, प्राविधिकको कमि हुँदा योजना अघि बढ्न सकेको छैन । महानगरले वृक्षरोपणका लागि १ करोड ३० बजेट छुट्टाएको छ । माली राखेर विरुवाको संरक्षण गर्नेछौं । रैथाने प्रजाति, स्थानीय बासिन्दाको रोजाई, सौन्दर्ययता बढाउने प्रजाति, सदाबहार प्रजाति, धार्मिक महत्वका प्रजातिका विरुवा रोप्ने योजना छ ।


पूर्वतयारी विना वृक्षरोपण गर्दा विरुवा मर्ने भट्टराईले बताए । उनका अनुसार ३/४ महिना मात्र भएका विरुवा रोप्नाले विरुवा हुर्कन पाउँदैनन् । कम्तिमा पनि १ वर्ष पुगेका विरुवा रोप्दा बाँच्ने सम्भावना बढि हुन्छ ।घाम पानी सहन सक्ने भएपछि मात्र वृक्षरोपण गर्नुपर्ने उनको सुझाव छ । नर्सरीमा उपयुक्त वातावरणमा विरुवा उम्ररिएको हुँदा बाहिरको वातावरणमा समायोजन हुन नसकि विरुवा मर्ने उनले उल्लेख गरे ।

पोखरा ९ नयाँबजार


किन आवश्यक छ ग्रीन सिटी योजना ?
हरित सहर भन्नाले सहरी विकास र प्रवर्द्धनका महत्वपूर्ण तत्वहरूको रूपमा दिगोपन, राम्रो वायु गुणस्तर, कम प्रदूषण, र पहुँचयोग्य हरियाली ठाउँहरूलाई जोड दिने सहरलाई जनाउँछ । हरित सहरले वातावरणमा सुधार गर्छ, समृद्ध जैविक विविधता सुनिश्चित गर्छ, वायु प्रदूषण घटाउँछ, पानीको भण्डारण सुनिश्चित गर्छ, आवाजलाई कम गर्छ र न्यानो अवधिमा चिसो हुन मद्दत गर्छ ।


एक जना मानिसलाई ३ वटा रुख आवश्यक पर्ने वन विज्ञान अध्ययन संस्थान पोखराका उपप्रध्यापक लिला पुरीले जनाए । हरित शहरको अवधारणा घरबाटै सुरु गर्नुपर्ने बताउँदै हरेक घरमा २/३ वटा विरुवा रोप्नुपर्ने उनी भन्छन् ।

वन विज्ञान अध्ययन संस्थान पोखरा,
उपप्रध्यापक लिला पुरी


‘रुखविरुवा पातलिँदै जाँदा तापक्रम बढेको हो, वृक्षरोपणबाटै समस्या हल गर्न सकिन्छ,’ पुरीले भने, ‘बस्तिमा भन्दा जंगलमा तापक्रम कम हुन्छ ।’


ग्रीन सिटी योजना बनाएर मात्र नहुने त्यसका लागि नीति नियम पनि परिमार्जन गर्न आवश्यक रहेको उनले औंल्याए । अब बन्ने घरमा कम्तिमा २ वटा विरुवा रोप्ने ठाउँ राख्नुपर्ने नीति बनाउनुपर्ने उनको माग छ ।


उनले भने, ‘विदेशमा २५/३० प्रतिशत स्थान खाली छोडिएको हुन्छ, तर यहाँ सबै क्षेत्र ओगटेर कन्सट्रक्सनको काम हुन्छ । नेपालका लागि नयाँ योजना हो ग्रीन सिटी । नीति र प्रविधि भित्रिएमा योजना सफल बन्न सक्छ ।’


पोखराको ग्रीन सिटी योजना वास्तविक बनाउन शहरी योजनाकार र स्थानीय एकजुट भएर लाग्नुपर्ने उनले उल्लेख गरे । पोखराका खुला ठाउँ, नदिखोलाका किनार र सडकमा वृक्षरोपण गर्न सकेमा पोखरा हरित शहर बन्ने पुरीले विश्वास व्यक्त गरे ।

वीरेन्द्रनगर नगरपालिका, भानु पार्क सुर्खेत


हरित शहर बन्दै वीरेन्द्रनगरः
सुर्खेतको वीरेन्द्रनगरलाई सन २०३० सम्म हरियाली मैत्री शहर बनाउने योजनाका साथ काम भइरहेको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । सडक छेउ, बुलबुले ताल उद्यान, काँक्रे बिहार र नगर भित्र गरि ६ हजार भन्दा धेरै विरुवा रोपिएका उनले जानकारी दिइन् ।


एक घर दुई विरुवा नीति ल्याएर ‘सडक सौन्दर्य, सडक हरियाली’ कार्यक्रम अन्तर्गत वृक्षरोपण कार्य तिव्र गतिमा बढेको ढकालले बताइन् । वातावरणलाई राम्रो बनाउनुका साथै जलवायु मैत्री बनाउने प्राथमिकतामा राखेर काम भइरहेको उनी भन्छिन् ।


‘दिगोरुपमा फाइदा पुग्ने खालका तथा सडकलाई असर नगरी सुन्दर बनाउने विरुवा सम्बन्धि अध्ययन भइरहेको छ,’ प्रमुख ढकालले भनिन्, शहरी सौन्दर्य साझेदार निकायसँग समन्वय गरेर रुख हेरालु राखेका छौं । गाईवस्तुले भेट्न नसक्ने गरि ट्रि गार्ड लगाइएको छ ।’


वीरेन्द्रनगरलाई स्वच्छ शहरमा परिणत गर्ने योजना रहेको उनले सुनाइन् । वृक्षरोपणले सहरलाई धुलोधुवाँबाट बचाउँदै स्वच्छ हावा प्रदान तथा ग्रिनरीले वीरेन्द्रनगरको थप शोभा बढाई वीरेन्द्रनगरमा आउने पर्यटक, स्थानीयवासीले आनन्द महसुश गर्ने उनको तर्क छ ।

वीरेन्द्रनगर नगरपालिका, बुलबुले ताल सुर्खेत


वस्ती उठाएर विकास गरिएको सुर्खेतको सामुदायिक वनः
विरेन्द्रनगर ९ चौकुनेमा रहेको सुनपुर सामुदायिक वन २०२८ साल भन्दा पहिले मानव वस्ती थियो । पानीका मुहान सुक्दै गएपछि त्यहाँ वस्ती हटाएर वन निर्माण गरिएको थियो । सुनाकाँडामा ५१ वटा घरटहरा हटाइ ५ हेक्टर वन अतिक्रमित क्षेत्र नियन्त्रणमा लिएर संरक्षण गरिएको छ ।


उपल्लो तटिय क्षेत्रमा गरिएको वन संरक्षणले तल्लो क्षेत्रमा बस्ने मानिसलाई वातावरणी सेवा प्राप्त भइरहेको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत बसन्त श्रेष्ठले बताए । वन बनाएपछि पानीको समस्या हटेको छ ।


‘सामुदायिक वन, रुखविरुवा नभएका ठाउँमा वृक्षरोपण गरिरहेका छौं । गत असार देखि वृक्षरोपण जारी छ, श्रेष्ठले भने, ‘रैथाने विरुवा माटो सुहाउँदो खालका विरुवामा जोड दिएका छौं । उनीहरुलाई हुर्कन सहज वातावरण हुन्छ ।’


वनमा काठ प्रजाति, मठ मन्दिरमा धार्मिक प्रजाति र सडकमा सौन्दर्य मुलक ठाउँ विशेसका प्रजाति रोपिएको उनले बताए । जलवायु परिवर्तनले तापक्रम बढेसँगै बोटविरुवाको बासस्थानको उपस्थिति माथी माथी सरेको उनको अनुभव छ ।


‘वनको हैसियत घटेको छ । ३८ प्रतिशत वनबाट २८ प्रतिशतमा झरेको छ । वनको क्षेत्र पनि संकुचन छ,’ उनले भने, ‘वनस्पतिको उपस्थितिमा ह्रास आएको छ, केहि विरुवा लोप हुने अवस्थामा छन् । सालको सहप्रजाति अष्नाको विरुवाको संख्या घट्दो छ ।’

गलकोट १० बागलुङमा रहेको स्थानीयको भनाइ अनुसार करिब १ सय वर्ष पुरानो रुख।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया