२ करोड बिमा दाबी गर्न आफ्नै पसलमा आगो लगाउने जेल चलान

समाधान संवाददाता २०८१ भदौ १४ गते २०:०८


पोखरा ।
बिमाको रकम दाबीका लागि आफ्नै पसलमा आगो लगाएको आरोपमा पक्राउ परेका २ जना कारागार चलान भएका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ बस्ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार नगरपालिका–७ बस्ने ४३ वर्षीय पवन नेपाल शुक्रबार जेल चलान भएका हुन् ।

Advertisement


उनीहरूले बिमाको रकम दाबी गर्न साउन १६ गते लेकसाइडमा गहतराजले चलाइरहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लगाएका थिए । कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको हो । प्रहरीले उनीहरुविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाएको हो ।


सुजनले नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको प्रहरीलाई बयान दिएका थिए । उनले पसलको बिमा गराएको छैन भनेर प्रहरीलाई भनेका थिए । घटनाबारेमा थप सोधपुछ गर्दै जाँदा घटना शंकास्पद देखिएपछि प्रहरीले २० साउनमा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

Advertisement


गहतराजको पसल पछिल्लो समय खासै चलेको थिएन । उनले गत चैतमा उक्त पसलको २ करोड रुपैयाँको बिमा गराएका थिए । ४३ वर्षीय नेपालले साथी गहतराजलाई सो पसलमा आगो लगाएर बिमा रकम लिन सिकाएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

नेपालले पहिला आफूले पनि आफ्नो पोल्ट्री फर्ममा आगो लगाएर बिमा कम्पनीसँग ३१ लाख रुपैयाँ लिएको भन्दै गहतराजलाई आगो लगाउन उक्साएका थिए । उनले बिमा कम्पनीले रकम दिएपछि १० लाख आफूलाई चाहिने पनि सर्त पनि गहतराजसँग राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया