माटोको सहरमा सिमेन्टको बाटो

सुन्दरकुमार थकाली २०८१ भदौ १६ गते १०:५२

जोमसोम ।
उपल्लो मुस्ताङको मौलिक पहिचान बोकेको माटोको सहर लोमान्थाङमा आरसिसी सडक बनाउन थालिएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले माटोको सहरका रुपमा परिचित पर्खालले घेरिएको ऐतिहासिक लोमान्थाङ बस्तीवरिपरी सडक थालेको हो ।

Advertisement


गण्डकी प्रदेशका सांसद नम्डु गुरुङको पहलमा चालु आर्थिक वर्ष २०८१/०८२ का लागि चीनसँग सीमाना जोडिएको लोमान्थाङ स्थित माटोको सहर लोमान्थाङ पर्खालवरिपरी सडक विस्तार गर्ने योजना परेको हो । पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख अजय श्रेष्ठले १५ औं शताब्दीमा निर्मित मुस्ताङी राजाको दरबारसमेत रहेको लोमान्थाङ बस्तीवरिपरी आरसिसी सडक निर्माण गर्नका लागि दीप शर्मा जेभी निर्माण कम्पनी पोखराले बिहीबारदेखि काम थालेको बताए ।


लोमान्थाङ स्वागत गेटदेखि लोमान्थाङ पर्खालवरिपरी आरसिसी सडक निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान भएको थियो । सडकका लागि भ्याटसहित ४ करोड १८ लाख लागत अनुमान गरिएकोमा ३ करोड २३ लाख लागतमा निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको छ । बहुवर्षीय योजना अनुसार सडक विस्तार गर्न १८ महिना अवधि तोकिएको छ ।

लोमान्थाङ बजार उपल्लो मुस्ताङको सांस्कृतिक राजधानीका रुपमा समेत प्रख्यात छ । यही सहरलाई आरसिसी सडकले घेर्ने गरी ४ सय ७२ मिटर लामो सडक निर्माण गर्ने योजना रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर घनश्याम रोक्का मगरले जानकारी दिए । यो सडक ४ दशमलव ५ मिटर चौडा हुनेछ भने र ८० सेमी चौडा नाली निर्माण हुनेछ ।


पूर्वाधार विकास कार्यालय मुस्ताङले बहुर्षीय ठेक्का भए पनि सडक निर्माण चालु आर्थिक वर्षभित्रै सक्ने लक्ष्य रहेको जनाएको छ । सांसद गुरुङले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लोमान्थाङलाई त्यहाँ पुग्ने पर्यटक तथा स्थानीयको सहजताका लागि आरसिसी सडक विस्तारको पहल आफूले गरेको बताए ।

Advertisement

लोमान्थाङ उपल्लो मुस्ताङको सांस्कृतिक राजधानी मानिन्छ । यससलाई आरसिसी सडकले घेर्ने गरी ४ सय ७२ मिटर लामो बाटो बनाइँदै छ ।


‘सांस्कृतिक महत्व पहिचान बोकेको लोमान्थाङ सहरलाई समृद्ध तुल्याउने उद्देश्य हो , त्यहाँको सौन्दर्य मासिन हुँदैन भन्नेमा हामी सचेत छौं,’ सांसद गुरुङले भने, ‘हालको कच्ची सडकमा छपनी बिच्छ्याउँदा पनि त्यो दीर्घकालिन हुँदैन भन्ने हाम्रो बुझाइ रह्यो, आरसिसी बनेपछि त्यो संरचना सवारी गुड्दा होस वा वर्षा, हावापानीले पनि क्षति हुँदैन ।’


लोमान्थाङभित्र १५ औं शताब्दीमा निर्मित मुस्ताङी राजाको दरबार छ । त्यसका अलावा पर्खालभित्र लोमान्थाङ गाउँपालिका कार्यालय, वडा कार्यालय, सीमा प्रहरी चौकी, गुम्बा स्कुल र अन्य व्यापारिक प्रतिष्ठान छन् । लोमान्थाङमा बनेका यी ऐतिहासक घरहरु यहाँका मौलिक सम्पदा हुन् ।

पर्खालले घेरिएको लोमान्थाङ सहरमा सवारी साधन आउजाउ गर्न मिल्ने गरी निर्माण हुन लागेको आरसिसी सडक बने त्यहाँ जाने पर्यटकले छिटोछरितो रुपमा त्यहाँको मौलिकताको अवलोकन गर्न सक्नेछन् । यहाँ २ सयभन्दा बढी एकापसमा जोडिएका पुराना घर छन् ।

ठिनी खोलामा पुल निर्माण सुरु
मुस्ताङको घरपझोङ गाउँपालिका ५ मा अवस्थित पर्यटकीय गन्तव्य ढुम्बाताल जाने सडकको ठिनी खोलामा ३५ मिटर लामो पक्की पुल निर्माण सुरु गरिएको छ । त्यहाँ घरपझोङ गाउँपालिकाले राखेको अस्थायी पुल विस्थापित गरी गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले पक्की पुल निर्माणअघि बढाएको हो ।


पुलको कुल लागत भ्याटसहित ५ करोड ८३ लाख रहेकोमा ४ करोड ४६ लागतमा एमएस अमित आशीष जेभीले ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख अजय श्रेष्ठले जानकारी दिए । ढुम्बाताल जोड्ने ठिनी खोलामा निर्माण हुन लागेको पुलको लम्बाइ ३५ मिटर हुनेछ । पुल फुटपाथसहित ८ मिटर ४० सेमी चौडा बन्नेछ ।


सम्झौता अवधि २ वर्ष रहेको ढुम्बाताल जोड्ने ठिनी खोला पुलको काम सोमबारदेखि सुरु भइसकेको छ । पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनीयर घनश्याम रोक्कामगरले पुलको सम्पन्न अवधि २०८२ साउन २८ गते रहेको जनाए ।

पुल निर्माणका लागि यसअघिको अस्थायी पुललाई केही तल स्थान्तरण गर्ने गरी खोलाको दुईतर्फी भागमा ग्याबिन लगाउने कार्य धमाधम छ । यहाँ दर्जनौं स्वदेशी तथा विदेशी चलचित्र छायांकन भइसकेका छन् । अनमोल केसी अभिनित चलचित्र जेरीको छांयाकनपछि ढुम्बातालको चर्चा चुलिएको हो ।


मुक्तिनाथ र उपल्लो मुस्ताङ भ्रमण गरी फर्किएका पर्यटक यो ताल अवलोकन गर्न छुटाउँदैनन् । यसै कारण ठिनी खोलामा पक्की पुल निर्माणपछि बाह्रै महिना ढुम्बाताल आउजाउ गर्न सहज हुनेछ ।


पूर्वाधार विकास कार्यालय मुस्ताङद्वारा कार्यान्वयनमा आएको मुस्ताङको जोमसोम हुँदै ठिनी, ढुम्बा, छैरो र चिमाङ गाउँ जोड्ने रणनीतिक महत्वको रिङरोड निर्माणाधीन छ । ठिनी खोलामा बन्ने पक्की पुलले घरपझोङका ५ गाउँ जोड्ने रणनीतिक महत्वको सडकलाई समेत जोड्नेछ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया