र्‍यान्डम रिडर्समा पुस्तक साटासाट

समाधान संवाददाता २०८१ भदौ १६ गते ११:३६

पोखरा ।
पठन संस्कृतिको विकासमा क्रियाशील संस्था र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर १७ औं पुस्तकालय दिवस शनिबार पोखरामा मनाएको छ । कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले पुस्तकालयको महत्व र पठन संस्कृतिसम्बन्धी धारणा राखेका थिए । जुन देशमा पठन संस्कृतिको विकास भएको हुन्छ, त्यो देश वास्तविक रूपमा समृद्ध बन्ने उनको भनाइ छ ।

Advertisement


ज्ञान निर्माणको प्रणालीमा पुस्तकालयको विशेष भूमिका रहने भन्दै उनले स्थानीय तहदेखि प्रदेश हुँदै संघीय तहका सरकारले पुस्तकालय विकासमा विशेष लगानी गर्नुपर्ने विचार राखे । पुस्तकालय कुनै पनि व्यक्तिका लागि सर्वसुलभ हुनुपर्नेमा जोड दिँदै पोखराको सार्वजनिक पुस्तकालयको हालको व्यवस्थापनले पोखरामा पुस्तकालय नै नभएको भान भएको उनले जनाए ।


गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री किरण गुरुङले आफू आजको ठाउँसम्म आउनुको मूल कारण पुस्तक र पुस्तकालय नै भएको अनुभव सुनाए । कक्षा ५ मा पढ्दादेखि नै विद्यालयको पुस्तकालयमा भएका पुस्तकहरूको अध्ययनले राजनीतिक तथा सामाजिक चेत भरेको बताउँदै उनले पुस्तकालय र पुस्तक नै आफ्नो वास्तविक गुरु भएको बताए ।

Advertisement


कार्यक्रममा ५० जनाले आपसमा पुस्तक साटासाट गरेका थिए । हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको सोसाइटीले पुस्तक दिवस र पुस्तकालय दिवसमा पुस्तक आदानप्रदान कार्यक्रम गर्ने गर्छ ।


सोही अवसरमा सोसाइटीको नियमित कार्यक्रम अन्तर्गत १ सय ९ औँ शृंखलामा आगामी भदौ २९ गते शनिवार घनश्याम खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’ को दीपक पराजुलीको अवधारणापत्रसहित परिचर्चा हुने सचिव नेपालप्रकाश अधिकारीले बताए । कार्यक्रम सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया