पोखरा २८ र १ मा तीजगीत प्रतियोगिता

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं.२८ मा वडा स्तरीय महिला सञ्जालको आयोजना र पोखरा २८ वडा कार्यालयको सहयोग र समन्वयमा दोस्रो खुला तीज गीत प्रतियोगिता भएको छ ।
ठूलाकोट भैरवस्थानमा भएको प्रतियोगितामा कालिका बोर्डिङ स्कुल प्रथम भएको छ । २६ समूहको सहभागिता रहेकोमा लालीगुराँस आमा समूह द्वितीय, जलदेवी आमा समूह (बेत्यानी) तृतीय र कालिका दिदीबहिनी समूह र दृष्टिविहीन दिदी बहिनी समूह अम्मरसिंह चोक सान्त्वना बने ।
उत्कृष्ट नृत्यमा राधाकृण दिदीबहिनी समूहकी प्रभा पौडेल र माझठानाको अन्नपूर्ण आमा समूह उत्कृष्ट भेषभूषामा पुरस्कृत भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १५ हजार, १० हजार, ७ हजार, ४ हजार र प्रमाणपत्र पाएका छन् ।
महिला समूहतर्फ रस्सी तान्ने प्रतियोगितामा प्रभावशाली आमा समूह प्रथम, चापाचौर आमा समूह द्वितीय र काउले आमा समूह तृतीय भए । प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको महिला सञ्जाल संयोजक डाल्डादेवी भुजलले जानकारी दिइन् ।
कार्यक्रममा पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई निरासा नहुन आग्रह गर्दै कुनै समस्या भए समाधान गर्न महानगर तयार रहेको जनाइन् । युवाका लागि पोखरा महानगरले व्यवसाय प्रवद्र्धन कार्यक्रम ल्याएको जानकारी उनले स्वरोजगार बन्न आग्रह गरिन् ।
पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले यस कार्यक्रमले नेपालीको मौलिक संस्कृति संरक्षण गर्दै ऐतिहासिक ठूलाकोटमा पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । मादी गाउँपालिका प्रमुख देवीजङ गुरुङ,, नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण केसी, नेकपा एमाले जिल्ला सचिवालय सदस्य बैनबहादुर गुरुङ, नेकपा माओवादी केन्द्र पोखरा महानगर समिति सदस्य सूर्यप्रकाश तिवारी, साहित्यकार पदमराज ढकाल, समाजसेवी हरि त्रिपाठी, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली लगायतले कार्यक्रममा बोलेका थिए ।
कार्यक्रममा ख्याति प्राप्त कलाकार रामजी पौडेल, सरस्वती लामिछाने र पुरण गुरुङले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
पोखरा १ मा तीजगीत
पोखरा महानगरपालिका वडा नं. १ ले हरितालिका तीजको अवसरमा अन्तर आमा समूह तीज गीत प्रतियोगिता गरेको । वडाका ११ समूहले सहभागिता जनाएको प्रतियोगितामा नमुना आमा समूह प्रथम भएको छ।
प्रतियोगितामा अभियान महिला समूह द्वितीय, अधिकारी टोल दिदी बहिनी समूह तृतीय र रत्न आमा समूह सान्त्वना रहने । विजयी टोलीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची र वडाध्यक्ष साहारा प्रधानले पुरस्कार वितरण गरे ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति बिखर्चीले कला, साहित्य संरक्षणले मात्र मानव सभ्यताको विकास हुने बताए । वडाध्यक्ष प्रधानले तीज पर्व नेपाली महिलाको मौलिक सास्कृतिक पर्व भएकाले यसको मौलिकतालाई सबै पक्षले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्राध्यापक विष्णुप्रसाद अधिकारी, लागु औषध नियन्त्रण समाज सुधार आमा समूह अध्यक्ष कल्पना बास्तोला, वडा सचिव पोष्टनारायण ढकाल, वडा सदस्य शोभा गुरुङ, श्रीराम पौडेल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया