सम्पादकीय—वायुसेवाहरुलाई गरिएको पत्राचार

काठमाडौंको त्रिभुवन विमानस्थल मर्मत हुने भएपछि त्यहाँ दैनिक १२ घन्टा जति मात्रै उडान गर्न सम्भव हुने भएको छ । १० घन्टा त मर्मतका लागि समय जाने भएको छ । ट्याक्सी वेको मर्मतका लागि दैनिक १० घन्टा उडान बन्द हुने भएपछि नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सार्न यसै साता पत्राचार गरेको छ । त्रिभुवन विमानस्थलको मर्मत कात्तिकबाट सुरु हुँदै छ र ५ महिना मर्मतका लागि समय लाग्नेछ । त्यस अगावै प्राधिकरणले गरेको पत्राचारमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले रेस्पोन्स गरिसकेको कुनै आभास छैन ।
हो, पोखरा र भैरहवाका विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि लायक हुनुको फाइदा त्रिभुवन विमानस्थलको विकल्प बन्न सक्ने देखिएको छ । तर काठमाडौंमै आउनसक्ने जत्तिका ठूला जहाज भने पोखरा नआउन पनि सक्छन् । जुन आकारका जहाज आउन सम्भव हुन्छ, तिनलाई पोखरा ल्याउन प्राधिकरणको पत्राचारले मात्रै काम नहुन सक्छ । सरकारबाटै पहल हुनु आवश्यक पर्ने देखिन्छ ।
नेपालबाट बाहिर जाने र यहाँ आउने यात्रुका लागि अन्तर्राष्ट्रिय उडान जति महत्वपूर्ण छ, त्यति महत्वपूर्ण ती वायुसेवा कम्पनीहरुका लागि नेपाल गन्तव्य नबन्न सक्छ । विकल्पतिर लाग्दा हुने नाफाघाट तिनले पक्कै हेर्छन् । भ्याट लगायत छुट त नागरिक उड्डयन प्राधिकरणले पोखरा र भैरहवा विमानस्थलमा दिने भनेकै छ । त्यसबाहेक पनि नेपाललाई खास घाटा नहुने गरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विकल्पतिर डो¥याउनु श्रेयस्कर हुन्छ ।
नेपालमा अहिले नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर इन्डिया, भिस्तारा, चाइना साउदर्न, एयर चाइना, क्याथे प्यासिफिक, श्रीलंकन एयर, कतार एयरवेज, मलेसिया एयरलाइन्स, मालिन्दो एयर, थाइ एयरवेज, फ्लाइ दुबाई, कोरियन एयर, सिंगापुर एयरलाइन्स, भुटान एरवेज, ड्रुक एयर लगायतथ वायुसेवाले अन्तर्राष्ट्रिय उडान सेवा दिँदै आएका छन् । एक त ठूलो लगानीमा बनेका पोखरा र भैरहवा विमानस्थल चल्न सकेका छैनन् ।
तिनले पनि काम पाउँछन् र यात्रुका लागि पनि सोझै नेपाल प्रवेशको अवसर हुन्छ । विस्तारै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पनि भैरहवा र पोखरा विमानस्थलको बानी पर्दै जान सक्छ । अहिलेलाई त्रिभुवन विमानस्थलको मर्मतको बहानामा पोखरा र भैरहवातिर ठूला र अन्तर्राष्ट्रिय जहाज आए पनि भविष्यका लागि पनि अभ्यास हुन्छ, तिनीहरुलाई पनि अनुभव हुन्छ । यताका धेरै यात्रु रहेछन् भन्ने भयो भने सधैं पोखरा र भैरहवातिरबाट उडान हुन पनि सक्छ ।
तपाईको प्रतिक्रिया