प्रशासनमा स्वास्थ्य सहायता केन्द्र

समाधान संवाददाता २०८१ भदौ १७ गते १२:०७

पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा स्वास्थ्य सहायता केन्द्र र ज्येष्ठ नागरिक विश्राम कक्ष सञ्चालनमा आएका छन् । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले आइतबार दुबै कक्ष सुरुआत गरे ।

Advertisement


उनले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु जरुरी भएको औंल्याए । प्रशासनले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्थापना गरेको स्वास्थ्य सहायत केन्द्रसमेत प्रभावकारी हुनेमा उनी विश्वस्त छन् । केन्द्रमा गण्डकीको स्वास्थ्य मन्त्रालयले स्टाफ नर्स, बेड र निशुल्क औषधी उपलब्ध गराएको जानकारीसमेत मन्त्री थापाले दिए ।


ज्येष्ठ नागरिक समाजको ऐना भएको उल्लेख गर्दै मन्त्री थापाले उनीहरुको सेवामा समर्पित हुनु सरकारको कर्तव्य भएको जनाए । प्रदेश सरकार ज्येष्ठ नागरिक मैत्री कानुन निर्माणमा लागेको उनको भनाइ छ ।


कास्कीका प्रमुख भरतमणि पाण्डेले कार्यालयमा ज्येष्ठ नागरिकको भीड देखेर उनीहरुको स्वास्थ्य सुरक्षाका लागि सहायता केन्द्रको स्थापना गरिएको उल्लेख गरे । विशेषगरी राष्ट्रिय परिचय लिन आउने ज्येष्ठ नागरिकको भीड हुन थालेपछि कार्यालयले विश्राम कक्षको व्यवस्था गरेको हो । प्रशासनले सेवाग्राहीलाई विश्राम कक्षमा नै पुगेर सेवा प्रवाह गर्ने गरी काम गरिने पाण्डेको भनाइ छ ।


ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने वातावरण नबनाउनेतर्फ सचेत भएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवा लिनका लागि दैनिक रुपमा आउने ५० देखि ६० ज्येष्ठ नागरिकलाई विश्रामसहित छुट्टै तवरले विना लाइन सेवा प्राप्त हुने अवस्था सिर्जना गर्ने वाचा गरे ।

Advertisement

तपाईको प्रतिक्रिया