सम्पादकीय—पुस्तकालय र सहर

सहर भनेको केवल ठूला भवन, सपिङ सेन्टर र फराकिला सडक हो भन्ने बुझाइ गलत छ । सहरमा सांस्कृतिक गतिविधि पनि हुनुपर्छ । विकासलाई जसरी भौतिक रुपमा मात्रै बुझिन्छ, त्यसरी नै सहरलाई बुझिएको छ । खासमा शिक्षा, स्वास्थ्यको विकास र सांस्कृतिक रुपमा पनि अब्बल आवास क्षेत्रका रुपमा सहरलाई विकास गरिनुपर्छ । सांस्कृतिक रुपमा र शिक्षामा पनि मानव बस्तीलाई अब्बल बनाउने एउटा महत्वपूर्ण पाटो पुस्तकालय हो । जुन सहरमा पुस्तकालय हुँदैन, बुझ्नुपर्छ, त्यहाँ शिक्षाको विकास हुँदैन, ज्ञानको उत्पादन र विस्तार हुँदैन । ज्ञानबिना गरिएको कुनै पनि विकास खोक्रो हुन्छ । शिक्षाले मानिसलाई सिप दिन्छ भने ज्ञानले विवेक र नैतिकतासहितको जानकारी दिन्छ । ज्ञानको प्रमुख स्रोत भनेको पुस्तक हो ।
पुस्तकालय पुस्तकहरुको भण्डार हो, जहाँ ज्ञानको अथाह स्रोत हुन्छ । पुस्तकालय घरघरमै हुनुपर्छ । केवल विद्यालय र कलेजका किताबले मात्रै मानिसलाई जीवनमा आवश्यक ज्ञान दिन सक्दैनन् । इतिहास, समाज, भूगोल, संस्कृति, विज्ञान जुनसुकै विधाका ज्ञानलाई पुस्तकले हामीसँग बाँड्छ । पुस्तकले हामीलाई विचार निर्माणमा सहयोग गर्छ । ज्ञान, विचार र सिप हस्तान्तरणमा पुस्तकालयले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ । ज्ञान हस्तान्तरण हुँदैनथ्यो भने मानव समाज आजको युगमा आइसक्दैनथ्यो । तसर्थ पुस्तकालय मानव समाजलाई अझै उन्नत बनाउने र अझै सभ्य तथा समुन्नत बनाउने महत्वपूर्ण कडी हो ।
पोखरामा सार्वजनिक पुस्तकालयहरुको सर्वथा अभाव छ । राणाकाल समाप्त भएपछि केही पुस्तकालयहरु खुलेका थिए । केही धिकिरधिकिर चलिरहेका छन् । केही नाममात्रका छन् । खासमा ती चल्तीका बजारु किताबका भण्डारमात्रै भएको पनि प्रतीत हुन्छ । पुस्तकालय भनेको किताबको थुप्रो लगाउने ठाउँमात्रै होइन, ज्ञानमूलक किताबको भण्डार हुनुपर्छ । पुस्तकालय पनि विधागत हुनुपर्छ । सबै पुस्तकालयमा सबैथरी किताब राखेर साध्य हुँदैनमात्रै होइन, राख्नु पनि हुँदैन । कतै इतिहासका किताब, कतै भूगोल सम्बन्धी, कतै समाज सम्बन्धी र कतै प्राविधिक विषयका किताबका पुस्तकालय भयो भने जुन विधामा रुचि छ, त्यही विधाको पुस्तकालयमा गएर रुचि हुनेले अध्ययन गर्न सक्छ ।
पोखरा महानगरपालिकाले पृथ्वीचोकमा निर्माण गर्ने भनेको पुस्तकालय भवन अझै पूरा भएको छैन । महानगरले पृथ्वीचोकमा एउटा पुस्तकालय निर्माण गरेर पुग्दैन । जसरी ऊ वडावडा र टोलटोलमा सामुदायिक भवन वा अरु भौतिक पूर्वाधारका लागि काम गर्छ, त्यसरी नै प्रत्येक वडामा पुस्तकालय निर्माणको अभियानमा लाग्नुपर्छ । तबमात्रै पोखरा पनि समृद्ध सहर बन्न सक्छ । अध्ययन गर्ने र ज्ञानी बन्ने मानिसहरुको सहरका रुपमा पोखरालाई विकास गर्न, समुन्नत सहर निर्माण गर्न धेरैभन्दा धेरै पुस्तकालय निर्माण आवश्यक छ । राणाकालमै नेपालमा पुस्तकालय सुरु भएको थियो ।
गीर्वाणयुद्धविक्रम शाहले १५ भदौ १८६९ मा पुस्तकालयका लागि लालमोहर लगाएका थिए । लिच्छिवीहरुले अभिलेखहरु जतन गरी राख्थे । त्यसैले आज नेपालमा प्रामाणिक इतिहास लिच्छिवीकालबाट पाइन्छ, त्यसअघिको पाइन्न । तर बिडम्वना लोकतान्त्रिक व्यवस्थामा भने पुस्तक र पुस्तकालयपट्टि ध्यान पुगेको छैन ।
तपाईको प्रतिक्रिया