दुई पुस्ताको अनुभवमा पृथ्वीनारायण क्याम्पस

घनश्याम पौडेल २०८१ भदौ १७ गते १२:३९

हामी पुस्ता भन्नाले सामान्यतय ३० वर्षको उमेर फरकलाई मान्छौं । तर पोखराको शैक्षिक क्षेत्रको मियो ६४ वर्षे पृथ्वीनारायण क्याम्पसले विद्यार्थीको हिसावमा ३ पुस्ता गुजारेको भन्ने मैले मानेको छु ।
पहिलो पुस्ता— विसं २०१७ देखि २०४० सम्मका क्याम्पस विद्यार्थी ।
दोस्रो पुस्ता — विसं २०४१ देखि २०६० सम्मका क्याम्पस विद्यार्थी ।
तेस्रो पुस्ता — विसं २०६१ देखि २०८१ सम्मका क्याम्पस विद्यार्थी ।

Advertisement


२०१७ भदौ १७ मा स्थापना भएको पृथ्वीनारायण कलेज आज ६४ वर्ष पूरा गरी ६५ वर्षमा प्रवेश गरेको क्याम्पस भएको छ । यो क्याम्पसको पहिलो पुस्ताका विद्यार्थी स्थापनाकालदेखि २०४० सम्मका विद्यार्थी हुन् भन्ने लाग्छ । यो पुस्ताका विद्यार्थी विद्या र गुरुलाई धेरै आदर गर्थे । स्थापना काल भएर नै होला अग्रजहरुको अनुसार उनीहरु क्याम्पस बनाउने कार्यमा आफ्नो घर सरह ठानेर लागे ।

शिक्षा नै मनुष्यको ज्योतिबिन्दु हो भन्ने ठान्ने यो पुस्ता यो क्याम्पसमात्र हैन अन्य बिभिन्न क्षेत्रमा शैक्षिक संस्था बनाउने र समाजलाई शिक्षाको महत्व बुझाउने असल अनुशासित पुस्ता थियो भन्न सकिन्छ । यही पुस्ता पछि देशका नेतादेखि देश हाक्ने विभिन्न अंगमा पुग्यो । कति त यही क्याम्पसका प्रमुख बने भने शिक्षा क्षेत्रमा धेरै विभिन्न स्थानमा गुरु बने ।


गणेशबहादुर गुरुड., गणेशमान पालिखे, राधेश्याम कमारो, सोमनाथ प्यासी, तारानाथ रानाभाट, गेहेन्द्रेश्वर कोइराला, दिलबहादुर क्षेत्री, महादेव गुरुड., दीपेन्द्रबहादुर क्षेत्री आदि पहिलो पुस्ताका विद्यार्थी हुन्, जसले क्याम्पस लगायत देशका विभिन्न तहमा रहेर कार्य गरे ।


दोस्रो पुस्ताका विद्यार्थी राजनीतिक गतिविधिमा बढी केन्द्रित रहे किनकी तत्कालीन देश र समाजको परिस्थिति एवं युवाहरुमा शैक्षिक चेतनाले राजनीतिक परिर्वतन नगरी देश विकास हुँदैन भन्ने सोचको विकास भइसकेको थियो । यसैले यो दोस्रो पुस्ताको चरणका विद्यार्थी क्याम्पसको विकासभन्दा देश र समाजको विकासमा राजनीतिक परिर्वतन हुनुपर्छ भनेर नेतृत्व गर्ने पुस्ता मैले मान्छु । किनकी यही क्याम्पस वरपर पटकपटक विद्यार्थी र राजनीतिक व्यवस्था बिच झडप भइरहन्थ्यो ।

Advertisement


कहिले काहीँ विद्यार्थी विद्यार्थीबिच वा कहिले विद्यार्थी क्याम्पस प्रशासनबिच झडप भइरहेको विगत छ । २०४६ को राजनीतिक परिर्वतनन यही पुस्ताका विद्यार्थीको योगदान थियो भन्ने लाग्छ । यस पुस्ताका विद्यार्थी पनि देशको नेतृत्व तहमा पुग्नुको साथै अन्य विभिन्न अंगहरुमा पुगेर नेतृत्व लिएका विद्यार्थीको संख्या लाखौं छ । कृष्णबहादुर महरा, खगराज अधिकारी, हितकाजी गुरुड, झलक सुवेदी, रवीन्द्र अधिकारी, धनराज गुरुङ, देवराज चालिसेदेखि पदम गिरीसम्मका अन्य हजारौं छन् ।

क्याम्पसमा धेरै सुधार र विकास भएका पनि छन् तर समयानुकुल प्रविधिमैत्री बनाउन भने अझै सकिएको छैन


तेस्रो पुस्ता विद्यार्थी जस्ले न त धेरै क्याम्पसको विकासमा लागे न त स्वच्छ राजनीतिक रङमा होमिएमात्र पढाइ र आफ्नै करियरमा बढी ध्यान दिने पुस्ताको रुपमा मैले राखेको छु । यो पुस्ताका केही विद्यार्थीहरु पनि राजनीतिक गतिविधिमा होमिएको पाइन्छ तर पनि मेरो विचारमा समाज र देश परिर्वतनभन्दा आफ्नो परिर्वतनको महत्व खोज्ने पुस्ताको रुपमा मैले ठानेको छु । यो नितान्त व्यक्तिगत धारणा हो तर पनि देशको राजनीतिक परिस्थिति र भूमण्डलीकरण पनि होला यो पुस्ता सामाजिक भन्दा स्वार्थी बढी भएको मान्छु ।


खुला मिडिया वा सोसल मिडियाले पनि हामी सबैलाई आफ्नो प्रोफाइल स्टाटस र आफ्नो प्रगतिमात्र देख्ने बनाएको छ भने त्यही मानसिकता आम विद्यार्थीमा पर्नु सामान्य कुरा नै हो । यो पुस्ताले माओवादी द्वन्द्वको अन्तिम चरण देख्न भोग्न पायो भने विस २०६२∕६३ आम्दोलनमा प्रतक्ष संलग्न रह्यो । पछि संविधान सभा, चुनावदेखि जातीय गतिविधि एवं साम्प्रदायिक आम्दोलनहरुका प्रभाव पनि रहे तर पनि समग्र समाज देशभन्दा केवल म र मेरो समूह समुदाय भन्ने पुस्ता हो यो भन्ने लाग्छ ।

यसैले यो पुस्ताका नेतृत्व तहका विद्यार्थी समेत धेरै विद्यार्थीे देश बनाउने चिन्ता भन्दा विदेश जाने र आफ्नो जीवनस्तरको विकास गर्ने तर्फ लागेको पाइन्छ । यो विद्यार्थीको गल्ती कमजोरी अवश्य हैन समयको माग पनि हो भने ग्लोबलाइजेसन र सोसल मिडियाको प्रभाव पनि हो ।


पृथ्वीनारायण क्याम्पस नेपालको सवै भन्दा ठूलो क्याम्पस हो । किनकी यसमा पढ्ने विद्यार्थीको संख्या हाल पनि १२ हजारभन्दा धेरै छन् । पढाउने शिक्षक ५ सयभन्दा बढी छन् । एक सयजना कर्मचारी छन् जसले प्रत्यक्ष रोजगारी पाएका छन् । मानविकी, विज्ञान, शिक्षा, कानुन र व्यवस्थापन गरी ५ फ्याकेल्टीमा ३३ विषयमा बिहान दिउसो साँझ गरी विद्यार्थी पढ्छन् ।

फेर क्षेत्रफलको हिसावमा पनि ७ सय १५ रोपनीमा फैलिएको यो क्याम्पसका १०८ साना ठूला शैक्षिक प्रशासनिक भवन छन भने ५२ वटा व्यापारिक सटरकवल छन् । करिब ९५ हजार पुस्तक र १० हजार थेसिस रहेको पश्चिमाञ्चल पुस्तकालय, कम्प्युटर ल्याब, प्रयोगशाला, मल्टीमिडिया, सभा, सेमिनार हल, खानेपानी, छात्रवास एवं खेलमैदानहरु गरेर प्रशस्त पूर्वाधार भएको यो क्याम्पसमा अझै समयसापेक्ष भौतिक संरचनाको खाँचो देखिन्छ ।


वार्षिक झण्डै ४० करोड रुपैयाँ क्याम्पस सञ्चालन खर्च रहे पनि अन्तरिक आय करिब १२ करोडमात्र छ । त्रिभुवन विश्वविद्यालय अनुदान तथा सरकारी स्रोत आदिबाट क्याम्पसको नियमित झण्डै ३० करोड नियमित बजेट छ । दुखको कुरा यो क्याम्पस देशकै ठूलो र शक्ति सम्पन्न भए पनि बर्सेनि करिब १० करोड रुपैयाँ घाटा बजेटमा चलिरहेको छ ।

तर हाम्रो अग्रज विद्यार्थी शिक्षकहरु झै क्याम्पस कसरी कुन अवस्थामा चलेको छ र अब के गर्नुपर्छ भन्ने गहिरो चिन्ता अहिलेका विद्यार्थीमा र शिक्षक तथा प्रशासन हाक्नेहरुमा पनि भएको पाइँदैन । त्यसैले पनि यो तेस्रो पुस्ताले धानेको क्याम्पस भएकाले मलाई अहिलेको पुस्ता स्वार्थी पुस्ता त हैन भन्ने लाग्छ, यो मेरो नितान्त ब्यक्तिगत धारणा हो ।


पर्यटकीय सहर पोखराको मुटुमा रहेको यो सुविधा सम्पन्न क्याम्पस जे जस्ता बाधा अवरोध भए पनि नेपालकै ठूलो क्याम्पस बन्न सकेको छ । वास्तवमा यो त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आफै एक विश्वविद्यालय हो । यही क्याम्पसमा म एक विद्यार्थीको नाताले दुई पुस्तामा पढ्ने अवसर पाएको भाग्यमानी विद्यार्थी मलाई ठान्छु । प्राय यो क्याम्पसमा एक पुस्तामा पढेर अर्को पुस्तामा पढाउन आउने गुरुहरु छन् तर म यस्तो विद्यार्थी हुँ जसले दोस्रो पुस्ता अर्थात २०४६ देखि २०५२ सम्म कानुनमा प्रमाणपत्र तह र स्नातक तह पढे ।

फेरी २७ वर्षपछि समाजशास्त्रमा स्नातकोत्तर गर्न २०७८ देखि ८१ सम्म पढ्न आइपुगेँ । यसैले म यो क्याम्पसको दोस्रो पुस्ता र तेस्रो पुस्ताको विद्यार्थी बन्न पुगेको हुँ । अर्को तर्फ तत्कालीन देशको अग्रणी सञ्चार माध्यम कान्तिपुर मिडियामा २०५८ देखि २०६५ सम्म पोखरामा नै रहेर ससक्त पत्रकारिता गर्ने अवसर पाएका कारण पनि क्याम्पसका गतिविधि पत्रकारको नाताले नजिकबाट हेर्ने, बुझ्ने मौका पाएको थिएँ ।


यही समयखण्डमा पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रार्चाय जर्ज जोन सरको पुस्तक अशल गुरु लेखनका लागि मेरो साथी अमृत भादगाउँले लाग्नुभएको थियो । त्यस पुस्तकको फोटो संयोजनको कार्य मैले गर्ने मौका पाएको थिए । क्याम्पसकै पहिलो दोस्रो ब्याचका विद्यार्थीहरुसँग अन्तर्वार्ता गर्ने मौका समेत पाएको थिएँ । त्यसैले पनि अघिल्लो पुस्ताका केही अग्रज मान्यवरहरुसँग साक्षात्कार हुने मौका मिलेको थियो भने आज भन्दा २० वर्ष अगाडि नै जर्ज जोन सरका अनुभव सुन्ने मौका पाएको थिए । उहाँले बाटुलेचौरबाट बास र खर बोकेर ल्याई कलेज बनाएको देखि चर्पीमा चुरोट पिउने विद्यार्थीलाई सजाय दिन आगो लाग्यो कि भनेर बाल्टीमा पानी बोकेर चर्पी अगाडि उभिएको किस्साहरु सुनाउनुभएको थियो ।


आज लामो समयको विदेश बसाई र अनुभव पछि फेरि आफ्नै छोराछोरीका उमेरका भाइबैनी र साथीहरुसँग बसेर समाजशास्त्रमा स्नाकोत्तर पढ्ने अवसरले मलाई पृथ्वीनारायण क्याम्पसको बारेमा केही लेख्न आँट आएको हो । म लामो समय संयुक्त राज्य अमेरिकामा बस्दा त्यहाँको सर्वोकृष्ट १० मध्यका नर्थ क्यारोलिना राज्यको दुराम सहरको ड्युक युनिभर्सिटी र क्यालिफोर्निया राज्यको सिलिकन भ्यालीको स्ट्यानर्फोड युनिभर्सिटी नजिक बसेको छु । त्यहाँ पढ्ने पढाउने मौका नपाए पनि एक सहर बासिन्दा र स्थानीयको नाताले ती दुई युर्निभर्सिटी मेरो विदेश बसाइको क्रममा मुख्य फुर्सत समय काट्ने स्थान थिए ।

यसैले पनि विश्वविद्यालयको बाहिरी वातावरण मात्र भए पनि देखेको म हाम्रो पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर पढ्न आउँदा पहिलेभन्दा भौतिक संरचना निकै खस्केको देख्दा सारै दुख लाग्छ । म एक सामान्य विद्यार्थीले त के नै गर्न सक्छु र तर पनि प्रशासनिक तथा शैक्षिक क्षेत्रका अस्तव्यस्तता र कलेजको भौतिक संरचना देख्दा मलाई जर्ज जोन सर र पहिलो पुस्ता अझ पहिलो ब्याचका विद्यार्थीका भनाइ याद आइरहन्छ ।

आज हाम्रो क्यान्टिन र त्यसपछिको पुरुष छात्रवासको अवस्था देख्दा दुख लाग्छ भने हाम्रो नमुना पुस्तकालयको अवस्था त्यस्तै नाजुक छ । क्याम्पसमा धेरै सुधार र विकास भएका पनि छन् तर समयानुकुल प्रविधिमैत्री बनाउन भने अझै नसकिएको हो कि भन्ने लाग्छ । आशा गरौं अबको चौथो पुस्ताले पक्कै यो सुन्दर नगरी पोखराको रमणीय पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालयमा परिणत गराउने छ र देशको मात्र हैन संसारकै उत्कृष्टमध्येको एक विश्व विद्यालय बनाउने अभियानमा अवस्य लाग्ने छन् । धन्यवाद ।


पौडेल पृथ्वीनारायण क्याम्पसको स्नातकोत्तर तह समाजशास्त्रका विद्यार्थी हुन् ।

तपाईको प्रतिक्रिया