राष्ट्रिय पुस्तकालय दिवस, भदौ १५
पठन संस्कृति बढाउने पुस्तकालय
पुस्तकालय शब्द संस्कृत भाषाको ‘पुस्तक र आलय’ दुई शब्द मिलेर बनेको हो, जसको अर्थ पुस्तकहरु राखिएको घर भन्ने बुझिन्छ । पुस्तकालय ज्ञानको भण्डार हो । किताब अर्थात् पुस्तक, पत्र /पत्रिका, नक्सा, चार्ट, फिल्म आदि जस्ता सामग्रीलाई व्यवस्थित गराई शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रलाई पुस्तकालय भनिन्छ ।
पुस्तकालयबाट हामी हरेक किसिमको ज्ञान पाउन सक्छौं। पढाइ मान्छेको जीवनमा एउटा यस्तो कुरा हो जसले जीवन परिवर्तन गर्न सहयोग गर्दछ । किताब बिनाको जीवन निरर्थक हुन्छ । किताब बिनाको जीवनले ढुंगेयुगको स्मरण गराउँछ ।
आज समाजमा जति पनि विकास भएको छ, चाहे त्यो सामाजिक होस्, चाहे साँस्कृतिक होस्, चाहे प्राविधिक होस्, हरेक परिवर्तनमा पुस्तकको ठूलो हात छ । पढाइ मान्छेको जीवनमा एउटा यस्तो कुरा हो, जसले जीवन परिवर्तन गर्न सहयोग गर्छ । पुस्तकविनाको जीवन निरर्थक हुन्छ र जीवनको महत्व हुँदैन ।
मानव सभ्यताको सुरुवातसँगै पुस्तक र पुस्तकालयको सुरुवात भएको ऐतिहासिक तथ्य पाइन्छ । नेपालमा विसं १८६९ मा पृथ्वीनारायण शाहले युद्ध जितेपछि जम्मा भएका हस्त लिखित ग्रन्थहरु व्यवस्थित गर्न पुस्तकालय स्थापना गरेको पाइन्छ । राणाकालमा मोतीराम भट्टले ‘लाइबे्ररी’ सुरु गरेको इतिहास छ ।
नेपालको संविधान–२०७२ को भाग ४, धारा ५१, ज को ४ मा नागरिकहरूको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्रका रूपमा पुस्तकालयको स्थापना र प्रवर्धन गर्ने कुरा उल्लेख गरेको छ । हाल नेपालमा शैक्षिक पुस्तकालय, नागरिकस्तरबाट वा सामुदायिक संघसंस्थाद्वारा स्थापना गरिएका सामुदायिक पुस्तकालय, इन्टरनेटजडित थुप्रै कम्प्युटर र तिनका माध्यमबाट प्राप्त हुने डिजिटल अध्ययन सामग्री भएका ई पुस्तकालयहरु छन् ।
मानिसहरुले पुस्तकालयमा उपलब्ध हुने पुस्तक, कम्प्युटर तथा अन्य विद्युुतीय स्रोतमार्फत आधुनिक सूचनाप्रविधिको क्षेत्रमा आफ्नो ज्ञानको पहुँच बढाउन सक्ने, उपलब्ध पुस्तक, पत्रपत्रिका, श्रव्य–दृश्य आदि स्रोत सामग्रीको अध्ययन अवलोकन गरी आफ्नो रुचि अनुसार ज्ञान र सीपको परिधिलाई बढाउन सक्ने हुँदा यसको महत्व स्पष्ट छ ।
विद्यार्थीले विद्यालय र कलेज बाहेकको फुर्सदको समयलाई सदुपयोग गर्न, आफ्नो कला, सीप र क्षमता अभिवृद्धि गर्न पुस्तकालय प्रयोग गर्न सक्छन् । ऐतिहासिक पुस्तक, लेख, रचना आदिको अभिलेख र संरक्षणका लागि, पनि पुस्तकालयको उपयोग गर्दै पठन संस्कृतिको विकास गर्न सकिन्छ ।
समाजमा सकारात्मक परिवर्तन ल्याउन पुस्तक भन्दा ठूलो हतियार अरु छैन । आफू नमरी स्वर्ग देखिन्न भनेझैं नपढिकन संसार बुझिन्न । नेपालमा औपचारिक रूपमा विसं १८६९ भदौ १५ गते राजा गीर्वाणयुद्ध विक्रम शाहले पुस्तकालय सम्बन्धी लालमोहर जारी गरेको दिनलाई आधार मानेर नै पुस्तकालय दिवस मनाइएको हो । पुस्तकालय सेवा प्रारम्भ भएको दिन भएकाले ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरिन्छ ।
आफू नमरी स्वर्ग देखिन्न भने झैं नपढिकन संसार बुझिन्न
पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवं पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा विसं २०६५ देखि हरेक वर्ष भदौ १५ गतेका दिन राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी मनाउन सुरू गरिएको हो । यस अर्थमा नेपालमा संस्थागत रूपमा पुस्तकालय स्थापना भएको २०० वर्षभन्दा लामो इतिहास पूरा भएको छ । जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको मान्न सकिन्छ । हरेक व्यक्तिको हातमा पुस्तक भइदिए र त्यसको महत्व बुझ्न सके वास्तवमै यो दिवसको लक्ष्य सार्थक हुन्छ जस्तो लाग्छ ।
‘सय जना राम्रा साथी बराबर एउटा उत्तम पुस्तक हुन्छ त्यसकारण पनि एउटा पुस्तकालय असल साथीजत्तिकै हुन्छ भनेर प्रसिद्ध वैज्ञानिक एवम् भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले भनेका थिए भने दार्शनिक प्लेटोले ‘जुन घरमा एउटा पुस्तकालय हुन्छ, त्यो घर जीवन्त हुन्छ’ भनेका दृष्टान्त पाइन्छन् ।
समाजको अग्रगामी विकास र रुपान्तरणमा पुस्तक र पठन संस्कृतिको ठूलो भूमिका रहिआएको छ । पछिल्लो समय सूचना र प्रविधिमा भएको अभूतपूर्व विकासले डिजिटल/इ–लाइब्रेरी, अनलाइन लाइब्रेरी जस्ता प्लेटफर्म उपलब्ध भएका छन् ।
पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नै विविध कार्यक्रम गरी पुस्तकालय दिवस मनाइन्छ । कुनै पनि समाज वा राज्यले ज्ञान निर्माणमा कत्तिको महत्व दिएको छ भन्ने कुरा त्यहाँ उपलब्ध पुस्तकालयहरुको अवस्थाले बताउँछ । ज्ञान आर्जनमा उत्सुकता जगाउन र प्रेरित गर्न राज्यले पुस्तकालयमा लगानी गर्नुपर्ने हुन्छ । अहिले धेरै सार्वजनिक स्थलहरु अतिक्रमित भइसकेको अवस्था छ । व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका क्याम्पस र सामुदायिक विद्यालयका भवन र जग्गामा पुस्तकालय सञ्चालन गरेर ज्ञानको ज्योति छर्न सकिन्छ ।
विश्वविद्यालयका विद्यार्थीका लागि शोध कार्यका लागि पुस्तकालय अपरिहार्य छ । प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तकालयमा गएर अध्ययन गर्ने पाठकको संख्या घट्दो छ । पुस्तकालयविना हाम्रो सभ्यता अधुरो हुन्छ । विश्वका प्रख्यात शहरको इतिहास पढ्दा सभ्यतालाई समृद्ध बनाउन पुस्तकालयहरुको अहम् भूमिका रहेको देखिन्छ । देशका हरेक शहरमा पुस्तकालयहरु बन्नुपर्छ ।
पुस्तकालयमा राखिएका पुस्तकहरु पनि उपयुक्त स्याहार सम्भारको कमीले जीर्ण बनेका पाइन्छन् तिनको जतन हुनु जरुरी छ । पुस्तकालय पुस्तकहरुको संग्रहालय मात्रै बनाइनु हुँदैन । ज्ञानको संवाद र साक्षात्कार गर्ने पवित्र स्थल बनाइनु पर्छ । अनुसन्धानमुखी प्राज्ञिक प्रतिष्ठानका सभा र गोष्ठी सञ्चालन गरी पाठक सहभागिता बढाउनु पर्छ अनि मात्र पठन संस्कृतिको विकास हुन्छ ।
विद्यालय तहदेखि उच्च शिक्षा अध्ययन गर्ने आमविद्यार्थीलाई पुस्तकालयबारे ज्ञान दिनु जरुरी छ । सबै विद्यालयहरुले कमसेकम एक पटक हरेक विद्यार्थीलाई पुस्तकालय अवलोकन गर्ने व्यवस्था गर्न सके कति राम्रो हुन्थ्यो ! बालबालिकामा देखासिकी गर्ने गुण हुन्छ । हामीले देखाउने मार्गदर्शनले उनीहरुको चेतनास्तर फराकिलो बन्छ । इतिहासलाई हेर्दा पनि पुस्तकालयले क्रान्तिको चेत निर्माण गर्न अहम् भूमिका निर्वाह गरेको पाइन्छ ।
सामाजिक र शैक्षिक जागरणको सूत्रधारका रुपमा पुस्तकालयलाई लिन सकिन्छ । मकै पर्व, लाइब्रेरी पर्व जस्ता घटनाले नेपालमा राजनीतिक परिवर्तनमा भूमिका खेलेका थिए । नेपालीहरुमा चेतनाको बिजारोपण गरेका थिए । खास गरेर २००७ सालको राजनीतिक परिवर्तन र त्यसपछि भएका हरेकजसो जनआन्दोलनमा पुस्तकालयको महत्वपूर्ण योगदान रहेको पाइन्छ ।
पुस्तकालयहरु आधुनिक समयका शैक्षिक प्रतिष्ठान, टोल, छिमेक, बस्ती, समुदायमा भएमात्रै चेतनशील समाज निर्माण हुन्छ । पुस्तकालयहरु पठन संस्कृतिका आधारस्तम्भ हुन् । अझ विश्वविद्यालय, स्कुल र कलेजहरुका लागि त पुस्तकालय अनिवार्य संरचना हुन् । सचेत अभिभावकले आफ्ना नानीबाबुहरुका लागि विद्यालय छनोट गर्दा पुस्तकालय छ छैन, चासो राख्नुपर्छ । पुस्तकालयको उपयोग गर्ने बानी विद्यार्थी जीवनबाटै थालनी गर्नुपर्छ ।
प्रविधिको सिर्जनात्मक प्रयोग गर्न नयाँ पुस्तालाई प्रेरित गरौं । अनिमात्र पठन संस्कृतिको विकास हुन्छ । पुस्तकालयको औचित्य र ज्ञानबाट हुने लाभका विषयमा चर्चा गरौं । पठन संस्कृतिको जगेर्ना गर्दै यसको प्रवर्द्धन गरौं । यो संसारमा पुस्तकको अभाव छैन । हरेक वर्ष विभिन्न विषयका थुप्रै पुस्तकहरु थपिने क्रम जारी छ । तर प्रकाशित र आवश्यक जति सबै पुस्तक पठनपाठनको सहज वातावरण बन्न निकै कठिन छ ।
नेपालजस्तो ग्रामीण क्षेत्र बढी भएको मुलुकमा आवश्यक र पठनीय पुस्तकहरु जताततै पाइन सहज छैन । यही अभावलाई पूर्ति गर्दै सकेजति ठाउँमा पुस्तक पुर्याएर र पठनपाठनको व्यवस्था मिलाउनु निकै चुनौतीपूर्ण भएपनि यसको सामना गर्दै देशका विभिन्न स्थानमा स्थापना भएका पुस्तकालयहरुले ज्ञानभण्डारको विस्तार गर्ने काम गरिरहेका छन् र पठन संस्कृतिको विकासमा टेवा पुर्याएका छन् ।
पुस्तकालयका लागि स्थानीय सरकारले विशेष ध्यान दिनु आवश्यक छ । हरेक स्थानीय तहको वडा–वडामा सामुदायिक पुस्तकालय र सबै विद्यालयमा व्यवस्थित पुस्तकालयको व्यवस्थापनमा स्थानीय सरकार गम्भीर बनिदिए तथा राज्यले ‘एक गाउँ एक पुस्तकालय’ तथा ‘एक विद्यालय एक पुस्तकालय’को नीतिको प्रभावकारी कार्यान्वयन गरिदिए पठन संस्कृतिको विकासमा थप टेवा पुग्ने आँकलन गर्न सकिन्छ ।
भएका पुस्तकालयलाई समृद्ध बनाउँदै नयाँ पुस्तकालय स्थापनामा राज्यको ध्यान पुग्न आवश्यक छ । सूचना प्रविधिको विकास र बिस्तारसँगै पठन संस्कृतिमा आएको ह्रासले पुस्तकालयको महत्व कम देखिए पनि सूचना प्रविधिबाट सतही सूचनामात्र पाइन्छ, गहन र विस्तृत अध्ययनका लागि त पुस्तकालय नै अपरिहार्य हुन्छ भन्ने बुझाउन जरुरी छ ।
पुस्तकालयहरुको उचित व्यवस्थापन गरी पठन संस्कृतिको विकास गर्न पुस्तकालयहरुमा ज्ञानमूलक सामग्री सुव्यवस्थित रुपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र बनाउनु पर्दछ । धेरैलाई पुस्तकालय शिक्षा क्षेत्र सम्बन्धितका लागि मात्र हो भन्ने पर्छ । यो गलत हो । समुदायको विकास गर्न र सभ्य बनाउन पुस्तकालयको महवपूर्ण भूमिका हुन्छ ।
पुस्तकालय सबैका लागि ज्ञानको भण्डार हो । विद्यालय पछिको ज्ञान प्रदान गर्ने र चेतनाको किरण फैलाउने कुञ्ज पुस्तकालय नै हो । अहिलेका बालबालिकामा पढ्नुपर्छ भन्ने नै छैन । सानैदखि किताबमा आकर्षण भए पो पछिसम्म पढ्ने बानीको विकास हुन्छ । पुस्तकालय हाम्रो शैक्षिक, समाजिक, मानसिक, आत्मिक र संस्कृतिक रुपान्तरणमा सहायक हुन सक्छ । सीमित वर्गका व्यक्तिहरुले बेलाबखत पुस्तक र पुस्तकालय संस्कारका विषयमा बहस चलाए पनि ठूलो हिस्सा अझै पठन संस्कृतिबाट विमुख छ ।
चिया पसल वा चौतारीमा बसेर घन्टौं गफ गरेर समय व्यतित गर्ने हामी नेपालीहरुमा पुस्तकालयमा गएर अध्ययन गर्ने र बौद्धिक मन्थन गर्ने संस्कारको विकास हुन सकेको छैन त्यसैले पठन संस्कृतिको सुरुवात सबैभन्दा पहिले घरबाटै हुनु जरुरी छ । हरेक अभिभावहरुले दिनको केही समय मात्रै भए पनि पढेर पुस्तकलाई साथी बनाउने संस्कार सुरु गर्न सके भावी सन्ततीलाई पुस्तक किनेर पढ भनेर भनिरहनु पर्ने छैन किनकी पठन संस्कृति ज्ञान लिन र दिनका लागि हो । हामीले समाजबाट नै लिने हो र यही समाजलाई दिने हो ।
विद्यालय र विश्वविद्यालयमा पढाउने मात्र शिक्षक होइनन् । जसले जीवनमा बाँच्नका लागि केही न केही सिकाउँछन् ती पनि हाम्रा लागि शिक्षक हुन् । पठन संस्कृतिको विकास गर्न, साहित्यिक कार्यक्रमहरु, गोष्ठी, पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव समेत उपयोगी हुन्छन् । सचेत समाज निर्माण गर्न नपढी सुखै छैन । ज्ञान बिना समाज चल्दैन र ज्ञान आर्जन गर्न पढ्नै पर्दछ ।
पठन संस्कृतिको विकास भएन भने सामाजिक चेतनाको स्तर नकारात्मक दिशातर्फ जान्छ । तसर्थ मुद्रित पुस्तकहरुबाट गहन अध्ययन गर्ने अवधारणालाई बलियो बनाउदै लैजानुपर्दछ । पढ्नु मानवीय क्रियाकलापको महवपूर्ण पक्ष हो । सामूहिक र व्यक्तिगत चेतना विस्तार गर्न पठन संस्कृतिको महवपूर्ण भूमिका हुन्छ । युरोपदेखि अमेरिकासम्मको आधुनिकताको विस्तारमा पठन संकृतिको निर्णायक भूमिका थियो । हामी सरकारी निकायले यो गरेन, त्यो भएन भनेर टिप्पणी गरिरहेका हुन्छौं । वास्तवमा समस्या हामीभित्रै छ । अग्रजहरुले जे गर्यो, बालबालिका र युवाहरुले त्यही अनुसरण गर्छन् तसर्थ पुस्तकालय जाने र पढ्ने बानीको विकास गरौं ।
अब प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा पुस्तकालय बनाउनु पर्छ ।२१औं शताब्दीका पुस्तकालयहरु प्रविधियुक्त हुन जरुरी छ । पुस्तकालयमा गएर अध्ययन गर्ने पाठकको संख्या घट्दो भएको अवस्थामा सिकाइ र छलफल गर्न सकिने ठाउँ बन्न सक्नुपर्छ भन्दै हालसालै दीपशिखा सामुदायिक पुस्तकालय र पोखरा सार्वजनिक पुस्तकालयको आयोजनामा पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुको सम्मेलनले पठन संस्कृतिको विकासमा पुस्तकालयहरुको अहम भूमिका रहेकोमा जोड दिएको छ ।
ज्ञानको सागरको रुपमा रहेका पुस्तकालयहरुको संरक्षण गर्नु समाजका सबै नागरिकको कर्तव्य हो । पठन संस्कृतिको विकास गर्नको लागि पुस्तकालय दिवसले पनि प्रोत्साहित गरिरहेको हुन्छ । पुस्तक पढ्ने बानीको विकास गरेर पुस्तकालयको महत्व बढाउँदै पठन–संस्कृति विकासका लागि पाठकमैत्री पुस्तकालयको व्यवस्थामा जुटौं । हामीले निर्माण गर्ने भनिएका स्मार्ट सहरहरुमा पठन संस्कृतिको विकास गर्न लागि परौं । पठन संस्कृतिलाई मनोरञ्जनको विकल्पका रुपमा अघि सारौं ।
सार्वजनिक स्थलहरु जस्तै पार्क, बस स्टप, र यात्रु प्रतिक्षालयहरुमा पत्रपत्रिका र पुस्तकहरुको उचित व्यवस्था गर्न तिर लागौं। जन्मदिवस र विवाह उत्सवहरुमा पुस्तक उपहार दिने चलन चलाउँदै पठन संस्कृतिको विकासमा पुस्तकालयको भरपुर प्रयोग गरौं । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको १७ औं पुस्तकालय दिवसको शुभकामना ।
पौडेल दीपशिखा सामुदायिक पुस्तकालय पोखरा–२९, भण्डारढिकका कार्यसमिति सदस्य हुन् ।
तपाईको प्रतिक्रिया