कथा छाडेर जीवन बोल्न थाले तीजगीत

पोखरा ।
अहिलेका तीजगीतमा वर्तमानका समस्या र जनजीवनको गहिरो चित्रण देखिएको छ । कर्मघरका कथा, व्यथा सुनाउने र पुराना गाथा गाउने तीजका गीतहरु अहिले बद्लिँदै गएका छन् । एकाध विकृत गीत छाड्ने हो भने नेपाली तीजगीतमा अहिलेका महिलाको अवस्था, देश र समयको यथार्थ पाइन्छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ ले शनिबार आयोजना गरेको कार्यक्रममा त्यस्तै गीतहरु सुनाइए । कार्यक्रममा सरिक भएकी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले एकाधबाहेक सबैजसो तीजगीतले महिलासहित समग्र नेपाली समाज र देशका समस्या उजागर गरेको जनाइन् ।
उनले भनिन्, ‘हाम्रा समस्या सुल्झाउन यी गीतहरुले पनि अप्रत्यक्ष रुपमा पाठ्यक्रम परिमार्जन गर भनेका छन् ।’ शिक्षामन्त्री भट्टराईले अहिलेको परीक्षा प्रणालीका समस्याहरु पहिचान गरी समाधानका उपाय खोज्न मन्त्रालय केन्द्रित रहेको उल्लेख गरिन् ।
तीजगीतमा महिला उद्यमशीलता बढाउन, साइबर अपराध घटाउन र पर्यटन राजधानीलाई प्रवर्धन गर्ने विषय समावेश थिए
आधा विद्यार्थी अनुत्तीर्ण हुने शिक्षण पद्धति र परीक्षा प्रणालीमा परिमार्जन गर्नैपर्नेमा उनको जोड छ । मन्त्री भट्टराईले थपिन्, ‘परीक्षा प्रणालीको पुनर्मूल्यांकन जरुरी छ । केही योजना बनिसकेका छन् ।’ विश्वविद्यालयहरुले पाठ्यक्रम बनाउँदा सरोकारवालासँग सहकार्य गर्नुपर्ने र आवश्यकता अनुसारका जनशक्ति तयार पार्नुपर्ने उनले धारणा राखिन् ।
परम्पराको रक्षा, संस्कृति सम्वर्धन गर्दै उद्यमशील हुनुपर्ने सन्देश दिने गीतहरुले नेपाल र नेपालीको समृद्धिमा योगदान गर्ने मन्त्री भट्टराईले बताइन् । शिक्षित जनशक्तिलाई व्यक्तित्व विकासँगै समाज र राज्यका लागि पनि योगदान गर्नुपर्छ भन्ने मनन गर्न उनको आग्रह छ ।
पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले पुराना गाथा, कथा सुनाउने तीजगीतमा अहिलेको जनजीवन र समाज आउनु सकारात्मक परिवर्तन भएको उल्लेख गरिन् । उनले महिला सशक्तीकरण र संस्कृति संरक्षणलाई सँगसँगै लैजान यस खालका कार्यक्रम स्थानीय सरकारले गरेको जनाइन् ।
वडा स्तरीय तीजगीत प्रतियोगितामा दामोदर खोला समावेशी महिला समूह प्रथम, शेरा जागृति आमा समूह दोस्रो र समृद्धि महिला समूह तेस्रो बने । सुशान्त आमा समूह र बगलटारी आमा समूह सान्त्वना ठहरिए । एकता दिदीबहिनी समूहको नृत्य उत्कृष्ट ठहरियो भने शुभकामना आमा समूहले भेषभूषामा पुरस्कार पायो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १५ हजार, १० हजार, ८ हजार र ५ हजारका साथमा प्रमाणपत्र पाए । उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभूषालाई जनही दुई हजार पाँच सय प्रदान गरियो । प्रतियोगिताका निर्णायकमा बालकृष्ण वाग्ले, शान्ति बर्देवा र करण तामाङ थिए ।
महिला उद्यमशीलता, साइबर अपराध, पर्यटन राजधानी पोखरा जस्ता विषय समावेश गरी सहभागीले गीत र नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा पोखरा १७ का २३ समूह सहभागी थिए ।
कार्यक्रममा पूर्वअध्यक्ष तीर्थराज अधिकारीले यस खालका कार्यक्रमले संस्कृति जोगाउन र महिलालाई सशक्त बनाउन दुवैतिर काम गर्ने जनाए ।
वडा सदस्यसमेत रहेकी विष्णुकुमारी थापाको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, समाजसेवी डिआर भट्टराई, पूर्व वडा सदस्य बैकुण्ठ भडारी, छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा भुसाल, पार्दी माविका प्रधानाध्यापक बामदेव पौडेल, माओवादी केन्द्र पोखरा १७ अध्यक्ष गान्धी गुरुङ, पत्रकार शुष्मा पौडेल, वडा कार्यालयकी सूचना अधिकारी प्रमिला सुवेदी लगायतले बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया