मिस मगरको ट्यालेन्ट राउन्ड
पोखरा ।
सातौं संस्करणको निट डेन्टल केयर प्रिजेन्ट्स मिस मगर नेपाल २०२४ का अन्तिम ११ प्रतिस्पर्धीले सेल्फ ट्यालेन्ट राउन्डमा आफ्ना प्रस्तुति राखेका छन् । शनिबार आयोजित सेल्फ ट्यालेन्ट राउन्डमा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही पियानो बजाउने, अभिनय र विषयगत प्रस्तुति राखे ।
विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेको टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन् । निर्णायकमा राहुल थापामगर, जसु गरुङ र थमनसिंह थापामगर थिए ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंह चन्दले अहिलेका युवा पुस्तालाई विदेश पलायन हुने सपना नदेख्न सुझाव दिइन् । देशमा बसेर केही गर्ने सोंच बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले पैसालाई मात्रै सबै थोक ठान्न नहुने धारणा राखिन् ।
एमबी आस्थाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछा, नेपाल मगर संघ कास्की अध्यक्ष रामबहादुर थापा, कार्यक्रम संयोजक रुद्र श्रीस, मिस मगर नेपाल २०२२ की थर्ड रनर अप प्रियंका गर्बुजा लगायतले बोलेका थिए ।
सातौं संस्करणको मिस मगर नेपालको ग्रान्ड फिनाले भदौ २२ गते हुने कार्यक्रम निर्देशक सुरज थापाले जानकारी दिए ।
सुस्मिता पुन, बिनु राना, दिवा पाइजा, कविता थापा, दीक्षा थापा र उमा पुनको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दीपिका आले (रामेछाप) आशिका गर्बुजा (बेगखोला, म्याग्दी), अनुजा पुन (तंग्राम, बागलुङ) नरिशा पुन (मुदी, म्याग्दी), सरिता थापा (मन्थली, रामेछाप), माया दर्लामी (वालिङ, स्याङ्जा), रश्मि आले (गौशाला, महोत्तरी), जानकी राजकोटी (बर्दीबास, महोत्तरी), अश्मिता बुढा (जेल्बाङ, रोल्पा), कृष्टिना पुन (दग्नाम, म्याग्दी) र जेरुशा सारु (काठमाण्डौं) छन् ।
तपाईको प्रतिक्रिया