‘प्रहरी ऐनमा सामुदायिक समेटिनुपर्छ’

समाधान संवाददाता २०८१ भदौ १८ गते १०:४७

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकको २४ औं वार्षिक साधारण सभा भएको छ । सभाले सचिव उत्तम जोशीले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष तीर्थ शर्मा ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।

Advertisement


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको सामुदायिक सेवा केन्द्रलाई नेपाल प्रहरीको कानुनले नचिन्ने जनाए । उनले नेपाल प्रहरीको नयाँ बन्ने ऐनमा सामुदायिक सेवा केन्द्रको भूमिकालाई समेटिन लागेको उल्लेख गरे ।


गृह मन्त्रालयको निर्देशिका अनुसार काम गरेका सामुदायिक सेवा केन्द्रलाई नेपाल प्रहरीको ऐनमा समेटेपछि काम गर्न सहज हुने उनले उल्लेख गरे । ‘स्थानीय जनता र नेपाल प्रहरीको संयुक्त सहभागितामा सामुदायिक सेवा केन्द्र सञ्चालित छन्,’ उनले भने, ‘नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदा तयारीको क्रममा छ । नयाँ बन्ने प्रहरी ऐनमा सामुदायिकको काम कर्तव्य र भूमिका समेट्नु पर्छ ।’

Advertisement


कार्यक्रममा प्रहरी उपरीक्षक थापाले संघ, संस्था दर्ता ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सञ्चालित सामुदायिक सेवा केन्द्रलाई प्रहरी ऐनमा समेटिए काम गर्न सहज हुने विश्वास व्यक्त गरे ।


प्रहरी उपरीक्षक थापाले प्रहरीको अभिन्न अंगको रुपमा राखेर बजेट सहितको व्यवस्था गरेर मात्र सामुदायिक सेवा केन्द्रलाई जोगाउन सकिने बताए । उनले राज्यका निकायले गर्नुपर्ने विकृति, विसंगति न्यूनीकरणको काम सेवा केन्द्रले गरेको उल्लेख गरे ।

Advertisement


कार्यक्रममा सामुदायिक वर्ष पुरस्कार २०८१बाट पूर्व अध्यक्ष विष्णुमाया श्रेष्ठलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष कमलबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली, पूर्व अध्यक्ष लालबहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गंगाकुमारी खनाल, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष कुमारीमुना बास्तोला, सचिव उत्तम जोशी, प्रमुख सल्लाहकार चिरन्जीवी श्रेष्ठ लगायतले बोलेका थिए ।


सामुदायिक सेवा केन्द्र लेखनाथमा गंगा
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको १८औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनले आगामी कार्यकालका लागि गंगाकुमारी खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।


सेवा केन्द्रका पूर्वअध्यक्ष तथा राजनीतिक पार्टीका प्रतिनिधिहरुको सहमतिका आधारमा वर्तमान उपाध्यक्ष गंगाकुमारी खनाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो । लेखनाथ सामुदायिक सेवा केन्द्रको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा पुग्न सफल महिला खनाल विगत ११ वर्षदेखि साधारण सदस्य हुँदै केन्द्रमा विभिन्न किसिमका जिम्मेवारीहरु समाल्दै आएकी हुन् ।


उपाध्यक्षमा कृष्ण सुवेदी सर्वसम्मत भएका छन् । सचिवमा विनोदबहादुर थापा, सहसचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा कृष्णप्रसाद ओझालाई चयन गरेको हो । समितिको सदस्यहरुमा नवराज पौडेल, सुमित्रा बञ्जरा, सन्तोष सुर्खेली, रामकृष्ण खनाल, गोविन्द वाग्ले, अर्जुन मल्ल र सुवास कँडेल छन् ।


यसअघि कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले समाजमा व्याप्त विकृति विसंगति, लागुऔषधको रोकथाम तथा अपराध जन्य घटनाको न्यूनीकरणका लागि यहाँ रहेका सामाजिक संघसंस्था र पुलिस प्रशासनका बिच हातेमालोको आवश्यकता रहेको बताएका थिए ।


कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाका प्रहरी उपरीक्षक जनकबहादुर शाही, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति समितिका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद शर्मा, समितिका सल्लाहाकर टीकाराम पंगेनी, संस्थापक अध्यक्ष मोती गिरी, पूर्वअध्यक्षहरुको तर्फबाट त्रिलोचन लामिछाने र ईश्वरीप्रसाद अधिकारी लगायतले सभ्य समाज निर्माणका लागि सामूहिक एकताको आवश्यकता औंल्याएका थिए ।


लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गंगाकुमारी खनालले स्वागत र सचिव केशव तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया